काठमाडौँ – कालिकोटस्थित रासकोट अस्पतालमा बिरामीका लागि सामग्री सहयोग गरिएको छ । दिव्य सेवा समाज काठमाडौँको समन्वयमा हङकङ नेपाल हिन्दू एशोसिएसन (हिन्दू मन्दिर ) ले संकलन गरी पठाएको सहयोग सामग्री अस्पताललाई हस्तान्तरण गरिएको हो ।
दिव्य सेवा समाजका अध्यक्ष रामभक्त श्रेष्ठ र सचिव शिरोमणि दवाडीले अस्पतालका प्रवन्धक कौशल न्यौपाने सहित चिकित्सकको टोलीलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन्।
कार्यरत कर्मचारी र चिकित्सकको तलब रासकोट नगरपालिकाले उपलब्ध गराए पनि अस्पतालसम्म बिरामी पु-याउने एम्बुलेन्स, उपचारमा प्रयोग हुने उपकरण र बिरामीहरूका लागि आकस्मिक उपचारका लागि औषधी अभावमा अस्पताल संचालन भैरहेको खबर पाए पछि केही राहत पुगोस भन्ने हेतुले दाताहरूबाट सहयोग भएको हिन्दू मन्दिरकी अध्यक्ष गोमा देवी शर्माले जानकारी दिइन ।
सुत्केरी महिला, भर्खर जन्मिएका शिशु तथा अशक्त बिरामीहरूलाई लत्ताकपडा, अस्पतालमा प्रयोग हुने थर्मस, मास्क लगायतका सामग्रीहरू उपलब्ध गराएको थियो। सोही अवसरमा अध्यक्ष श्रेष्ठ तथा सचिव दवाडीले बेडमा रहेका बिरामीको अवस्था बुझेर राहत सामाग्री तथा नगद सहयोग रकम समेत प्रदान गरेका छन् । विकट ठाउँमा आएर स्वयं बिरामीलाई नै भेटेर सहयोग गर्न पाएकोमा खुसी लागेको बताउँदै आगामी दिनमा संस्थाको अगुवाइमा सहयोग कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ छ ।
अस्पतालका लागि अक्सिजन सिलिन्डर,आइसियुका उपकरण र एम्बुलेन्स अत्यावश्यक रहेको बताउँदै त्यसको लागि पनि सहयोगी संघसंस्थाको खोजी भैरहेको प्रवन्ध न्यौपानेले जानकारी गराए।
संचारकर्मी रवि लामिछानेको अगुवाइमा अस्पतालको भौतिक पूर्वाधार निर्माण गरिए पछि स्थानीय समाजसेवीहरूकै सक्रियतामा रास्कोट अस्पताल संचालनमा आएको हो ।