धनगढी—सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ६२ करोडको बजेट ल्याएको छ । शनिबार आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।
प्रदेशअन्तर्गतका अस्पताल र स्थानीय स्वास्थ्य चौकीको स्तरोन्नती गरेर फिजियोथेरापी सेवा विस्तार गर्ने, कल्पसनद चिकित्सा पद्धतिको विकास र विस्तारका लागि सम्भाव्यता अध्ययन गर्ने, सिकेलसेल एनिमिया, थालासेमिया, हेमोफोलियाजस्ता रोगको पहिचान, उपचार र निदानका लागि ‘घोरीघोरा स्वास्थ्य उपचार कार्यक्रम’का लागि १ करोड ४० लाख रुपैयाँ छुट्याइएको छ ।
यस्तै, मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार तथा पोषण सुरक्षा कार्यक्रम, सेती, महाकाली, टिकापुर, प्रादेशिक आयुर्वेद चिकित्सालय तथा मातहतका स्वास्थ्य संस्थाको संगठन तथा व्यवस्थापन सर्वेक्षण र स्तरोन्तीका लागि पनि बजेट विनियोजन गरेको अर्थमन्त्री पालले जानकारी दिए ।
प्रादेशिक अस्पतालहरुमा मानसिक स्वास्थ्य एकाई स्थापना, दुर्घटनाबाट हुने क्षति न्यूनीकरण गर्न बेसिक लाइफ सपोर्ट र फस्ट एडजस्ता तालिम चलाउने कुरा पनि बजेटमा उल्लेख छ ।
यस्तै, बजेटमा विद्यालय नर्स कार्यक्रमलाई विस्तार गर्दै लैजाने र बालबालिकाको स्वास्थ्य तथा पोषणको अवस्था सुधार गर्न स्थानीय उत्पादनमा आधारित दिवा खाजालाई प्रोत्साहन गर्न १० करोड रुपैयाँ छुट्याइएको छ ।