२०८१ पुस २४, बुधबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशचालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री

चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री


धनगढी—स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले सकेसम्म चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पतालसहित एमबीबीएस पढाइ सुरु गर्ने तयारी गरिरहेको बताएका छन् । मंगलबार विहान गेटा अस्पतालको अनुगमन गर्दै उनले गेटामा ३०० शैय्याको अस्पताल ३ वर्ष नचलेको भएपनि विशिष्ट अवस्थाका कारण चिकित्सा शिक्षा आयोगले एमबीबीएस पढाउउन सक्ने निर्णय गर्न सक्ने बताए ।

‘६ वटा प्रदेशमा एमबीबीएसको पढाइ भइसकेको छ । यो एउटा प्रदेश मात्रै बाँकी हो । त्यसैले यो अवस्थाका कारणले ३०० बेड तीन वर्ष नचलेपनि विशिष्ट अवस्थाका कारणले गेटामा अहिले नै एमबीबीएस पढाइ गरिएको छ भनेर चिकित्सा शिक्षा आयोगले निर्णय गर्न सक्छ,’ उनले भने, ‘यहाँ विशिष्ट अवस्था भएका कारणले ३०० बेडको अस्पताल तीन वर्ष चलिरहनु पर्दैन ।’ पौडेलले चिकित्सा शिक्षा आयोगबाट निर्णय गरेर यही असारमा एमबीबीएस भर्ना गर्नुपर्छ भनेर आफू लागेको बताए ।

मन्त्री पौडेलले गेटामा असारसम्म ३०० शैय्याको अस्पताल सञ्चालन गर्ने लक्ष्य राखेर ओएनएम गरिएको बताए । उनले अहिले नै ३०० शैय्याको अस्पताल सञ्चालनका लागि ६०—६५ करोड रुपैयाँ लाग्ने भएकाले त्यो रकम जुटाउन सक्ने अवस्था भने नभएको बताए । ‘हाम्रो टार्गेट असारसम्म ३०० बेडको अस्पताल संचालन हो । त्यो सक्दै सकिएन भने १०० बेडको त जसरी पनि बनाउँछौं,’ उनले भने, ‘सकेसम्म ३०० बेड सञ्चालन गर्छौ ।’

अस्पताल सञ्चालन र एमबीबीएस पढाइ सञ्चालन गर्दैमा विश्वविद्यालय बनाउने काम नरोकिने उनको भनाइ थियो । ‘अहिले विश्वविद्यालय बनेपछि विश्वविद्यालयले नै अस्पताल, एमबीबीएस पढाइ सुरु गरिहाल्छ भन्ने कुरा पनि सुनिन्छ,’ उनले भने ‘पहिला जे हुन्छ, त्यो गर्दै जाऊ । पहिला अस्पताल चलाउन मिल्छ, पहिला एमबीबीएस कार्यक्रम सञ्चालन गर्न मिल्छ । त्यही चलेको अस्पताल र एमबीबीएस कार्यक्रममा विश्वविद्यालय भित्र राख्न मिल्छ ।’ उनले स्वास्थ्य मन्त्रालयबाट अस्पताल, एमबीबीएस कार्यक्रम सञ्चालन गरेर शिक्षा मन्त्रालयलाई हस्तान्तरण गर्न आफूहरू तयार रहेको बताए ।

मन्त्री पौडेलले काठमाडौं फर्केपछि तत्काल १०–१२ जना छात्रवृत्तिका करारका डाक्टर पठाउने बताए । ‘नियमावली परिवर्तन गर्नुपर्छ भनेपनि नियमावली परिवर्तन गरेर हामी डाक्टर पठाउँछौं । १५–२० जना छात्रवृत्तिकै नर्स पनि पठाउँछौं,’ उनले थपे, ‘त्यसपछि यहाँ २४ घण्टा इमर्जेन्सी सञ्चालन गर्नुहोला ।’ उनले इमर्जेन्सी सञ्चालन भएपछि मात्रै अस्पतालमा बिरामीको चाप बढ्ने बताए ।

सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेका स्वास्थमन्त्री पौडेलले सुदूरपश्चिम प्रदेशका लागि मेडिकल कलेज आवश्यक रहेकोले मन्त्रालयले अतिआवश्यक पर्ने उपकरणका विषयमा गृहकार्य गरिरहेको बताए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ