लक्ष्मी शर्मा
महिला उद्यमी तथा योग साधक
मेरो जन्म २००६तिर महाराजगञ्ज काठमाडौंमा भएको हो । ६ वर्षको उमेरदेखि राजपरिवारको सुसारेको रुपमा काम गर्दागर्दै १३ वर्षको उमेरमा गृहस्थी जीवनमा प्रवेश गरे । त्यसपछि मेरो जीवनको संघर्ष सुरु भयो, कर्म गर्दै जाँदा संसारिक जीवनसँगै आध्यात्मिक, धार्मिक जीवनलाई पनि जोड्दै गए । विभिन्न गुरुजनहरूको आस्था, श्रद्धा, भक्तिका साथ जीवनको उत्तार-चढावमा जे-जस्तो परिस्थिति आएतापनि झेल्दै दु:खमय जीवन जिउँदा परिवार, समाज, आफन्तबाट कहिले साथ र सहयोग लिन सकिन् । सधै अपहेलित भएर पनि आफू केही गर्ने र बन्ने दृढ विश्वासको साथ हरपल मेहनत गर्न पछि हटिन् । फलस्वरुपः आज यो स्थानमा पुग्न सके । कैयौं महिलाहरुको लागि एक प्रेरणाको स्रोत बन्न पाउँदा मलाई जीवनको सबैभन्दा आनन्द र सन्तुष्टि मिलेको महसुस हुन्छ।
मेरो नेपालको टपटेन सफल महिलाभित्र आठौं स्थानमा नाम रहेको छ । मलाई एसियाको पहिलो अटो रिक्सा चलाउने महिलाको उपाधि प्राप्त भयो । पछिल्लो समय फेरि पहिलो बटम कारखाना स्थापना गर्ने उद्यमीको रुपमा आफ्नो नाम रख्न पाए । बटम उद्योग संचालन गर्दैगर्दा २०५८ सालमा राजनीतिक अस्थिरताले गर्दा कर्मचारी व्यवस्थापन, बटनको लागि कच्चा पदार्थ अभाव र उद्येग व्यवस्थापन सम्हाल्न निकै गाह्रो हुन थाल्यो । त्योसँगै मानसिक रुपमा तनाव एकदमै बढ्दै गयो र कसरी सहज जीवन जिउने भनेर खोज्दै जाँदा संगीतलाई अंगाल्न पुगे । यसबाट मानसिक तनाव केही कम भएको महसुस भयो ।
आफ्नै शैलीमा किताब र टिभीको माध्यमबाट रामदेवज्यूको योग गर्न थाले । आफैले यसरी गर्दा मिलेको छ छैन भन्ने थाहा नहुँदा गुरुको साथ गर्दा अझ राम्रो होला भनेर गुरूको खोजी गरे । एक महिना गुरुसँग सिकेर निरन्तर गर्छु भन्ने निर्णयको साथ योग सुरु गरे गर्दै जाँदा शरीर र मनमा केही सकारात्मक परिवर्तन आयो र यसलाई गुरुकै साथ निरन्तर नै गर्ने निर्णय लिए ।
एक्लोपन र मनको कुरा सेयर गर्ने माध्यम उहाँ हुनु भएको छ । अल्छीपन नहुने हुँदा योगलाई निरन्तर एक वर्ष पूरा गरेको छु । इमर्जेन्सी कामबाहेक कुनैपनि दिन योगलाई छोडिन् । आफ्नो नित्य कर्म सकेर योगबाट दिनको सुरुवात गर्ने गर्दछु, दैनिक एकदेखि डेढ घण्टासम्म गर्ने गर्दछु । यो मेरो बानी बनेको छ।
योग गरेपछि मेरो शरीरमा धेरै उर्जा बढेको महसुस भयो । मन उत्साहित आनन्दित रहन्छ । मोबाइलमा ब्याट्री सकिँदा चार्ज गरे जस्तै योग पनि हाम्रो शरीर र मनलाई चार्ज गर्ने एउटा माध्यम लाग्छ । मेरो शरीरमा लचकता आएको छ । अझै यसलाई निरन्तर जोड्दै गए केही वर्षसम्म यही उर्जाका साथ जीवन जिउन सक्छु भन्ने आशा छ ।
शरीरमा विभिन्न समस्या थियो। योग जोडेपछि उच्च रक्तचापको औषधि सेवन गर्न परेको छैन। मधुमेहको औषधि कम गरेको छु, जोर्नीको दुखाइ समस्या केही कम भएको छ । मानिसक तनावलाई कन्ट्रोल गर्न सक्ने भएको छु । थाइराइडको औषधि प्रयोग गरेतापनि शरीरमा केही असहजता भने भएको छैन ।
योग गर्दा ज्वाइन्ट अभ्यास, वडी स्ट्रेचिङ, आसन, ध्यान, एकाग्रता र श्वास प्राणायाम नियमित गर्ने गर्दछु । साथसाथै रिकीहिलिङ् पनि लिने गरेको छु । गुरूको सहज र सरल तरिकाको प्रशिक्षण र निगरानीमा दिनको सुरुवात गर्दै एक वर्षसम्म आफ्नो शरीर र मनलाई स्वास्थ्य उर्जावान बनाउँदै आफ्नो लागि समय दिएको छु । जसले मलाई जीवन जीउन सहज भएको छ । योग बालकदेखि वृद्धासम्म आफ्नो अनुकूल अवस्था हेरेर गर्न सकिने रहेछ । शरीर चलाउन खानाको जति आवश्यक पर्छ जीवन चलाउन योगको उतिनै महत्व छ । यो उमेरमा पनि सिक्ने क्षमता देख्दा अचम्मको लाग्छ।
निशा श्रेष्ठ
योग प्रशिक्षक
मेरो जीवनमा योग जोडेपछि सिक्दै सिकाउँदै आएको सातौं वर्ष पार भयो । कति सामूहिक योगा कक्षा लिए त कति व्यक्तिगत। विशेषगरी, बिरामी बालबच्चाहरूलाई सिकाउने क्रममा उहाँसँग जोडिन पुगे । उहाँलाई सिकाउन एकदमै सहज छ । उहाँको शरीरअनुसार गर्न सक्ने र मिल्ने सबै एकपटक भनेको र देखेको भरमा गर्न सक्नुहुन्छ । उहाँबाट जीवन जिउन कति संघर्ष गर्नुपर्छ भन्ने कुरा उहाँको जिन्दगी भोगाइबाट प्रेरणा लिन सकिन्छ । उहाँ मेरो लागि मात्र नभएर हामी जस्ता कैयौं महिलाहरुको लागि एक प्रेरणाको स्रोत हुनुहुन्छ ।
७४ वर्षको उमेरमा पनि उहाँ आध्यात्मिक चिन्तन धार्मिक आस्था श्रद्धा भक्ति ऊर्जावान शरीर सकारात्मक विचार मानवतावादी भाव, समाजसेवी प्रकृति प्रेमी सिर्जनशीलता र उत्साहित यस्ता गुणले भरिपूर्ण हुनुहुन्छ। उहाँसँग सहकार्य गरेर यसरी आफूले जानेको कुरा उहाँलाई सिकाउँदै उहाँबाट पनि धेरै कुरा सिक्ने मौका पाउदा एकदमै आभारी छु। उहाँको योगसँगको लगाव निरन्तरता र मेहनत देख्दा सबैलाई प्रेरणा हुन्छ जस्तो लाग्छ ।