धनगढी—कैलालीको गेटामा न्यूनतम सेवासहितको अस्पताल संचालन गर्ने तयारी भएको छ । सरकारले न्यूनतम सुविधासहितको अस्पताल सञ्चालन गर्न स्वीकृती दिएको छ ।
अस्पताल संचालनको लागि १ सय १० कर्मचारी र ३१ वटा विशेषज्ञ चिकित्सकको जनशक्ति दरबन्दी १९ असारको मन्त्रीपरिषद्बाट स्वीकृत भएको हो । अस्पतालका निर्देशक डा. प्रमोद जोशीका अनुसार न्यूनतम सेवासहितको अस्पताल सञ्चालनका लागि १९ असारमा मन्त्रिपरिषद्ले स्वीकृत दिइएको हो ।
‘अस्पताल संचालनको लागि ठूलो उपलब्धि जनशक्तिको दरबन्दी स्वीकृती हो, त्यो स्वीकृत भएको छ,’ उनले भने ।
डा. जोशीका अनुसार दुई हप्ताभित्र अस्पताल सञ्चालनका लागि कागजपत्रहरु गेटा आउने बताए । उनले चाँडै अस्पताल सञ्चालनमा ल्याइने जानकारी दिए ।
अस्पताल संचालनको लागि स्वास्थ्य मन्त्रालयलाई अनुरोध पश्चात स्वास्थ्य सेवा बिभागले न्युनतम सेवा सहितको अस्पताल संचालनको लागि उपकरण उपलब्ध गराइरहेको उनले बताए । ‘केही उपकरण आइसकेका छन्, केही आउने प्रक्रियामा रहेको छ,’ डा. जोशीले भने ।
अस्पताल संचालनको लागि दुई हप्तापछि नेपाल सरकारको स्थायी कर्मचारी, अस्थायी कर्मचारी पठाउने कुरा भएको र त्यसको आवश्यक गृहकार्य भइरहेको दरबन्दी स्वीकृत पश्चात जनशक्ति आउने अपेक्षा रहेको निर्देशक जोशीले बताए ।
गेटामा सुरुवाती चरण इमर्जेन्सी विभाग रहने ठाउँलाई प्रयोगमा ल्याउने प्रयास भइरहेको छ । ओपीडी सेवा पनि सोही ठाउँबाट संचालनमा ल्याइने गेटा अस्पतालले जनाएको छ । ओपिडी सेवा संचालन पश्चात अन्य सेवा विस्तार गर्दै लैजाने तयारी गरेको छ ।
संघीय मन्त्रीपरिषद्ले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेकोमा स्वास्थ्य मन्त्रालयले १०० शैय्याको अस्पताल सञ्चालन गर्ने भएको हो । गेटामा संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ५ अर्ब बढीका भौतिक संरचनाहरु निर्माण गरेको छ । गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग हुँदै आएको छ ।