२०८१ पुस ९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्थलगत : जब सीमा नाकामा नेपाली सेना खटियो…

स्थलगत : जब सीमा नाकामा नेपाली सेना खटियो…


महेन्द्रनगर—कञ्चनपुरको भीमदत्तनगरस्थित नेपाली सेनाको श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी शंकरबहादुर पण्डित विगत तीन दिनदेखि निरन्तर पश्चिमी नाका गड्डाचौकीमा कोराना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि आवश्यक दलबलसहित सक्रिय छन् ।

गड्डाचौकी नाकामा नेपाली सेनाले थालेको बाहिनी, सिंहशार्दूृल गुल्म र श्री नं. २५ फिएको प्रयासले नै भारतका विभिन्न स्थानबाट मजदूरी गरेर फर्किने नेपालीहरुको स्वास्थ्य परीक्षण प्रभावकारी हुँदै गएको छ ।

यहाँस्थित सिंहशार्दूल गुल्मका गुल्मपति सेनानी प्रणयजंग मल्लले शुक्रबारयता हालसम्म करिब २० हजार नागरिकको सीमा नाकामा स्वास्थ्य परीक्षण गरिएको बताए । ‘शुक्रबारदेखि नै हामीले टेन्टको अस्थायी क्याम्प र आवश्यक घेरबार बनाएर स्वास्थ्य परीक्षणलाई व्यवस्थित बनायौं,’ उनले भने, ‘स्वास्थ्य परीक्षणमा अन्य निकायबाट खटिएका स्वास्थ्यकर्मीहरुको पनि ठूलो भूमिका छ ।’

उनले ज्वरो बढी देखिएकाहरुलाई सैनिक चिकित्सककै निगरानीमा गड्डाचौकीमै पुनः स्वास्थ्य परीक्षण गर्ने गरिएको बताउँदै थप आशंका देखिए महाकाली अस्पताल पठाउने प्रबन्ध मिलाइएको बताए । ‘अहिलेसम्म बढी ज्वरो आएका दुई जना मात्रै महाकाली अस्पताल पठाएका छौं,’ उनले भने, ‘गर्मीमा लाइनबस्दा, हिडेर थकित भएर आएकाले पनि ज्वरो बढी देखिन सक्छ ।’


सेनाको सैनिक चिकित्सकसहितको टोली स्वास्थ्य परीक्षणमा खटिएको छ भने बाहिनी र गुल्मको टोली अन्य व्यवस्थापकीय भूमिकामा देखिएको छ । गड्डाचौकीका स्थानीयवासीले सेना स्वास्थ्य परीक्षणमा खटिएपनि आफूहरुलाई पनि जोखिम न्यूनीकरणको भरोसा जागेको बताए । ‘सीमानाका बासिन्दा भएकाले हामीलाई पनि संक्रमणको त्रास छ,’ स्थानीय एक युवकले भने, ‘अन्य निकायबाट स्वास्थ्य परीक्षण भइरहेको भएपनि त्यसको व्यवस्थापन कमजोर थियो, सेना आएपछि मजबुत बन्यो ।’

सेनाका अधिकृतहरुले यहाँको ब्रह्मदेव र दोधारा चादँनी नाकाको वस्तुस्थितीका बारेमा पनि स्थलगत जानकारी लिएको सेनाको श्री नं. २५ बाहिनी अड्डाले जनाएको छ । श्री नं. २५ बाहिनीका बाहिनीपति सहायकरथी शंकरबहादुर पण्डितले दैनिक रुपमा सेनाले सीमानाको अवलोकन गरिरहेको बताए । ‘मान्छेको चाप बढी हुनेभएकाले गड्डाचौकीमा केही समस्या जस्तो देखियो,’ उनले भने, ‘थप व्यवस्थित बनाउन स्थानीय प्रशासन र स्थानीय सरकारसित सहकार्य गरिरहेका छौं ।’

उनले सर्वसुलभ रुपमा सेना यात्रुहरुको व्यवस्थापनमा लागि परेको बताए । ‘राष्ट्र, राष्ट्रियता र जनसरकारको सवालमा सेनाले जहाँ जुन हिसाबमा सहयोग गर्न सक्छ, त्यसमा हामी प्रतिवद्ध छौं,’ बाहिनीपति पण्डितले भने, ‘सर्वसाधारणलाई जोखिम न्यूनीकरणका लागि गर्नसक्ने सहयोगका लागि सेना तत्पर छ ।’


सेनाले आइतबारदेखि भीमदत्तनगरस्थित बसपार्कमा समेत हेल्प डेस्क स्थापना गरेर कोराना भाइरस जोखिम न्युनीकरणका लागि जनचेतनामूलक सामाग्रीहरु यात्रु र सर्वसाधारणहरुलाई वितरण गरिरहेको छ । शनिबार नेपाली सेनाले गड्डाचौकी नाकाको स्थलगत अनुगमनका लागि पुगेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई समेत स्वास्थ्य परीक्षणको अवस्था, व्यवस्थापकीय कठिनाईलगायतका विषयमा जानकारी गराएको थियो ।

भारतको चण्डीगढबाट घर फर्किरहेका बैतडीका वीरेन्द्र धामीले सीमा नाकामा नेपाली सुरक्षाकर्मीले अप्नाएको सर्तकताको सरहाना गरे । ‘यसको प्रभावबाट बच्नेभन्दा पनि हल्ला फैलाउनेहरुका कारण समस्या थप जटिल बन्यो जस्तो लाग्छ,’ धामीले भने, ‘भयानक महामारीको जोखिम न्यूनीकरणमा खटिएका सैनिकलगायत सबै स्वास्थ्यकर्मीहरुले आफ्नो पनि सुरक्षालाई ख्याल गर्दै उपकरणको सहायताले काम गर्नुपर्छ ।’

कञ्चनपुरको भीमदत्तनगरमा आइसोलेसन वार्ड र क्यारेन्टाइन भवनको प्रवन्ध मिलाइएको छ । स्थानीय प्रशासनले शनिबारदेखि गड्डाचौकी नाकाबाहेकका जिल्लाका अन्य नाकाहरुबाट भारत आवागमनमा रोक समेत लगाएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ