२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेश१४ वर्षदेखि पोष्टमार्टम गर्दै आएकी निडर कौशिला

१४ वर्षदेखि पोष्टमार्टम गर्दै आएकी निडर कौशिला


धनगढी—उमेरले ५ दशकको उकालो हिडिरहेकी कौशिला शर्मालाई आइतबार पनि पोष्टमार्टम घरमा एक किशोरीको शव कुरिरहेको थियो । कञ्चनपुरको महाकाली पारीको स्थानीय तह भनेर चिनिने दोधरा चाँदनी नगरपालिका—६ चाँदनी चोकमा रहेको दोधरा चाँदनी अस्पतालकी करारकी कर्मचारी हुन्, उनी ।

दोधरा चाँदनी अस्पतालमा वि.सं. २०६६ बाट हेल्पर पदमा कार्यरत कौशिलालाई शव चिरफारसँगै सिलाउने काम गर्छिन् । चिकित्सकले भने अनुसार शव चिर्ने भिसेरा निकाल्ने र शव सिलाउने उनको काम हो । शव पोष्टमार्टम गर्दा एक जना प्रहरी, एक जना चिकित्सकसँगै शर्माको उपस्थिती रहन्छ । जागिरको सुरुवाती एक वर्षसम्म पोष्टमार्टमको काम हेरेर मात्रै बस्ने गरेको र पछि सम्पूर्ण काम आफै गर्ने गरेको उनले बताइन् ।

बाँकेको नेपालगञ्जमा वि.सं. २०२९ मा जन्मिएकी उनलाई नाताका दिदी–भिनाजुले २०–२१ वर्षको उमेरमा पुख्र्यौली स्याङजा भएका कृष्णप्रसाद शर्मासँग विहे भयो । उनको परिवारको वि.सं. २०२२ सालदेखि दोधरा चाँदनी अस्पताल नजिकै हेल्थपोष्ट टोलमा बसोवास रहेको छ ।

अस्पतालमा उक्त काम गर्दा सुरुवाती दिनहरुमा कामपछि खाना नै खान नसकेको अनुभव उनले सुनाइन् । ५ कक्षा मात्रै पास गरेकी शर्मा हेल्पर पदमा जागिर सुरु गर्दा सुरुवाती समयमा जे साधनमा शव आउँछ, त्यसमै पोष्टमार्टम गरेर पठाउने गरेको बताउँछिन् । ‘पहिले गोरुगाडामा शव आउथ्यो,’ उनले भनिन्, ‘त्यसमै पोष्टमार्टम हुन्थ्यो ।’ विगत ६–७ वर्षयता भने पोष्र्टमाटम घर बनेपछि भने काममा केही सहज भएको उनले सुनाइन् ।

वि.सं. २०६६ सालमा उनले २ हजार ५०० रुपैयाँ तलबमा जागिर सुरु गरेकी थिइन् । अहिले उनको तलब १९ हजार रुपैयाँ पुगेको छ । ‘अब उमेर पनि ५० पुगिसक्यो श्रीमान् तथा छोराहरुले काम अब छोड्दिन भन्छन् तर अस्पतालमा यो काम गर्ने कोही अर्को मान्छे छैनन्,’ उनले भनिन् ।

पोष्टमार्टमका लागि उमेर पुगेको मान्छेको शव चिरफार गर्दा केही नलागेपनि बालबालिका तथा किशोर—किशोरीको शव माथि चक्कु चलाउँदा मनमा निकै पीडा हुने गरेको उनले बताइन् । केही समयअघि ११ वर्षका बालकको शवको पोष्टमार्टम गर्दा अत्यन्त नै मन दुःखेको अनुभव उनले साझा गरिन् । ‘आज पनि १४ वर्षीय किशोरीको शव आएको छ, कलिला शवमाथि चक्कु चलाउन निकै गाह्रो हुन्छ,’ उनले भनिन् ।

शवको पाष्र्टमार्टम गरेपछि १ शवको ५ सयसम्म भत्ता पाइने गरेको सुनेपछि उनले हालसम्म त्यो भत्ता पाएकी छैनन् । वर्षमा उनले औसतमा ४०–५० वटा शवको पोष्र्टमार्टम गर्ने गरेकी छन् । केहि वर्ष अलिसम्म यो संख्या अलि बढी थियो । कहिलेकाही त दैनिक ४–५ वटा शवको पोष्र्टमार्टम गर्नुपर्ने दायित्व उनीमाथि आइपर्छ । कौशिलाको कामप्रतिको दृढता र निडर स्वभावलाई सलाम गर्नैपर्छ ।

कौशिलाका श्रीमान् कृष्णप्रसाद भने श्रीमतीको कामबाट सन्तुष्ट छैनन् । ‘हेल्पर पदमा राखेकाले पोष्टमार्टमको काम नगराउन बारम्बार आग्रह गर्दा पनि कोही नहुँनाले सुनुवाई भएको छैन,’ उनले भने ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ