धनगढी—सुदूरपश्चिम प्रदेशमा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान सुरु भएको छ । मंगलबार प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले धनगढी उपमहानगरपालिका—२ को शारदा माविबाट स्वास्थ्यकर्मीलाई भ्याक्सिन क्यारियर हस्तान्तरण गर्दै एचपीभी खोप अभियान सुरूवात गरेका छन् ।
यो अभियानअन्तर्गत सुदूरपश्चिम प्रदेशका एक लाख ५१ हजार २९१ किशोरीलाई एचपीभी खोप लगाइनेछ । २२ माघदेखि ४ फागुनसम्म सञ्चालन हुने खोप अभियानमा प्रदेशका नौ वटै जिल्लाका किशोरीलाई एचपीभी खोप दिइनेछ ।
प्रदेशभरका विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत १ लाख ४५ हजार ८९४ र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका ५ हजार ३७९ किशोरीलाई एचपीभी खोप लगाइने स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
अछाममा १३ हजार ९२१ जना, कैलालीमा ५० हजार ६१३ जना, दार्चुलामा ७ हजार २९१ जना,बैतडीमा १३ हजार ५६४ जना किशोरीलाई एचपीभी खोप दिइनेछ । यसैगरी, डडेल्धुरामा ६ हजार ९८६ जना,डोटीमा ११ हजार ४८७ जना, बाजुरामा ७ हजार ८९४ जना, बझाङमा १२ हजार ३५ जना र कञ्चनपुरमा २७ हजार ५०० किशोरीलाई एचपीभी खोप लगाइने छ ।
खोप अभियानमा प्रदेशभर २ हजार ८०७ जना स्वास्थ्यकर्मी र ५ हजार ५९८ जना स्वयंसेवक परिचालन हुनेछन् । खोप अभियानमा एक खोप केन्द्रमा १ स्वास्थ्यकर्मी र २ जना स्वयंसेवक परिचालित हुने निर्देशनालयले जनाएको छ ।