२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआफ्नै बलमा ‘विशेषज्ञ’ सेवा प्रदान गरिरहेको महाकाली अस्पताल 

आफ्नै बलमा ‘विशेषज्ञ’ सेवा प्रदान गरिरहेको महाकाली अस्पताल 

२० जना चिकित्सकको स्थायी दरबन्दीमा एकजना मात्रै पदपूर्ति, जनशक्तिसँगै भौतिक पूर्वाधारको अभाव कायमै 


धनगढी—मुलुकमा संघीयतामा गएपछि सुदूरपश्चिम प्रदेश सरकारले तत्कालीन सामाजिक विकास मन्त्री लालबहादुर खड्काको पालामा आर्थिक भार नपर्ने गरी महाकाली अस्पताललाई प्रदेश अस्पतालमा स्तरोन्नती गरिएको थियो । महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नती भएपनि पर्याप्त जनशक्ति र स्वास्थ्य उपकरण अभावका कारण बिरामी ‘रिफर’ गर्नुपर्ने बाध्यता छ ।

महाकाली प्रादेशिक अस्पतालको स्वीकृत स्थायी दरबन्दीअनुसार ११ औं तहका विशेषज्ञ चिकित्सक चार जना, नवौं र १० औं तहका विशेषज्ञ चिकित्सक गरी १६ जनाको दरबन्दी कायम छ । तर, हालसम्म अस्पतालमा सरकारी स्थायी दरबन्दीका एक जनामात्रै विशेषज्ञ चिकित्सक कार्यरत छन् । तर, अस्पताल विकास समितिले आफ्नै बलमा करारका चिकित्सकहरु खोजेर विशेषज्ञ सेवा चलाइरहेको छ ।

चिकित्सकका लागि महाकाली अस्पतालमा विकास समितिमार्फत विज्ञापन गर्दासमेत चिकित्सकको आवेदन नै नपर्ने तथा आउन नै नखोज्ने अवस्था रहेको अस्पताल विकास समितिका अध्यक्ष कृष्णानन्द भट्टले बताए । ‘हामीले दुई दिनअघि मात्रै स्त्री रोग विशेषज्ञ, मनोरोग विशेषज्ञ, रेडियोलोजिष्ट, बालरोग विशेषज्ञ र मेडिकल अधिकृतसहित विज्ञापन आह्वान गरेका छौं,’ उनले भने ।

अध्यक्ष भट्टकाअनुसार २० जना विशेषज्ञ चिकित्सकको दरबन्दीमा हाल १२ जनामात्रै विशेषज्ञ चिकित्सक अस्पतालमा छन् । ‘छ जना मेडिकल अधिकृतका दरबन्दीमा १३ जना र एक जना डेन्टल सर्जनको १ करार दरबन्दी र २ जना छात्रवृत्ति करारमा गरी तीन जना कार्यरत छन्,’ उनले भने ।

अहिले अस्पतालमा हाडजोर्नी विशेषज्ञ दुई जना, जनरल सर्जन एक जना, स्त्रीरोग विशेषज्ञ एक जना, बालरोग विशेषज्ञ दुई जना, नाक कान घाँटी विशेषज्ञ एक जना, एनेस्थेसियोलोजिस्ट एक जना, एमडिजीपी तीन जना र रेडियोलोजिस्ट एक जना कार्यरत छन् । अस्पतालमा साइक्याट्रिक विशेषज्ञ, जनरल फिजिसियन, प्याथोलोजिस्ट, डर्माटोलोजिस्ट विशेषज्ञ चिकित्सकको दरबन्दी भएपनि हालसम्म दरबन्दीअनुसारका चिकित्सक उपलब्ध हुन सकेका छैनन् ।

उनकाअनुसार अहिले संघमा समायोजन भएका कामकाजमा एक जना चिकित्सकमात्रै स्थायी रहेका छन् । अन्य चिकित्सक नेपाल सरकारको छात्रवृत्ति करार र अस्पताल व्यवस्थापन समितिबाट करारमा कार्यरत छन् । गत फागुनबाट आमा सुरक्षा कार्यक्रमअन्तर्गत बाल क्यान्सर तथा रक्त रोग विशेषज्ञ डा. इच्छा ढकाल सेवा प्रदान गरिरहेकी छन् ।

जनशक्ति मात्रै नभई अस्पतालले स्वास्थ्य उपकरण अभावका कारण महाकाली अस्पतालबाट बिरामीको अन्यत्र रेफर गर्नुपरेको उनको भनाइ छ । ‘हाम्रो यहाँ उपचार सम्भव छ । तर, उपकरण छैनन् । सिटीस्क्यान तथा एमआरआई मेसिनको आवश्यकता छ,’ उनले थपे, ‘सी–आर्म मेसिन, युएसजी मेसिन, इको मेसिनजस्ता उपकरणको सिमितताका कारण यहाँ आउने सेवाग्राहीले उपचार नपाएर फर्किनुपर्ने अवस्था छ ।’

अस्पतालसँग उपलब्ध उपकरण पनि बेला—बेला बिग्रिराख्ने भएकाले पनि सेवाग्राही मर्कामा पर्ने गरेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०७८/७९ मा सिटीस्क्यान मेसिन खरिदका लागि एक करोड रुपैयाँ मात्रै विनियोजन गरेकोले त्यो पर्याप्त नहुँदा खरिद गर्न नसकिएको उनको भनाइ छ ।

उपकरणसँगै अस्पतालको भौतिक पूर्वाधार पनि पर्याप्त छैन । ओपिडी भवन साँघुरो भएको कारणले पनि समस्या भइरहेको अध्यक्ष भट्टले बताए ।

वि.सं. २०२० सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पताल वि.सं. २०३१ मा २५ शैय्याको जिल्ला अस्पतालमा परिणत भएको थियो ।  जिल्ला अस्पतालबाट स्तरोन्नती हुँदैं वि.सं. २०४३ सालमा ५० शैय्याको अञ्चल अस्पताल (रेफरल सेन्टर)का रुपमा विकास गरिएको थियो । संघीयतापछि भने महाकाली प्रादेशिक अस्पतालमा रुपान्तरण भयो ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ