धनगढी—सुदूरपश्चिम प्रदेश सरकारको आगामी वर्षको बजेटमाथि छलफलका क्रममा स्वतन्त्र सांसद डा. तारा जोशीले सेती प्रादेशिक अस्पताललाई ‘माफिया अस्पताल’को संज्ञा दिएका छन् । विभिन्न जिल्लाबाट आएका बिरामीहरूले सहज रुपमा उपचार नपाएको भन्दै उनले त्यसलाई ‘माफिया अस्पताल’को संज्ञा दिएका हुन् ।
उनले पटक—पटक अस्पतालका विषयमा प्रश्न उठाउँदा पनि सरकारले चासो नदिएको गुनासो पोखे । सरकारले अस्पतालको स्तरोन्नती गर्दैगर्दा के उद्देश्यका लागि स्तरोन्नती गर्ने भनेर उनले प्रश्न समेत गरे ।
‘अस्पताललाई नाममात्रै गर्ने हो कि सेवा प्रवाहलाई । बच्चाको सबै उपचार सदरमुकाममा रहेको अस्पतालमा हुन्छ भनेर घोषणा गर्न सक्नुहुन्छ ?,’ डा. जोशीले भने, ‘अस्पतालको सेवा सुधार गर्न नसक्ने कापीमा हामी त्यसलाई प्रदेशको अस्पताल बनाउछौं भन्ने । तर, प्रदेशका अस्पतालमा पाउने सेवाको बारेमा नसोध्ने ?’
सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा स्थानीय तहका विभिन्न अस्पताललाई स्तरोन्नती गर्ने उल्लेख छ । सरकार आवश्यकभन्दा अनावश्यक विषयमा केन्द्रित रहेको उनको भनाइ थियो ।
प्रदेश सरकारको प्राथमिकतामा परेको चिडियाखाना आवश्यक नरहेको भन्दै उनले भने, ‘बाजुराको कुपोषित बालकलाई लिटो बाँडिरहेको मुख्यमन्त्रीको तस्बिरभन्दा चिडियाखानामा बाघलाई मासु खुवाउँदै गरेको मुख्यमन्त्रीको तस्बिर भाइरल हुने सम्भावना धेरै छ । त्यसैले चिडियाखाना बनाओस् सरकारले ।’
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका जनता अझै पनि खानेपानीको अभावले पिल्सिरहँदा पनि सरकारले त्योअनुसारको बजेट ल्याउन नसकेको जोशीको गुनासो थियो ।