२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिममा सिकलसेल एनिमिया सम्बन्धी थप अनुसन्धान हुँदै

सुदूरपश्चिममा सिकलसेल एनिमिया सम्बन्धी थप अनुसन्धान हुँदै


धनगढी–सुदूरपश्चिम प्रदेशमा सिकलसेल एनिमिया थालसेमिया सम्बन्धी थप अनुसन्धान हुने भएको छ । सदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई सिकलसेल एनिमिया÷थालसेमिया औषधि उपचार तथा अनुसन्धानमा उपलब्ध गराएको ६० लाख बजेटमध्ये १० देखि २० लाख अनुसन्धानमा खर्च गरिने अस्पतालका सामाजिक सेवा इकाई प्रमुख गौरीदत्त जोशीले बताए ।

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा थारु समुदायमा सिकलसेल एनिमियाको प्रकोप उच्च रहेको छ । प्रदेश सरकारलाई यस समस्याबाट पीडित बिरामीहरुका लागि स्क्रिनिङ, उपचार तथा ब्यवस्थापन कार्यक्रम गरिरहेको छ । सिकलसेल एनिमिया बिटा थालसेमियाका बिरामीहरुमा मानसिक तनाव तथा उनीहरुको जीवनको गुणस्तर सम्बन्धी जानकारी हासिल गरी आगामी दिन सो सम्बन्धी सुधारका बिभिन्न कार्यक्रमहरु सिफारिस गर्न यो अनुसन्धान गर्न थालिएको अस्पतालले जनाएको छ ।

उक्त सिकलसेल एनिमिया बिटा थालसेमियाको अनुसन्धानमा क्लिनिकल चिकित्सक, नर्सिङ र जनस्वास्थ्य क्षेत्रमा अनुसन्धान गरिने अस्पतालले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयको नेतृत्वमा डा. शेरबहादुर कमर, डा. प्रदिप मिश्रको टोलीले सिकलसेल भएको ब्यक्तिको पाचन प्रक्रिया, रगतको मात्रा, रगतमा हेमोग्लोबिनको मात्रा, शरीरको प्रतिरक्षा शक्तिको बारेमा अनुसन्धान गर्नेछ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. जगदीश जोशीले सिकलसेल भएको ब्यक्ति र नभएको ब्यक्तिको मानसिक स्वास्थ्य, जीवन गुणस्तरको बारेमा अनुसन्धान गर्ने र प्रादेशिक अस्पतालका सामाजिक सेवा इकाई प्रमुख गौरी दत्त जोशीको नेतृत्वमा जनस्वास्थ्य क्षेत्रमा सिकलसेल सबन्धी ज्ञान, धारणा र सिकलसेलको नियन्त्रणका प्रयासको बारेमा अनुसन्धान गरिने बताए । उनकाअनुसार सेती प्रादेशिक अस्पतालकाकी नर्सिङ इन्चार्ज सिमा शर्मा नेतृत्वको टोलीले किशोर–किशोरी अवस्थामा सिकलसेल भएका ब्यक्तिको जीवन गुणस्तरको अनुसन्धान गर्नेछ ।

सेती प्रादेशिक अस्पतालले सिकलसेल एनिमियमबाट प्रभावित समुदायमा गएर रगत नमुना संकलन तथा सिकलसेल प्रभावितहरुलाई भेटेर अनुसन्धान गरिरहेको अस्पतालका सामाजिक सेवा इकाई प्रमुख जोशीले जानकारी दिए ।

आइतबार सेती प्रादेशिक अस्पतालले कैलाली गाउँपालिकामा आयोजना गरेको सिकलसेल एनिमिया र थाइलेसिमिया सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर तथा अनुसन्धानात्मक कार्यक्रमबाटै सिकलसेल भएका ब्यक्तिहरुको अनुमति लिएर नमुना संकलन गरी अनुसन्धान गरिने बताइएको छ ।

कार्यक्रममा बिरामीहरुका स्वास्थ्यमा परेका असर, उनीहरुको पोषण स्थितिको अवस्था लगायतबारे जाँच भएको कैलारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जानकारी दिए । कैलारी गाउँपालिकामा १ सय ५० जना सिकलसेल एनिमियाको समस्या भएको रेकर्ड रहेको गाउँपालिकाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले कैलारी गाउँपालिकाका सिकलसेल एनिमिया भएका ब्यक्तिहरुलाई जनचेतनामूलक तालिम समेत प्रदान गरेको छ ।

सोही कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले सिकलसेल एनिमिया जति उपचार गरेपनि निको नहुने, सबै सम्पति उपचारमा नै खर्च गरेर पनि ज्यान नजोगिएको बताए । सिकलसेल एनिमिया दीर्घ रोगमा सूचीकरणमा गरी मासिक भत्ताको ब्यवस्था गरिनुपर्ने र कैलारी गाउँपालिकाले पनि बिरामीलाई अस्पताल आवत–जावत खर्च उपलब्ध गराइरहेको उनको भनाइ थियो । अध्यक्ष चौधरीले सिकलसेल एनिमिया भएका ब्यक्तिहरु परामर्श दिन सिकलसेल परामर्श केन्द्र स्थापना गर्ने कार्य भइरहेको बताए ।

सेती प्रादेशिक अस्पतालले कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, कञ्चनपुरको बैलौरी नगरपालिका र धनगढी उपमहानगरपालिका सिकलसेल एनिमिया भएका ब्यक्तिहरुलाई अनुसन्धानमा सहभागी गराउनेछ ।

थारु समुदायमा सिकलसेल एनिमिया अवस्था जटिल बन्दै गएको छ । परिवारको एक सदस्यलाई सिकलसेल एनिमिया देखिदा अरु सदस्यहरुको परीक्षण हुन सकेको छैन । स्थानीय तह तथा प्रदेश सरकारले सिकलसेल एनिमिया थालसेमियाको परीक्षण अझै समुदायस्तरमा पु¥याउन सकेको छैनन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ