धनगढी – २०७३ साल बैशाखदेखि निर्माण सुरु भएको गेटा मेडिकल कलेजमा ७० प्रतिशत भौतिक प्रगति भएको छ । अर्को आर्थिक वर्षभित्रै अस्पताल सेवा सुरु गर्ने तयारीका साथ निर्माण कार्यलाई तिव्रता दिईएको हो ।
गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका अनुसार कलेजको सातवटा प्याकेजमा निर्माण थालिएकोमा ६ वटा प्याकेजमा ८० प्रतिशत भौतिक प्रगती भएको छ । एउटा प्याकेजमा झण्डै ५० प्रतिशत भन्दा बढि भौतिक प्रगती भएको मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमवहादुर साउदले जानकारी दिए ।
‘कलेज भवनको ९५ प्रतिशत निर्माण सकिएको छ। अस्पताल भवनको ७० प्रतिशत, प्रशासनिक भवनको ८५ प्रतिशत निर्माण सकिएको छ । ८ वटा आवासगृहको निर्माणमा भने केही ढिलाई भईरहेको छ।’ कार्यकारी निर्देशक साउदले भने ।
उनका अनुसार अहिले २३ वटा भवनको निर्माण भईरहेको छ भने सडक र तटबन्धको कार्य समेत जारी रहेको छ। लकडाउनमा पनि गेटा मेडिकल कलेजको निर्माण कार्य जारी राखिएको बताउँदै उनले भने, ‘सबै प्याकेजमा निर्माण व्यवसायीहरुले पछिल्लो समय कामदारको सङख्या समेत बढाएका छन् । कामदारलाई भित्रै राख्ने व्यवस्था मिलाइएको छ ।’
कार्यकारी निर्देशक साउदले निर्माणका लागि आवश्यक पर्ने सिमेन्ट लगायतका सामान ढुवानीका लागि जिल्ला प्रशासनले अनुमती दिईसकेको बताउँदै काठमाडौँ लगायतका क्षेत्रबाट ल्याउन पर्ने निर्माण सामाग्रीको भने अभाव रहेको बताए ।
अर्को आर्थिक बर्ष्भित्रै अस्पताल सञ्चालनका लागि बजेट समेत माग गरिएको कार्यकारी निर्देशक साउदले जानकारी दिए । यद्यपी अस्पताल सञ्चालन र पठनपाठनका लागि प्रक्रिया अझै सुरु हुन सकेको छैन ।
मेडिकल कलेज सञ्चालनका लागि आधारतभुत पुर्वाधारहरु तयार भईसकेपनि अस्पताल सञ्चालन र पठनपाठनका लागि सम्वन्धित निकायले प्रक्रिया अगाडी बढाउन नसकेको हो ।
सुरुवातमा २०७७ सालदेखि नै अस्पताल र पठनपाठन सुरु गर्ने लक्ष्य राखिएपनि आवश्यक प्रक्रिया अगाडी नबढ्दा अव २०७८ भित्र सञ्चालन गर्ने तयारी भईरहेको छ । अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण, शैया लगायतको खरिद प्रक्रिया समेत सुरु भएको छैन्