धनगढी–विश्वव्यापी रुपमा फैलिँदो कोरोना भाइरस (कोभिड—१९) संक्रमित उपचारमा संलग्न चिकित्सक नै त्रसित छन् । त्यसमा पनि कोरोनाका कारण मृत्यु भएकाहरुको शव छुन जो कोहीले चाहँदैनन् र आँट गर्दैनन् पनि ।
तर, गत जेठ ३ गते साँझ कोरोनाका कारण सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा कैलालीको गोदावरी नगरपालिका—१ का बस चालक तथा व्यवसायी ४६ वर्षीय पुरुषको मृत्यु भयो । ३ जेठको साँझ उनको मृत्यु भएपनि ४ जेठमा उनको शव व्यवस्थापनको काम नेपाली सेनाले गर्नुपर्ने थियो । मृत्यु भएका पुरुषको शव परिवारले उठाउन नपाएपछि अरुले बोक्न त के छुनसमेत धेरै हिचकिचाए । कसैले पुरुषको शव बोक्न मानेन् ।
धनगढीमा रहेका एम्बुलेन्सले शव उठाउन मानेनन् । तर, नेपाल रेडक्रस सोसाइटी कैलालीमा १७ वर्षदेखि एम्बुलेन्स चलाउँदै आएका देवीलाल ओझा तयार भए । उनले उचित स्वास्थ्य सर्तकतासहित व्यवस्थित ढंगले शवलाई मोहना घाटसम्म पु¥याए । सुदूरपश्चिममा अस्पतालबाट मोहना घाटसम्म पु¥याउने काम गरेसँगै सामाजिक सञ्जालमा उनको प्रशंसा हुनुका साथै हौसला बढाउने काम भइरहेको छ ।
३ जेठमा मृत्यु भएका ती पुरुष्को शव व्यवस्थापनका लागि मोहना घाटसम्म लैजान समस्या थियो । सेनाले विभिन्न ठाउँहरुमा आग्रह गर्दा पनि कोही तयार भएनन् । कुनै विकल्प नपाएपछि सेनाले नेपाल रेडक्रस सोसाइटी कैलालीसँग सहयोग माग्यो । रेडक्रससँग एम्बुलेन्स र शववाहन थियो । चालक पनि दुई जना थिए । एकजना चालक बाहिर भएका बेला त्यहाँ नजिकै रहेका अर्का चालक देवीलाल ओझा तयार भए ।
उनी सेती प्रादेशिक अस्पतालको शव गृहमा पुग्दा सेनासहित तीनै तहको सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति थियो । उनी त्यहाँ पुग्दासम्म कसैले शव उठाउने प्रयास पनि गरेका थिएनन् । नेपाली सेनाको टोली पनि उनकै पर्खाइमा थियो । शव गृहमा पुग्दासम्म शव पहिल्यै ‘क्याडाभर पाउच’ अर्थात् बडी ब्यागमा प्याक गरिसकिएको थियो । उनी पुगेपछि सेनासँगै शवलाई गाडीमा राख्न अग्रसर भए ।
डेढ दशकदेखि एम्बुलेन्स चलाउँदा उनले हजारौं बिरामी बोकिसकेका थिए । तर, कोरोनाको संक्रमणका कारण मृत्यु भएकाको शव बोकेका थिएनन् । सुरुमा उनी हिच्चकिचाए तर पनि पछि सोचे यति लामो समयसम्म बिरामीहरुको सेवा गरे । मृतकका परिवारलाई शव अन्त्येष्टीमा सहयोग गरे । कस्तो—कस्तो मनमा लागिरहेकै बेला अन्तिम निर्णयमा पुगे यत्रो वर्ष सेवा गरे । अहिलेको यस्तो आपतकालीन अवस्थामा नाइ कसरी भन्ने ?
सेनासँगै लागेर कोरोनाले मृत्यु भएका पुरुषको शवलाई शव वाहनमा राखियो । गाडी रफ्तारमा मोहना घाटमा पुग्यो । सेनाको लस्करको गाडी, सबैको आँखामा डर, कामेका हातले बाँकी जिम्मेवारी पूरा गर्न बल दिइरहेको थिएन । तर, शवको व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी भएकाले देवीलाल ओझा विचलित भएनन् । शवलाई गाड्नुपर्ने थियो । त्यहाँ पनि सेनासँगै अग्रसर भए उनी । छेउमा झोक्राएर मृतकका आफन्त र छोराछोरीहरु थिए, आँशु झारिरहेका । उनले पनि टिपपिल भएर खस्न खोजेका आँशु दबाए । मृतकका आफन्तले शव व्यवस्थापनसम्म टुलुटुल हेरि मात्र रहे ।
शव व्यवस्थापन सकिएपछि उनी फर्किए । अहिले उनी नेपाल रेडक्रस सोसाइटी कैलालीको व्यवसायिक भवनमाथि रहेको गेष्ट हाउसमा १० दिनदेखि क्वारेन्टाइनमा छन् । चार दिन अझै त्यही बिताउनेछन्, ओझा । त्यसपछि उनी घर जाने योजनामा रहेका छन् । यो अवधिमा उनले कसैलाई भेटेका पनि छैनन्, गेष्ट हाउसको एक कोठामा एकान्त बासमै बसेका छन् । क्वारेन्टाइन अवधि सकिएपछि उनी पहिला झै विरामीहरुको उद्धारमा सक्रिय हुनेछन । भन्छन्, ‘कोरोना संक्रमितको उद्धार र व्यवस्थापनमा खटिन्छु ।’ शव व्यवस्थापनमा देवीलालले जुन साहस देखाए, त्यो साहसलाई सबैले सलाम गरेका छन् ।