डा. सुरज बज्राचार्य वरिष्ठ अर्थोपेडिक्स तथा स्पाइन सर्जन हुन् । उनले विभिन्न अस्पताल तथा क्लिनिकहरुमा सेवा दिइसकेका छन् । अहिले किष्ट मेडिकल कलेज अस्पतालका मेडिकल निर्देशक रहेका उनी अनुभवी चिकित्सकमा गनिन्छन् । डा. सुरजले भक्तपुरमा सेवा दिन थालेको नै १२ वर्षभन्दा बढी भइसकेको छ ।
‘एकै ठाउँमा बसिरहँदाखेरि बिरामीको माया हुँदोरहेछ,’ डा. सुरजले हालैको एक विहान हेल्थआवाजसँग भने, ‘बिरामीहरु आफ्नो हुँदारहेछन्, विश्वास गर्दारहेछन् । मलाई खोज्दैं बिरामीहरु टाढा—टाढाबाट आउने गर्छन् ।’ भक्तपुरमा बिरामीसँग डा. सुरजको सम्बन्ध प्रगाढ बन्न पुग्यो । त्यही कारण उनी भक्तपुरमै भावनात्मक रुपमा पनि केही फरक गर्न चाहन्थे ।
त्यहीबीच दुई वर्षअघि उनका केही साथीहरु भक्तपुरमा एमआरआई सेन्टर स्थापना गर्ने कुरा लिएर उनी कहाँ आए । ती साथीहरुलाई डा. सुरजले भने ‘एमआरआई सेन्टरले मात्रै हुँदैन्, राम्रो सेवा दिने ल्याब र क्लिनिक पनि सुरु गरौं ।’ यो प्रस्तावमा उनका साथीहरु पनि सहमत भए । त्यसपछि टिम बनाउने काम अगाडि बढ्यो । तर, त्यहीबीच कोभिड—१९ को विश्वव्यापी महामारी सुरु भयो । त्यसले झण्डै २ वर्ष डिस्टर्ब गरेपछि उनीहरुको योजना पनि पछि स¥यो ।

‘कोभिड—१९ को झट्काले हामीलाई पनि तर्सायो । तर, पछि विस्तारै आफ्नो सोचअनुरुपको योजना पनि अगाडि बढायौं,’ डा. सुरज भन्छन् । त्यसपछि एमआरआई, प्रयोगशाला, डेन्टल र आई सेवामा टिमहरु निर्माणको काम अगाडि बढ्यो । एमआरआई, युनी प्याथ ल्याब, समाज डेन्टल, मेट्रो आईसहित उनीहरुको टिम बन्यो ।
त्यसपछि एक सिंगो टिमसहित सुपरस्पेसियालिटी सेवाहरु एकै छानामुनिबाट दिने गरी गत चैतमा भक्तपुरको गठ्ठाघरमा रहेको जर्मन हाउस अगाडिको भवनमा १५ हजार स्क्वायर फिट भाडामा लिए । त्यसको नाम राखे—आयु भवन । त्यसमा आयु क्लिनिक, युनी प्याथ ल्याब, समाज डेन्टल र मेट्रो आईको कन्स्ट्रक्सको काम अगाडि बढ्यो । ‘असार—साउनबाट हामीले कन्स्ट्रक्सनका कामहरु अगाडि बढायौं,’ उनले भने, ‘मंसिरबाट कन्स्ट्रक्सनलगायतका काम सकिए ।’
सबै काम सकिएपछि मध्यपुर ठिमी—३ मा रहेको आयु क्लिनिकको बिहीबार उद्घाटन गरिएको छ । श्रीपञ्चमीको अवसर पारेर क्लिनिकको भक्तपुर मानव आश्रमका वृद्धवृद्धा, बालबालिकाहरुले विधिवत रुपमा शुभारम्भ गरेका हुन् । ७ हजार स्क्वायर फिटमा रहेको क्लिनिकमा डा. सुरजसहित ४ जना संचालक र १५ जना कर्मचारी छन् । क्लिनिकमा ३२ जना विशेषज्ञ चिकित्सक सेवा दिनेछन् ।

‘आयु क्लिनिक सम्पूर्ण विशेषज्ञ सेवा एउटै छानामुनिबाट दिने उद्देश्यका साथ संचालनमा ल्याएका हौं,’ क्लिनिकका अध्यक्ष डा. सुरज भन्छन्, ‘यो सुपर स्पेसियालिटी क्लिनिक हो । विशेषज्ञमा पनि विशेषज्ञ डाक्टरहरुले यो क्लिनिकबाट सेवा दिनेछन् ।’ कार्डियोलोजी, न्युरोलोजी, ग्यास्ट्रोइन्टरोलोजी, पल्मोलोजी, नेफ्रोलोजी, युरोलोजी, स्पाइन सर्जरी, अर्थोस्कोपी, बाल रोग, जनरल सर्जरी, प्रसुति तथा स्त्री रोग, इनभिट्रो फर्टिलाइजेसनलगायतका सेवाहरु दिइने उनले जानकारी दिए । ‘यी सेवाहरु भक्तपुरमा थोरथोरै छन्,’ उनले थपे, ‘तर, सबै सेवा पाउनका लागि कोटेश्वर पारी नै जानुपर्ने अप्ठ्यारो नहोस् र यही डाक्टर आएर सेवा दिउन भन्ने उद्देश्यले यो क्लिनिक खुलेको हो ।’
आयुले २०—२२ वटासम्म विशेषज्ञ सेवा दिनेछ । क्लिनिकसँगै केही समयमै एमआरआई सुविधा पनि आयु भवनबाटै उपलब्ध हुनेछ । ‘थ्री टेस्लाको एमआरआई भक्तपुरकै पहिलो हुनेछ,’ उनले थपे, ‘यसको मुल्य नै १८ देखि २२ करोड रुपैयाँसम्म पर्छ ।’ यससँगै आयु भवनमा क्लिनिक, प्रयोगशाला, डेन्टल, एमआरआई र आई केयरमा गरी ४० करोडभन्दा बढी लगानी हुने डा. सुरज बताउँछन् । ‘हाम्रो उद्देश्य फाइन सेवा दिने हो,’ उनले थपे ।

डा. सुरज नेतृत्वका हिसाबले डाक्टरहरुको समूह मिल्यो भने क्लिनिकबाट सानो हस्पिटल हुँदैं ठूलो हस्पिटल बनाउन सकिनेमा विश्वास गर्छन् । ‘बिरामीको भावना पनि चिकित्सकहरुले बुझ्न सक्छन् । बीएण्डबीले ट्रमामा दिएको सेवा उत्कृष्ट छ, त्यो डाक्टरहरुले खोलेको अस्पताल हो,’ उनले भने, ‘चिकित्सकले नै खोलेका यस्ता धेरै अस्पताल छन् ।’ उनकाअनुसार अस्पतालमा डाक्टरहरुको सोच, डाक्टरकै लगानी र डाक्टरबाटै बिरामीको विश्वासमा अगाडि बढेमा त्यसले सफलता हासिल गर्छ । ‘डाक्टरले बिरामीलाई कहिल्यै पनि धोका दिन सक्दैन्,’ कुराको बिटमार्नुपूर्व उनले भने ।





