२०८१ भदौ ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअपआयुर्वेदिक औषधिमा भाष्कर ब्राण्ड

आयुर्वेदिक औषधिमा भाष्कर ब्राण्ड


बजार-बजारमा नाङलोमा यौनवर्द्धक, चुरोट छुटाउने, पायल्स चट पार्ने, रक्सी ग्यारेन्टीका साथ छुटाउने आयुर्वेदिक औषधि भन्दै प्रचार गरेको तपाईं हामीले देखेकै छौं । यी कुराबाट कति मानिस ठगिएका छन्, त्यसको लेखाजोखा छैन । यिनै ठगिएका अधिकांश मानिसको दिमागमा आउँछ आयुर्वेदिक औषधि भनेको तीनै ठग्नेहरुको कमाउने भाँडो हो ।

तर, हाम्रो देशमा यस्ता कम्पनीहरु पनि छन्, जसले जडीबुटीदेखि लिएर उत्पादन गरेका औषधिको वर्षौ अध्ययन—अनुसन्धान गरेर छुट्टै भाष्य स्थापित गरेका छन् । त्यसमै पर्छ नेपालको पहिलो डब्लुएचओ जिएमपी पाउने आयुर्वेदिक औषधि कम्पनी—भास्कर ।

भास्कर हर्बास्युटिकल्स प्रा.लि. सन् २००८ मा निर्माण सुरु गर्दा नै यसका परिकल्पनाकारहरुको एउटा सोच थियो यसलाई नेपालको पहिलो विश्व स्वास्थ्य संगठन जिएमपी सर्टिफाइड आयुर्वेदिक कम्पनी बनाउने । जुन बेला नेपालमा एलोप्याथी औषधि कम्पनीले मात्र डब्लुएचओ जिएमपी पाएका थिए । जिएमपी पाउनका लागि कम्पनीले पूर्वाधार विकासदेखि नै ध्यान दिएको थियो । लगभग ४ विघा क्षेत्रफल रहेको सो क्षेत्रमा दुई वटा भवन रहेका छन् ।

निर्माण सुरु भएको दुई वर्षपछि औषधि व्यवस्था विभागले ४ वटा प्रोडक्टको अनुमति दियो । चार वटा प्रोडक्टले बजार राम्रो लिएपछि थप दुई वर्षमा थप २० देखि २५ वटा प्रोडक्ट उत्पादन गर्ने अनुमति दियो । त्यो अनुमति पाएसँगै सन् २०१२ मा भास्करले नेपालमा पहिलोपटक आयुर्वेदीक औषधि उत्पादनको जिएमपी पायो । त्यसपछि भने भास्करले आफ्नो प्रोडक्टहरुलाई पछाछि फर्केर हेर्नु परेको छैन ।

आजभन्दा १४ वर्षअघि ४ वटा प्रोडक्टबाट उत्पादन सुरु भएको भास्कर हर्बास्युटिकल्सले अहिले २ सय ५० बढी उत्पादन पुगेको छ । नेपालकै नम्बर १ हर्बास्युटिकल्स कम्पनी भएको छ । तर, नेपालको नम्बर वान कम्पनी बन्न सानो मेहनत भने छैन ।

सुरुमा लिवोटप (LIVOTOP SYRUP), ग्लायकोरेक्स (GLYCOREX SYRUP), निर्मल चुर्ण (NIRMAL CHURNA) लगायत चार वटा उत्पादन गरिएको थियो । सुरुदेखि नै इन्फास्ट्रक्चर र गुणस्तरलाई उच्च प्रविधिसँग जोडेर उत्पादन सुरु गरेको कम्पनीले त्यसमा आँच आउन दिएको छैन । ‘हामीले सुरुदेखि नै प्रविधि र गुणस्तरमा कम्प्रोमाइज हुन दिएका थिएनौं,’ भास्करका संचालक समेत रहेका कार्यकारी निर्देशक शम्भू अग्रवालले भने, ‘त्यही भएर हामीले चाँडै नै डब्लुएचओ जिएमपी पायौं ।’

सन् २०१० मा २५ जना कर्मचारीबाट सुरु भएको कम्पनीमा उधोग संचालन को लागि १ सय १५ जना कर्मचारी, उधोगबाट उत्पादित आयुर्वेदिक औषधी बिक्री वितरणको लागि ७० जना कर्मचारी र कार्यालय संचालनको लागि २० जना कर्मचारी गरि अहिले २०५ जना कर्मचारी छन। बीचको एउटा यस्तो पिक आवर पनि थियो त्यो बेला जनशक्ति नै २ सय ४० जनासम्म पुगेको थियो । त्यो जनशक्तिले पनि डिमाण्ड थेग्न नसकेर हप्तामा २ देखि ३ घण्टा थप समय काम गर्नुपर्थ्यो । ‘अहिले हाम्रो मात्र होइन्, सबैको विजनेस कम भएको अवस्था छ,’ उनले भने, ‘रेगुलर काम भइरहेको हुन्छ कुनै औषधि इमर्जेन्सी माग भयो भने ओभरटाइम पनि गराउँछौं ।’

कम्पनीले उत्पादन गरिहरेका २५० माथिमा प्रोडक्टमध्ये हाराहारी, स्टोनिल सिरप्, ट्याब्लेट (STONIL SYRUP & TABLET), फेमी कोर्डीयल फोर्ट सिरप (FEMICORDIAL FORTE SYRUP), भास्करजाइम सिरप (BHASKARZYME SYRUP) राम्रो जान्छ । भास्करका प्रोडक्टहरु आयुर्वेदिक औषधि पसलमा मात्र होइन एलोपेथिक औषधि पसलमा पनि जान्छ । ती प्रोडक्टलाई एलोप्याथीक चिकित्सकले पनि प्रेस्क्रीप्सन गर्छन् । क्लासिकल प्रोडक्टहरु आयुर्वेदिक चिकित्सकले प्रेस्क्राइब गर्छन् । जसमा च्यवनप्राश ,चुर्ण, वटी, भस्म, गुग्गुलु, आश्वरिष्ट, रस रसायन, तेल लगायत अन्य शास्त्रीय औषधीहरु पर्छन् । पूरै नेपालमा हाम्रो टिममा ७७ जिल्लामा भास्करका उत्पादन पुगेका छन् ।

 जडिबुटीको देश भनिएर चिनिएको नेपालमा नेपालकै नम्बर १ भनिएको कम्पनीमा नेपालका जडीबुटी बढीमा ४५ प्रतिशत मात्र प्रयोग हुन्छन् । अधिकांस अन्य देशबाट ल्याउनुपर्ने हुन्छ । नेपालमा जडीबुटीको व्यवसायिकीकरण नहुँदा त्यस्तो समस्या भएको संचालक समेत रहेका अग्रवाल बताउँछन् । ‘नेपालमा धेरै जडीबुटी पाइन्छ,’ उनी भन्छन्, ‘ल्याउन सहजता नभएसँगै जडीबुटी उत्पादन भण्डारण र त्यसको गुणस्तर मापन हुन नसकेका कारण अघिकांश अन्य देशवाटै ल्याउनुपर्ने बाध्यता छ ।’

 नेपालमा उत्पादन भएको जडीबुटी भने नेपालका पूर्व, पश्चिम, उत्तर सबैतिरबाट संकलन गर्दै आएको छ । भास्करले अन्यत्रबाट जडिबुटी किन्ने मात्र होइन्, केही आफै पनि उत्पादन गर्दै आएको छ । विशेष गरी तराईंमा उत्पादन हुने घृतकुमारी तुल्सी, पुदिनाहरु आफै उत्पादन गर्दै आएको छ ।

ल्याइएका कच्चा पदार्थ र बनेका औषधिको गुणस्तर हेर्ने छुट्टै क्वालीटी डिभिजन छ । विभिन्न चरणमा परीक्षण गरेर औषधि तयार गरिन्छ । सो डिभिजनले बजारमा पठाउन ठीक छ भनेपछि मात्र औषधि बजारमा जान्छ । त्यतिमात्र नभएर प्रोडक्ट बजार गएको डेट एक्सपायर भएको छ छैन, त्यसको क्वालीटी अनुकूलित तापक्रममा छ छैन । त्यो हेर्ने र कम्पनीलाई जानकारी दिने छुट्टै संयन्त्र छ । यदि कुनै प्रोडक्टमा समस्या आए तत्काल फिर्ता लिने त्यसको अध्ययन गर्ने काम पनि हुन्छ ।

नेपालमा एलोप्याथिक औषधि बनाउनभन्दा गुणस्तरीय आयुर्वेदिक (हर्वल) औषधि बनाउन गाह्रो रहेको अग्रवाल बताउँछन् । ‘एलोप्याथिकमा त अधिकांश कच्चा पदार्थ प्यूरीफाई भएर आउँछ, कम्तिमा एउटा मापदण्डको भइसकेको हुन्छ,’ उनले भने, ‘तर आयुर्वेदिकमा पहिले कच्चा पदार्थकै क्वालिटी छुट्याउनुर्‍यो । त्यसलाई मापदण्ड पुर्‍याउनुपर्‍यो, फर्मुलेसन बनाएर औषधि बनाउँदा धेरै खर्च हुन्छ ।’


क्याटेगोरी : मेरो स्टार्टअप



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ