२०८१ पुस २५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसेतीका निवर्तमान मेसु डा. पाण्डे महाकाली जानुको सट्टा निरन्तर बिदामा

सेतीका निवर्तमान मेसु डा. पाण्डे महाकाली जानुको सट्टा निरन्तर बिदामा

विदाको निवेदन मन्त्रालयले गरेन स्वीकृत


धनगढी—धनगढीस्थित सेती प्रादेशिक अस्पतालका निवर्तमान मेडिकल सुपरिटेन्डेन्ट सरुवा भएपछि बिदामा बसेर छुट्टी निरन्तर गरेको पाइएको छ। सेती प्रादेशिक अस्पतालका निवर्तमान प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले यस्तो गरेको पाइएको हो।

स्रोतका अनुसार डा. पाण्डेले सरुवा भएपछि लगातार तीन पटक बिदा माग गरेका छन्। उनले सरुवा भएलगत्तै बिदा मागेर घर बसेकोमा बिदा समय एकपछि अर्को पटक थपिरहेका छन् ।

११औं तहका चिकित्सक डा. पाण्डेलाई वि.सं. २०७५ साउनमा स्वास्थ्य निर्देशनालयले सेतीको मेडिकल सुपरिडेन्टेन्टको जिम्मेवारी दिएको थियो। त्यसपछि हालै यही ६ भदौंमा सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयले उनलाई महाकाली प्रादेशिक अस्पतालमा सरुवा गरेको थियो।

सरुवा भएपछि डा. पाण्डे दोस्रो दिनबाटै बिदामा बसेका थिए। अस्पताल स्रोतकाअनुसार उनले पहिलोपटक ७ भदौंदेखि १४ गतेसम्मको बिदा लिएका थिए।

त्यसपछि उनले १४ देखि २० भदौंसम्म बिदा थप्न निवेदन दिएका थिए। अहिले पनि उनले रमाना नबुझेर २७ भदौंसम्मका लागि बिदा माग गरेको बताइएको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयमा उनले बिदाका लागि निवेदन चढाएपनि अन्तिम पटकको निवेदन भने स्वीकृत नभएको बताइन्छ।

उसो त सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश निजामती कर्मचारी सरुवा तथा काज सम्बन्धि मापदण्ड, २०८० मा कुनै पनि कर्मचारीलाई सरुवा तथा पदस्थापन, काज वा कामकाज गर्ने गरि बाटो म्यादबाहेक २१ दिनभित्र खटाइएको ठाउँमा हाजिर हुनुपर्ने उल्लेख छ।

तर, सोही मापदण्डमा काबु बाहिरको परिस्थिति परी सो म्यादभित्र मनासिव आधार र कारण खुलाइ तालुक मन्त्रालयलाई निवेदन दिएमा सम्बन्धित कार्यालयले थप ७ दिनभित्र हाजिर गराउन सक्ने उल्लेख छ। सोही मापदण्डअनुसार डा. पाण्डेले आफूलाई समस्या परेको भन्दै मन्त्रालयमा निवेदन दिएर बिदामा बसेका हुन्।

निकटस्थ स्रोतले भने डा. पाण्डेले आफू धनगढीस्थित मन्त्रालय वा अस्पतालमै बस्न चाहेकाले रमाना बुझ्न ढिलाइ भएको बताएको छ।

डा. पाण्डेले रमाना नबुझ्दा सेती अस्पतालमा भने अवस्था भद्रगोल बनेको छ। मेसुले सरुवा भएपछि नयाँ आउने मेसुलाई जिम्मेवारीसहित अस्पतालको आर्थिक दायित्वको जिम्मेवारी पनि हस्तान्तरण हुने गर्दछ। तर, अहिले सो दायित्व हस्तान्तरण नहुँदा अस्पतालका काम कारवाहीमा समस्या आएको हो।

निमित्त मेसु डा. शेरबहादुर कमरले अर्थसँग जोडिएका क्रियाकलाप गर्न नपाउने हुँदा अहिले अस्पतालको नयाँ कर्मचारी भर्नामा पनि अवरोध आएको छ। डा. कमरले यो अन्योलताले अस्पतालको अवस्था बिजोक बनेको बताए। अस्पतालका थुप्रै महत्त्वपूर्ण कामहरु रोकिएको पनि उनले जानकारी दिए ।

‘अहिले इमर्जेन्सी सर्विसका लागि असहज भएको छ। नयाँ कर्मचारी भर्नादेखि अन्य कुराहरूमा पनि गाह्रो भएको अवस्था छ। यो समस्याबारे हामीले सामाजिक विकास मन्त्रालयलाई लिखित र मौखिक रुपमा जानकारी गराएका छौं,’ उनले भने ।

यस्तै, सामाजिक विकास मन्त्रालयका सचिव ज्ञानप्रसाद ढकालले पनि सरुवा भएका मेसु डा. पाण्डेले बिदाका लागि मन्त्रालयमा निवेदन पेस गरेको तर स्वीकृत भने नभएको जानकारी दिए।

पाण्डेले डकुमेन्टमा आफूलाई समस्या परेकाले बिदा माग गरेको जिकिर गरेको उनले बताए।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ