२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारझण्डै २ करोड लगानीमा निर्माण भएको खैराला स्वास्थ्य चौकी भवन हस्तान्तरण

झण्डै २ करोड लगानीमा निर्माण भएको खैराला स्वास्थ्य चौकी भवन हस्तान्तरण


धनगढी—कैलालीको चुरे गाउँपालिका—२ खैरालामा निर्माण भएको स्वास्थ्य चौकी भवन हस्तान्तरण गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच स्वास्थ्य चौकी भवन फाया नेपालका अध्यक्ष लोकराज भट्ट र आम्दा माइन्ड्सकी नेपाल प्रमुख माइको कोवाइसी ९उप्रेती० ले संयुक्त रूपमा चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीलाई हस्तान्तरण गरेका हुन् ।

भौगोलिक रूपमा अत्यन्तै विकट कैलालीको चुरे गाउँपालिका–२ मा फाया नेपाल नामक गैरसरकारी संस्थाले स्वास्थ्य चौकी निर्माण गरेको थियो । फाया नेपालले जापानको परराष्ट्र मन्त्रालय र आम्दा माइन्ड्सको आर्थिक तथा प्राविधिक सहयोगमा मातृ तथा बाल स्वास्थ व्यवहार प्रवर्द्वन परियोजनाअन्तर्गत १ करोड ९९ लाख ३५ हजार ९६३ रुपैयाँ लागत खैराला स्वास्थ्य चौकी भवन निर्माण गरेको थियो ।

स्वास्थ चौकी भवन हस्तान्तरण गरे लगत्तै सोमबार नै विधिवत रूपले उद्घाटन गरिएको छ ।गाउँपालिका अध्यक्ष बोगटीले नवनिर्मित भवनको उद्घाटन गर्दै स्वास्थ्य चौकी भवन निर्माण सहयोग गरेकोमा दातृ निकायलाई धन्यवाद दिए । उनले भवन अभावमा विगतमा सेवा प्रवाहमा समस्या भइरहेको उल्लेख गर्दै अब भने सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गरे।

फाया नेपालका कार्यकारी निर्देशक शेरबहादुर बस्नेतले तीन वर्षअघि स्थलगत अनुगमनका क्रममा स्वास्थ चौकीले जीर्ण भइसकेको भवनमा महिला तथा बालबालिकाको उपचार गर्नुपर्ने अवस्था रहेको जानकारीमा आएको बताए ।

सोही बेला नै भवन निर्माणको अवधारणा आएको बताउँदैं जापानको परराष्ट्र मन्त्रालय र आम्दा माइन्ड्सको सहयोगका कारण ९ महिनामै भवन निर्माण सम्भव भएको बताए ।

आम्दा माइन्ड्सकी नेपाल प्रमुख माइको कोवाइसीले दुई वर्षअघि चुरेको गार्भा दरबार क्षेत्रमा पैदल यात्रा गरेर पुग्दा स्वास्थ सेवामा यहाँका महिला र बालबालिकाले भोग्नुपरेको अभावबारे जान्ने अवसर मिलेको बताइन् । अन्य ठाउँ भन्दा खैराला स्वास्थ चौकीको अवस्था निकै दयनीय रहेको थाहा पाएपछि जापान सरकारको सहयोगमा भवन निर्माण गरी हस्तान्तरण गर्न पाउँदा उनले खुसी व्यक्त गरिन् ।

कार्यक्रममा उनले जापानी राजदूत युताका किकुता, जापान सरकार र जापानी जनताका तर्फबाट भन्दै सन्देश समेत सुनाएकी थिइन् ।

भवन निर्माणसँगै फाया नेपालले सोही परियोजनाअन्तर्गत नै ७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री तथा फर्निचर पनि हस्तान्तरण गरिएको जनाएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ