धनगढी—संघीय सरकारले समायोजन भएका कर्मचारीको सम्बन्धित निकायमा तत्काल पदस्थापनको काम रोकेका बेला सेती प्रादेशिक अस्पतालमा भने कर्मचारी र स्वास्थ्यकर्मीलाई सम्बन्धित स्थानमा रमाना भै जान दबाब दिइएको छ । अस्पताल विकास समितिको स्वार्थमा समायोजन संशोधनको चरणमा रहेका केही नर्सिङ कर्मचारी र स्वास्थ्यकर्मीलाई अस्पतालले सूचना जारी गर्दै सात दिनभित्र रमना भै सम्बन्धित स्थानमा जान भनेको हो ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै मंसिर ८ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि भन्दै समायोजन संशोधन, सरुवा, पदस्थापन तथा काज सम्बन्धिका काम स्थगित गरिएको जनाएको छ । सूचनामा अर्को व्यवस्था नभएसम्मका लागि सम्बन्धित कार्यालयमै कार्यरत रहन भनिएको छ ।
तर संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले दोस्रो सूचना जारी नगरेका बेला सेती प्रादेशिक अस्पतालले मंसिर ३० मा सूचना जारी गरी समायोजन भएका कर्मचारीलाई एक हप्ताभित्र सम्बन्धित स्थानमा रमना भै जान भनेको छ । संघीय सरकारबाट अर्को परिपत्र नभएकै बेला विकास समितिको स्वार्थमा सेती प्रादेशिक अस्पतालले उक्त सूचना जारी गर्दै कर्मचारीलाई पदस्थापन भएर जान दबाब दिइरहेको आरोप लागेको छ ।
सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले समायोजन संशोधनका लागि निवेदन पेश गरेका कर्मचारीलाई रेकर्डका लागि फाइल पेश गर्न र नगरेका कर्मचारीले प्रक्रिया पु¥याएर समायोजन हुनका लागि उक्त सूचना जारी गरिएको बताए ।
सूचना जारी गर्दैमा सबैलाई तत्काल नै पठाइहाल्नुपर्छ भन्ने नभएको पाण्डेले बताए । संघीय स्वास्थ्य मन्त्रालयले समेत कातिकमा सूचना जारी गरी समायोजन भएका कर्मचारी, गुनासो गर्न र पत्र लिन कार्यस्थल छोडी मन्त्रालयमा रहने अवस्थाले नकारात्मक असर परेको भन्दै एकमुष्ट समायोजन संशोधन सूची प्रकाशन गर्न भनेको थियो ।
सोही आधारमा सेती अस्पतालमा कार्यरत अधिकांश नर्सिङ कर्मचारी र स्वास्थ्यकर्मीले पनि समायोजन संशोधनका लागि मन्त्रालयमा निवेदन पेश गरेका छन् । संघीय सरकारले भने अहिलेसम्म सूची प्रकाशन गरेको छैन् । तर, सेती प्रादेशिक अस्पतालले सूचना नै जारी गरी समायोजन भएका कर्मचारीलाई सम्बन्धित स्थानमा रमना भै जान भनेको हो ।
ती कर्मचारी समायोजन भै गएमा तत्काल अर्को विकल्प नभएकाले अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित हुने स्वयं अस्पताल प्रशासन बताउँछ । मेडिकल सुपरिटेन्डेन्ट डा. पाण्डेले त्यसरी समायोजन भै जानेमा नर्सिङ स्टाफलगायतका स्वास्थ्यकर्मी बढी रहेकोले सेवा केही प्रभावित हुने बताए ।
![](https://www.healthaawaj.com/wp-content/uploads/2019/12/seti-1.png)
![](https://www.healthaawaj.com/wp-content/uploads/2019/12/seti-2.png)
![](https://www.healthaawaj.com/wp-content/uploads/2019/12/seti-3.png)