धनगढी—गत वर्षको १ कार्तिकबाट न्यूनतम सेवासहित सञ्चालनमा आएको गेटा अस्पताल चालु आर्थिक वर्षमा अस्थायी दरबन्दीसमेत स्वीकृत नहुँदा समस्या सिर्जना भएको छ । गत वर्ष संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गेटा अस्पताल सञ्चालनका लागि ५० शय्याको अस्थायी स्वीकृती दिएको थियो ।
सरकारले गत असोजमा ५० शययाको अस्पताल सञ्चालनका लागि १ सय ४१ जनाको अस्थायी दरबन्दी स्वीकृति गरेको थियो । जनशक्ति र अस्पतालको अन्य व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा पूँजीगततर्फ ४० करोड रुपैयाँ र चालुतर्फ १३ करोड रुपैयाँ बजेट उपलब्ध गराइएको छ । तर, कर्मचारीको दरबन्दी स्वीकृतलगायतका कामहरु अगाडि नबढ्दा उक्त बजेट फ्रीज हुने सम्भावना बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेल गेटा अस्पताललाई आवश्यक नै भएकाले बजेट विनियोजन गरिएको बताउँछन् । ‘अन्य ठाँउबाट समेत थप बजेटको माग भइरहेको छ । विनियोजन भएको बजेट खर्च गर्न नसक्ने अवस्था भयो भने बजेट स्वभाविक रूपमा नै फिर्ता हुन्छ,’ उनी भन्छन् । उनले गेटाका लागि विनियोजन गरिएको केही बजेट फिर्ता भएको बताएपनि कति फिर्ता भयो भन्ने विषय खुलाएनन् ।
कात्तिक पहिलो साता अस्पतालको निर्देशकको जिम्मेवारी डा.अशोक श्रीपाईलीलाई दिइएको थियो । तर, उनले माघ पहिलो साता जिम्मेवारीबाट राजीनामा दिइसकेका छन् । त्यसयता निर्देशक नभएको एक महिना बितिसक्दा पनि गेटा अस्पतालले नयाँ निर्देशक पाएको छैन । डा. अशोक निर्देशक रहँदा अस्पतालमा पर्याप्त काम नभएको गुनासो कर्मचारीहरुको छ ।
जसका कारण अस्पतालमा कार्यरत अस्थायी कर्मचारीको दरबन्दी चालु आर्थिक वर्षको साउनमै स्वीकृत हुनुपर्ने भएपनि अहिलेसम्म भएको छैन । अस्पतालका सुचना अधिकारी नैनसिंह कार्कीले चालु आर्थिक वर्षमा कर्मचारीको दरबन्दी स्वीकृत नभएको जानकारी दिए ।
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले गेटा अस्पताल मात्रै नभएर कुनै पनि अस्थायी दरबन्दी स्वीकृत नभएको बताए । ‘सरकारले स्थायी दरबन्दी पदपूर्ति गरी सो ठाउँमा पठाउने, अस्थायी दरबन्दी नै स्विकृतिको लागि अर्थ मन्त्रालयले नै प्रक्रियाअनुसार गर्न नमिलेको र गेटाको दरबन्दीको विषयमा राजनीतिक तहमा कुरा भइरहेको छ,’ उनले भने ।
गत आर्थिक वर्षमा पूजीगत तर्फको ८० करोड रुपैयाँमध्ये ७२ करोड रुपैयाँ कार्यान्वयनमा गई अस्पतालमा विभिन्न सेवाहरु सुचारु भइसकेका छन् । इमर्जेन्सीसँगै आईसीयु, भेन्टिलेटर , शल्यक्रिया कक्ष, इन्डोरसमेत तयारी अवस्थामा छ । अक्सिजन आपूर्तिका लागि अक्सिजन प्लान्ट निर्माण अन्तिम चरणमा रहेको अस्पतालले जनाएको छ ।