ओम मेगाश्री फर्मास्युटिकल्स । झण्डै १५ वर्ष युरोपमा बिताएर नेपाल फर्किएका व्यवयासी अर्जुनकुमार श्रेष्ठको ‘ड्रिम प्रोजेक्ट’ हो । २७ वटाभन्दा बढी व्यवसायिक फर्ममा आफ्नो सीप र अनुभव तिखारिसकेका उनी अहिले नेपाली औषधी उत्पादनमा कर्पोरेट बेन्चमार्क खडा गर्ने लक्ष्यका साथ ‘ओम मेगाश्री फर्मास्युटिकल्स’लाई अगाडि बढाउन लागि परेका छन् ।
वि.सं. २०७५ जेठबाट चितवनको जुगेडीमा जग खन्न सुरु गरिएको यो फर्मास्युटिकल कम्पनी आफ्ना केही उत्पादनहरु आगामी मंसिरबाट बजारमा ल्याउदैंछ । चितवन भरतपुर महानगरपालिकामा पर्ने जुगेडी वातावरणीय दृष्टिकोणले उपत्यका हो । एकदम पातलो बसोबास रहेको उक्त ठाउँमा ६० प्रतिशत क्षेत्रफल हरियालीले ढाकिएको छ । हेर्दा तराई वातावरण हिसावले पहाडसँग मिल्दो यही ठाउँको ३ बिघा जग्गामा ओम मेगाश्री फर्मास्युटिकल्स फैलिएको छ ।
यो फर्मास्युटिकल्सले अहिले ७२ वटा प्रडक्टमा काम गरिरहेको छ । जसमध्ये ३२ वटा उत्पादनलाई औषधी विभागले अनुमति दिइसकेको छ । कार्डियो, डाइबटिजका औषधीबाट कम्पनीले उत्पादन सुरु गर्दैछ । क्रमसः जनरल मेडिसिन, ट्याब्लेट, क्याप्सुल, पाउडर, भेटलगायतका सबै किसिमका औषधी उत्पादन गर्ने लक्ष्य ओम मेगाश्रीको फर्मास्युटिकल्सको छ । ‘५ देखि ७ सय रेन्जमा औषधीहरु उत्पादन गर्न सकिन्छ,’ ओम मेगाश्रीका अध्यक्ष अर्जुन भन्छन्, ‘कम्पनीका उत्पादन बजारमा आउँदा १ सय जना कर्मचारी हुन्छन् ।’
सुरुमा फर्मामा ५ जना लगानीकर्ताबाट यो कम्पनी सुरु भएको हो । जब कोभिड—१९ महामारीपछि लकडाउन सुरु भयो ‘फ्युचर मेडिसिन’मा अर्जुनले अथाह सम्भावना देखे । त्यसपछि प्राइभेट लिमिटेडबाट कम्पनीलाई पब्लिक लिमिटेड लगे । अहिले फर्मामा १५—१६ जना लगानीकर्ताको टिम छ । त्यसको नेतृत्व अर्जुनले गरिरहेका छन् । ‘अब हामी आईपीओमा जाने तयारीमा छौं,’ उनले भने, ‘अहिलेसम्म हाइड्रोपावर, बैकिङलगायतका क्षेत्रहरुको आइपिओ आएको छ फर्मामा आइपीओ ल्याउने हामी पहिलो कम्पनी हुनेछौं ।’
यसको लागि प्रभु क्यापिटलसँग सहमति भएर १० करोड रुपैयाँको सेयर पब्लिकका लागि निकाल्ने तयारी अन्तिम चरणमा पुगेको छ । आफूले लगानी गरेको कम्पनी, आफैले उपभोग गरेर आफै डिभिडेन्ट खाने ‘क्लोज सर्कल’ निर्माण गर्ने सोच उनको छ । उनी ओम मेगाश्रीलाई आम पब्लिकको संस्था बनाउन खोजिरहेका छन् ।
ह्युमन मेडिसिन उत्पादनसँगै उनको लक्ष्य भेट सेक्टरमा जानेछ । किनभने, नेपालमा भेटनरी सेक्टरमा १५ प्रतिशतमात्रै स्वदेशी उत्पादनले ओगटेको छ भने ८५ प्रतिशत विदेशबाट आयात भइरहेको छ । उनले यही आयातलाई विस्थापन गरेर निर्यात बढाउने र राष्ट्रलाई टेवा पुग्ने हिसाबले काम गर्न खोजिरहेका छन् । फर्मा वाटर उत्पादन पनि उनको योजना छ । यो सबै प्रोजेक्टहरु अगाडि बढाउँदा ओम मेगाश्रीको लगानी १ सय २० करोड रुपैयाँ पुग्नेछ ।
जन्मभूमीमा व्यवसायिक फैलावट
मुलुकलाई औषधी उत्पादनमा आत्मनिर्भर बनाउने सपनाका साथ १५ वर्ष युरोपमा कठोर मेहनतले बनाएको विजनेश साम्राज्यलाई अर्जुन वाइवाइ गरेर एक दशकदेखि नेपालमै बढी क्रियाशील रहन थालेका छन् । केही बाँकी रहेका व्यवसायहरु बेल्जियममा बसिरहेकी उनकी श्रीमतीले सम्हालिरहेकी छन् ।
५० वर्षको उकालो हिडिरहेका उनी पर्वतको देवीस्थानमा जन्मिएका हुन् । वि.सं. २०२९ साल मंसिर २७ मा बुबा कुलप्रसाद प्रधान र आमा पवित्रा प्रधानका उनी सातौ सन्तान हुन् । उनका बुवा कुलप्रसाद देवीस्थानका तत्कालीन प्रधानपञ्च थिए । आमा भने घरव्यवहारमै सिमित थिइन् । उनका हजुरबुवामा पनि पर्वतका समाजसेवी दिए । उनका माइला बुवा उच्च अदालतका न्यायाधीससम्म भए । गाउँको गनेचुनेको शिक्षित र समाजसेवी परिवारका कान्छाका सन्तान भएकाले पनि अर्जुन कुनै पनि कुराको अभाव थिएन् ।
तर, उनी आफ्नो बाल्यकाल सामान्य ग्रामीण बालबालिकाझै बितेको बताउँछन् । ‘गाउँमा जन्मेको हुँदा विशिष्ट हुनुपर्छ भन्ने केही भएन्, त्यहाँ जे जस्तो अवस्थाको उपलब्ध थियो । ढुङ्गां, माटोमा नै खेलेर हुर्किएको हुँ,’ उनी स्मरण गर्छन्, ‘पानी बोक्ने, घाँस काट्ने, गाईवस्तु चराउने नै स्कुल जाने गर्थे ।’ उनी आफू पढ्दापढ्दै विहान एक घण्टा काकाका छोराहरुलाई पढाउने काम पनि गर्थे ।
उनको शिक्षादीक्षा जनता माध्यमिक विद्यालय देवीस्थानमा भएको हो । स्कुल जीवनमा उनलाई मनपर्ने विषय विज्ञान थियो । स्कुलमा पढाइबाहेकका उनी रुचि गायन, नृत्य, भलिबलजस्ता अतिरिक्त क्रियाकलापनमा पनि थियो । वि.सं. २०४५ सालतिर भलिबलको जिल्लास्तरीय टिमबाट उनले खेल्ने अवसर पाएका थिए । अर्जुन कक्षा १० सम्म नै सधैं कक्षामा मात्र होइन्, विद्यालयमा नै पहिलो हुन्थे ।
वि.सं. २०४६ सालमा उनले जनता माविबाटै एलएलसी उत्तीर्ण गरेका हुन् । पढाइमा सधैं अब्बल अर्जुनलाई उनका गुरु गंगाप्रसाद शर्माले एसएलसी बोर्डमै आउँछ भन्ने विश्वास गरेका थिए । तर, उनले गुरुको त्यो विश्वासलाई पूरा गर्न सकेनन् । अहिले पनि उनलाई गुरुको विश्वासलाई न्याय गर्न नसकेकोमा पछुतो भइरहन्छ । एसएलसीपछि उनी थप उच्च शिक्षाका लागि वि.सं. २०४७ सालमा त्रि–चन्द्र बहुमुखी क्याम्पसमा भए । पाल्पा तानसेनबाट उनले वि.सं. २०५० सालमा फिजिक्समा बिएस्सी सके । त्यसपछि स्नातकोत्तरका लागि त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा भर्ना भए । तर, पारिवारिक एवं व्यवसायिक कारणले पोखरा बस्नुपर्ने भएपनि उनले त्रिविको पढाइलाई अगाडि अगाडि बढाए । उनी स्नातकोत्तर दोस्रो वर्षसम्म अध्ययन गरे तर पूरा गर्न पाएनन् ।
त्यहीबेला उनमा अष्ट्रेलिया जाने सोच पनि पलायो । तर, पछि उनी एउटा भारतीय कम्पनीको एमआर भएर औषधी उधोगमा काम गर्न थाले । त्यसपछि उनी पर्वतमै विभिन्न व्यवसायमा संलग्न रहे । उनको म्याग्दीमा म्याग्दीमा ‘युगल फार्मेसी’ थियो । अहिले जुन निलगिरी फर्मेसीका रुपमा सञ्चालनमा छ । पर्वतमा दुई वटा क्लिनिक सञ्चालनमा गरे । रिटेल र थोक पसल पनि चलाए । उनको व्यवसायिक दायरा फैलिदैं थियो । वि.सं. २०५६ सालमा ‘फलेवास केबुल नेटवर्क’ चलाए भने कम्प्युटर इन्स्टिच्युट पनि सञ्चालन गरे । त्यो बेला उनका धेरैजसो व्यवसाय स्वास्थ्य, शिक्षा र सञ्चारका क्षेत्रमा थिए । त्यही कुरामा पनि अहिले पनि गर्व गर्छन् ।
अर्जुन उधोग वाणिज्य संघ महासचिव भए । त्यसबाहेक उनी अन्य विभिन्न संघसंस्थामा आवद्ध रहे । औषधी व्यवसायीसँग धौलागिरी अञ्चल शाखाको महासचिव, कुष्मा सहरी विकास समिति सदस्य सचिवका रुपमा पनि उनी सक्रिय रहे । त्यसबाहेक जेसिस, लायन्स, रेडक्रससँगै साहित्यमा रुचि भएकाले साहित्यिक क्षेत्रमा पनि क्रियाशील रहे । यही क्रममा उनले सन् १९९९ मा जेसिसबाट मकाउ, सन् २००० मा भारत र सन् २००३ मा डेनमार्कमा भ्रमण गर्ने अवसर पाए ।
स्वदेशबाट विस्थापित हुँदा…
अर्जुनकुमार श्रेष्ठको जीवनमा सबै कुरा राम्रैसँग चलिरहेको थियो । उनले स्थापना गरेका व्यवसायिक फर्महरु पनि राम्रै कमाइरहेका थिए । पर्वतमा उनी सामाजिक कार्यमा पनि उतिकै सक्रिय थिए । तर, यी सबै राम्रा कुराहरुबीच एक कुरा नराम्रो भइरहेको थियो । त्यो बेला मुलुकमा माओवादी युद्ध चर्किरहेको थियो । मर्ने र मार्ने श्रृखलाले देशको माहौल नै विथोलिरहेको थियो ।
अर्जुनले सोचेका पनि थिएनन्, कुनै दिन सिंगो मुलुकलाई बिथोलिरहेको त्यो द्वन्द्वको आगो आफूसँग आइपुग्छ भनेर । तर, एकदिन त्यही भयो । उनको व्यवसायिक यात्रामात्रै होइन्, उनी स्वयंम द्वन्द्वको चपेटामा परे । यही क्रममा उनको बा ३ च ६९३१ नम्बरको जीप माओवादी कब्जामा प¥यो । त्यसबाट उत्पन्न समस्याले उनलाई आफ्नै मुलुकबाट निर्वासित हुनुपर्ने वातावरण सिर्जना ग¥यो ।
सायदै, उनले कल्पना गरेका थिएनन्, त्यो दिन । २०५९ जेठ १५ । जुन दिन उनी आफ्नो अथक परिश्रमबाट स्थापना गरेका फर्म, परिवार र मातृभूमी छोड्दै बेल्जियम जान विवस भए । त्यतिबेला उनको भर्खरै एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । ‘आलो घाउ लिएर म विदेश हानिए,’ उनले सुनाए, ‘श्रीमती साढे दुई वर्षको छोरा च्यापेर सबै कुरा छोडेर बेल्जियम गएर बसे ।’ सबै निराशा र पीडाबीच उनले एउटै सकारात्मक उर्जा बोकेर बेल्जियम गएका थिए । त्यो थियो उनको आफन्त र शुभचिन्तकले ढाडस दिदैं भन्थे—‘तिमी विदेश गएपनि सफल व्यवसायी बन्छौं ।’ त्यसले भर्खरै निको भैरहेको घाउँ बोकिरहेका उनमा बाँच्ने उर्जा पैदा हुन्थ्यो ।
बेल्जियममा संघर्षः कामदारदेखि व्यवसायीसम्म
बेलजियम गएको ६ महिना उनले त्यहाँको एक कम्पनीमा म्यानेजर भएर काम गर्ने मौका पाए । उद्यम प्रेमी उनी जागिरमै बसिरहन सकेनन् । डेढ वर्षपछि पार्टनरसीपमा ग्रोसरी संचालनमा ल्याए । त्यो खासै सफल भएन् ।
असफलताबाट डराउने उनको बानी छैन । त्यही कारण उनले बेल्जियम उद्यममा अर्को प्रयास थाले । परिणाम, सन् २००६ मा ‘ओसियन सुसी’ नामक जापनीज खाना पस्कने रेष्टुरेन्ट खोले । त्यसपछि सन् २००७ जुलाईमा ओसीएन सुसीकै नामकै अर्को रेष्टुरेन्ट सञ्चालनमा ल्याए । सन् २००९ मा उनले यही नामको तेस्रो रेष्टुरेन्ट विस्तार गरे । फेरि एउटा रेष्टुरेन्ट थपे । उनको रेष्टुरेन्ट संख्या चार पुग्यो । उनले फरक—फरक नामका सुसी रेष्टुरेन्टहरु खोलेर व्यवसायलाई विस्तार गर्दै गए ।
त्यसबाहेक अर्जुनले अन्य ठाउँमा पनि व्यवसायलाई डाइभर्सिभाइड गर्दै गए । हालसम्म उनले बेल्जियममा मात्रै २७ वटा व्यवसायमा लगानी गरिसकेका छन् । उनका सबै रेष्टुरेन्टमा पार्टनरसीपमा नै हुन् । अर्जुनले सन् २०१४ पछि बेल्जियममा स्टार होटल लगानी सुरु गरे । त्यही क्रममा उनको जापानमा व्यवसाय गरिरहेका भवन भट्टसँग व्यवसायिक सहकार्य भयो । भवनलगायतका अन्य पार्टनरहरुसँग उनले विभिन्न स्टार होटलहरुमा लगानी गरे ।
वि.सं. २०७३ सालदेखि उनी नेपालमै केन्द्रीत भएर व्यवसायमा सक्रिय रहन थाले । अहिले अर्जुनले बेल्जियमका धेरैजसो व्यवसायबाट हात झिकिसकेका छन् भने केहीमा समझदारीअनुसार लेनदेन बाँकी छ । अहिले पनि उनका केही व्यवसायहरुमा भने लगानी बाँकी नै छ । ‘अहिले नेपालमै धेरै समय बस्नुपर्ने भएकाले ४—५ वटा कोर व्यवसायमा मात्रै आवद्ध छु,’ उनले भने, ‘अरु व्यवसाय साथीहरुलाई ह्याण्डओभर गरिरहेको परिस्थिती छ ।’
ड्रिम ओम मेगाश्री
अर्जुनले नेपालमै रहँदा पनि औषधीको क्षेत्रमा काम गरेका थिए । म्याग्दी फार्मेसी खोलेर काम गर्दा उनले औषधीको उच्च मुल्य, अधिकांश भारतीय औषधीलगायतका यावत समस्याहरु देखेका थिए । त्यहीबेला उनले औषधीमा नेपालमा पर्याप्त अवसरहरु रहेको खुट्याएका थिए ।
त्यही कारण उनको औषधीमा टस बसेको थियो । यूरोपमा गएपछि पनि उनले औषधीमा काम गर्ने धेरै प्रयास गरे । भाषामा दख्खल नभएको लगायत यावत कारणले उनले औषधीमा काम गर्न सकेनन् । त्यही कारण बाध्यताले उनी रेष्टुरेन्ट व्यवसायमा छिरेका हुन् ।
बेल्जियमा रेष्टुरेन्ट चेन स्थापना गरेपछि उनी सन् २००९ मा नेपाली व्यवसायी बेलिज्यमको अध्यक्ष चुनिए । त्यही बेला उनले राजदूतवाससँग मिलेर तालिमहरु आयोजना गरे । व्यवसाय सम्बन्धी तालिमहरु दिए । आफूले गरिरहेको व्यवसायका रेसिपीहरु साथीहरुलाई दिएर व्यवसाय गर्न उत्प्रेरित गरे । ‘मैले झण्डै ७ दर्जनजति कुकहरु नै डेभलप गरे,’ उनले भने, ‘साथीहरुलाई विजनेस डेभलप गर्न सहयोग गरे ।’ अर्जुनकै अग्रसरतामा बेल्जियमा इमान्दार र परिश्रमीको पहिचान बनाएका नेपालीले व्यवसायी र उद्यमीको पहिचान दिलायो । अहिले बेल्जियमा नेपालीका ३ सय बढी रेष्टुरेन्टहरु सञ्चालनमा छन् ।
नेपाली व्यवसायी बेल्जियमको अध्यक्षका रुपमा ३० महिना काम गरे । सन् २००९ मा बेल्जियममा नामी औषधी उत्पादक मार्क जुसी उनको ग्राहकमा रुपमा रेष्टुरेन्टमा आएका थिए । त्यही भेटघाटले अर्जुन र मार्कबीच नेपालमै त्यही कम्पनीसँगको सहकार्यमा औषधी उत्पादन गर्ने सहमति बन्यो । तर, मार्कले पनि उक्त कम्पनी बेचे र त्यो सहमति त्यतिकै सकियो । तर, सन् २०७३ मा उनी अर्जुन आफ्नै पहलमा नेपालमा फर्मास्युटिकल्स मेगा प्रोजेक्ट स्थापनामा लागे । जसको परिणाम नै मान्नुपर्छ, मंसिरबाट नेपालमा ओम मेगाश्रीका उत्पादन बजारमा आउँदैछन् । जसबाट उनले बेल्जियमबाट पनि टेक्नीकल सपोर्ट लिइरहेका छन् ।
एनआरएनए अभियन्ता
नेपाली व्यवसायी बेल्जियम अध्यक्षका रुपमा सक्रिय रहकै बेला सन् २००९ मा उनको भूमिका देखेपछि एनआरएनए सक्रिय रहन आग्रह गरियो । एनआरएनए अगुवाहरुको आग्रहलाई उनले स्वीकार गरेर एनआरएन अभियानमा जोडिए । उनी एनआरएन आईसीसीमा संगठित भए ।
सन् २००९ देखि २०११ सम्म उनी एनआरएन आईसीसीको केन्द्रीय सदस्यको रुपमा सक्रिय रहे । सन् २०११ देखि २०१३ सम्म त्यही भूमिकामा कार्यकाल दोहो¥याए । सन् २०१३ देखि २०१५ मा युरोपको संयोजक जिम्मेवारी सम्हाले । युरोप संयोजकले युरोपका २७ वटा देशको देशलाई नेतृत्व गर्नुपर्छ ।
त्यसपछि सन् २०१५ देखि २०१७ सम्म पुनः आईसीसी सदस्यको रुपमा काम गरे । अर्जुन सन् २०१९ मा आईसीसी उपाध्यक्ष भएर काम गरे ।