डा. मनिषा शर्मा पेशाले माइक्रोबायोलोजिष्ट हुन् । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमडी गरेकी उनले यो क्षेत्रमा एक दशक लामो अनुभव हासिल गरिसकेकी छन् । दाङमा जन्मेर काठमाडौंमा हुर्के बढेकी उनले पढाइ सकेपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा काम गरिन् । ग्राण्डीसँगै उनी काठमाडौं मेडिकल कलेजमा कामसँगसँगै एसोसिएट प्रोफेसरका रुपमा अध्यापनमा पनि सक्रिय भइन् ।
विशेषज्ञता हासिल गरेको झण्डै १० वर्ष जागिरे र अध्यापनमा जीवन बिताइन् । तर, जागिर र अध्यापनलै मात्रै रोकिरहन सकेन् । त्यही कारण आफ्नै केही फरक र नौलो गर्ने योजना बनाउन थालिन् । ‘दश वर्षको अनुभवपछि आफ्नै केही गरौँ भन्ने लाग्यो । एउटा राम्रो सेन्टरको स्थापना गरौं भन्ने सोचे,’ डा. मनिषा भन्छिन्, ‘प्रायजसो सेन्टरहरु प्याथोलोजिष्टहरुबाट संचालित हुन्छन् । त्यसैले मैले माइक्रोबायोलोजीलाई अलिक प्राथमिकता दिने गरी सेन्टर स्थापना गर्न खोजे ।’
एक वर्षअघि उनको दिमागमा बनेको यो सपनाले विस्तारै मूर्त रुप लिन थाल्यो । उनीसँगै जोडिए प्रबन्ध निर्देशक विनोद रेग्मीसहितका साथीहरु । ९ जनाको टिम बनेपछि गत मंसिरमा उनले ग्राण्डी र केएमसी दुवैतिरको जागिर छाडिन् । त्यसपछि ठाउँ खोज्न र अन्य तयारीहरु अगाडि बढाउन झण्डै दुई महिना लाग्यो । गत वर्ष माघदेखि ए ग्रेडको प्रयोगशला स्थापनाका सबै कामहरु अगाडि बढे ।
धुम्बाराहीको मीना भवनमा राम्रो प्रयोगशालाका लागि आवश्यक पर्ने पूर्वाधारहरु तयार गर्न थालियो । त्यही क्रममा ३—४ वटा छानिएका नामबाट उनको टिमले ‘एपोलो डाइग्नोष्टिक सेन्टर’ नाम चयन गर्यो । माघदेखि लगभग तीन महिनामा ४३ सय स्वाक्यर फिट क्षेत्रमा अत्याधुनिक ‘ए’ ग्रेडको एपोलो डाइग्नोनिष्ट सेन्टर तयार पारियो । ‘मेसिनरी जाँचदेखि टिम निर्माणसम्मका कुरा सबै समयमै सक्यौं,’ एपोलोकी ल्याब निर्देशक ३७ वर्षीषा डा. मनिषा सुनाउँछिन्, ‘पिसिआर टेष्टहरु सम्पूर्ण तवरमा माइटोकोन्ड्रममा पर्छ । त्यस्तै, कल्चरहरुको पनि खासै वास्ता गरिँदैन्, त्यसैले मल्टीस्पेसियालिटीलाई ध्यान दिँदै माइक्रोबायोलोजीलाई केन्द्रित गर्न उद्देश्यसहित ल्याब सुरु गर्यौं ।’
एपोलो डाइग्नोष्टिक औपचारिक रुपमा गत बैशाखबाट संचालनमा आएको हो । अहिले एपोलोले विस्तारै डाइग्नोष्टिक क्षेत्रमा आफूलाई स्थापित गर्दैछ । ‘हामी सुरुवाती चरणमै छौं,’ उनी भन्छिन्, ‘यो लामो दौडको घोडा हो । हामीले एपोलोको गुणस्तरमा विशेष ध्यान दिएका छौं ।’
अहिले एपोलोमा तीन जना प्याथालोजिष्ट, २ जना माइक्रोबायोलोजिष्टसहित ३० जनाभन्दा बढीको टिम सक्रिय छ । एपोलोले ५ सयभन्दा बढी जाँच सेवा प्रदान गरिरहेको छ । ‘ए ग्रेडको ल्याब भएकाले पनि हाम्रो क्षमता राम्रै छ । स्थापना भएर काममा लागेको थोरै समय भएकाले अझै पनि बजार बुझ्न र लिन केही समय लाग्छ नै,’ डा. मनिषा भन्छिन्, ‘तर, पनि हाल ५ सयभन्दा बढी जाँचहरु उपलब्ध छन् । यो जाँचहरुको संख्या अझ बढाउँदैं लैजान्छौं ।’
अहिलेसम्म आधुनिक सेटअप, अत्याधुनिक उपकरणहरुसमेत गरेर एपोलोमा झण्डै ८ करोड बढी लगानी भइसकेको छ । अझ सेवा विस्तार र अन्य काममा केही थप रकम खर्च हुने भएकाले यो लगानी केही बढ्न सक्ने उनी बताउँछिन् । डा. मनिषाकाअनुसार ‘ए’ ग्रेडको ल्याबलाई मल्टीस्पेसलाइज्ड गरेर एपोलोमा कामहरु भइरहेका छन् । ‘विशेषतः धेरै नमुनाहरु जाँचका लागि नेपालबाट बाहिर पठाइन्छन् । ती जाँच नेपालमै सम्भव गर्नका लागि यो सेन्टर खोलिएको हो,’ यी युवा उद्यमी चिकित्सकले प्रष्टयाइन्, ‘धेरै विधाका रोगहरुको पहिचान तथा उपचारलाई सहज बनाउन विभिन्न सेवा संचालनमा छन् र केही थपिने क्रममा छन् ।’
नेपालमा फंगस र त्यसको सेन्सेटीभिटीका परीक्षण कम हुने भएकाले मनिषाको ध्यान पनि त्यता गएको छ । ‘फंगसको सेन्सेटिभिटीसँग जोडिएका जाँचहरु नेपालमा बिरलै हुन्छन् । त्यसैले मलाई त्यो सेवा निकट भविष्यमै थप्ने मन छ,’ उनले भविष्यको योजना खोलिन्, ‘हामीसँग नेपालमा हुँदै नहुने जाँचहरु पनि यही उपलब्ध गराउने उद्धेश्य छ । पिसिआर भन्नासाथै मानीसहरुले कोभिडको भन्ने बुझ्छन् । तर, पिसिआरबाट क्षयरोगलगायतका अन्य कुराको पनि जाँच हुन्छ, अब यसलाई विस्तृत गर्दै जाने सोच पनि छ ।’
जागिरको कन्फर्ट जोनबाट आफ्नै व्यवसायमा गर्ने चुनौतीपूर्ण बाटोमा अंगालेकी उनका लागि यो नयाँ क्षेत्र हो । तर, उनी आत्मविश्वासी बनेर कामलाई अगाडि बढाइरहेकी छन् । जागिर गर्दा रिपोर्ट तयार गर्ने लगायतका कार्यहरु गर्नुपथ्र्यो भने हाल मानिसहरुसँग प्रत्यक्ष अन्तक्रिया गर्नेदेखि बजार बुझ्नेजस्ता कामहरुमा पनि थपिएका छन् । जनशक्ति परिचालन, गुणस्तर कायम गर्नमा पनि उनको प्रमुख जिम्मेवारी छ । ‘मेरा लागि एकदमै नयाँ पाटो हो, त्यसैले चूनौतीपूर्ण पनि छ,’ उनले कुराको बिट मार्नु पूर्व भनिन्, ‘यहाँबाट मैले धेरै नयाँ कुराहरु सिकिरहेकी छु ।’