धनगढी—स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ३१ असारमा पदभार सम्हाल्दा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति, २०२४–३० स्वीकृत गरे । सातवटै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने लक्ष्यका साथ उक्त रणनीति स्वीकृत गरिएको थियो ।
२७ साउनमा योजना तथा प्राथमिकता सार्वजनिक गर्दा मन्त्री पौडेलले सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने घोषणा गरेका थिए । सोहीअनुसार तामझामका साथ सातै प्रदेशका रिफरल अस्पतालमा क्यान्सरको उपचार सेवा सुरु गर्ने सम्झौता गरिएका समाचार र तस्विरमात्रै सार्वजनिक भएनन्, मन्त्री पौडेलले आफ्नो १०० दिनको प्रगति विवरणमा पनि जोडतोडका साथ यसलाई प्रचार—प्रसार गरे ।
तर, दैनिक एक फरक काम गरेको भनेर समाचार सार्वजनिक गरिरहेका मन्त्री पौडेलको यो महत्वकांक्षी योजना भने गफमै सिमित हुने देखिएको छ । त्यसको पहिलो उदाहरण हो—सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पताल र कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पतालमा महिनाको एक पटक दिने भनिएको क्यान्सरको उपचार सेवा दोस्रो महिनामै अवरुद्ध हुनु ।
मन्त्री पौडेलकै अग्रसरतामा गत असोजमा भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसँग सुदूरपश्चिम प्रदेशको एक मात्र रेफरल अस्पतालको रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा महिनाको एक दिन क्यान्सरको उपचार तथा परामर्श दिने सम्झौता भएको थियो । सेतीमा क्यान्सर उपचार सेवा सुरु गर्ने सम्झौतामा भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल कार्यकारी निर्देशक डा. शिवजी पौडेल तथा सेती प्रादेशिक अस्पतालतर्फबाट तत्कालीन प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. शेरबहादुर कमरले हस्ताक्षर गरेका थिए ।
सो सेवा सुरु गर्दा असोजमा एक दिन पूराना बिरामीको फ्लोअप र नयाँ स्क्रीनिङसँगै एक सय दुई जना बिरामीले सेवा लिएका थिए । तीमध्ये सबैभन्दा धेरै ५२ जनाको पाठेघरको मुखको क्यान्सर (भीआईए) परीक्षण गरिएको थियो । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नायब निर्देशक डा. उमेश नेपाल नेतृत्वमा पाँच जना चिकित्सकको टोली धनगढीमा आएर सेवा उपलब्ध गराएको थियो । बिरामीको संख्याले सातै प्रदेशमा स्वास्थ्यमन्त्रीले सारेको महत्वकांक्षी उपचार योजना सफल हुने देखिएको थियो ।
तर, बिडम्बना असोजमा एक दिन मात्रै सुरु गरिएको क्यान्सर स्क्रीनिङ तथा परामर्श सेवाले निरन्तरता पाउन सकेको छैन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको टोलीको धनगढीमा व्यवस्थापनको खर्चसमेत सेती प्रादेशिक अस्पतालले ब्यहोरेको थियो ।
अस्पतालका ब्यवस्थापक तथा सो कार्यक्रमका फोकल पर्सन वेदप्रकाश जोशीले एक पटक मात्रै सेवा दिइएको र निरन्तरता दिन नसकिएको बताए । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकाको चिकित्सकीय टोलीले सुर्खेतस्थित कर्णाली अस्पतालमा समेत उक्त सेवा प्रदान गरिरहेकाले समय ब्यवस्थापन गरी जानकारी गराइने उनले बताए । ‘पहिलो पटकको चिकित्सकीय टोलीको ब्यवस्थापन खर्चसमेत सेतीले नै ब्यवस्थापन गरेको हो,’ उनले भने ।
सेती प्रादेशिक अस्पतालसँग सम्झौता गर्दा यातायातसँगै अन्य खर्चसमेत विपी कोइराला मेमोरियल क्यान्सरले नै ब्यहोर्ने सम्झौता गरिएको अस्पतालले जनाएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका बिरामीहरुले क्यान्सर उपचारका लागि चिकित्सकीय टोली आउने विषयमा सोधपुछ गरिरहेको भएपनि विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको चिकित्सकीय टोलीले हालसम्म सम्पर्क नगरेको सेतीका सूचना अधिकारी किशोर श्रेष्ठले बताए ।
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले टोलीले कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पतालमा समेत गत भदौंमामा सेवा प्रदान गर्ने गरी सम्झौता गरेको थियो । उक्त अस्पतालमा पनि असोजमा क्यान्सर उपचार सेवा प्रदान गर्ने सम्झौता भएपनि अहिलेसम्म सेवा सुचारु नभएको प्रदेश अस्पताल सुर्खेतका सूचना अधिकारी विनोद बस्नेतले बताए । ‘अस्पतालसँग गरेको सम्झौताअनुसार महिनामा एक पटक क्यान्सर सम्बन्धी सेवा दिनुपर्ने उल्लेख भएपनि हालसम्म उक्त चिकित्सकीय टोली आएको छैन,’ उनले भने ।
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका वरिष्ठ प्रशासक जीएन महतोले महिना एक पटक क्यान्सर स्क्रीनिङ गर्ने योजनामा भएको अवरोधबारे आफूलाई थाहा नभएको बताए । ‘यो कुरा मलाई थाहा भएन्,’ उनले भने, ‘तर, तत्कालै त्यहाँ जाँदैंछौं, सल्लाह भइरहेको छ ।’ उनले टिम बनाएर जानुपर्ने भएकाले त्यतिकै जान सम्भव नभएको बताए । यसबाट पनि के देखिन्छ भने स्वास्थ्यमन्त्री पौडेलले बिना तयारी लोकप्रियताकै लागि सातै प्रदेशबाट क्यान्सरको उपचार सेवा प्रवाह गर्ने घोषणा गरेका थिए ।