भक्तपुरको कटुन्जेमा जन्मिएका हुन्, डा. सिजन थापा । विशेषज्ञ प्याथालोजिष्ट डा. सिजनले नेपालगन्ज मेडिकल कलेजबाट सरकारी छात्रवृत्तिमा एमबीबीएस गरेका हुन् । छात्रवृत्ति करारअन्तर्गत उनले बर्दियाको सोरहवा प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष सेवा दिए । त्यहीबेला सरकारले बर्दियामा पाइलट प्रोजेक्टका रुपमा सीबीएनसीपी अगाडि बढाएको थियो । त्यो प्रोजेक्टमा काम गर्ने क्रममा उनले व्यवस्थापन सम्बन्धी अनुभव हासिल गर्ने अवसर पाए ।
डा. सिजनले सन् २०१६ मा नेशनल मेडिकल कलेजबाट प्याथालोजीमा एमडी गरे । त्यसपछि झण्डै डेढ वर्ष नेसनल मेडिकल कलेजमै असिस्टेन्ट लेक्चरका रुपमा पढाए । काठमाडौंवासी भएकाले उनी धेरै समय त्यही अडिरहन सकेनन् । काठमाडौं फर्किए । काठमाडौं आएपछि बयोधा अस्पतालमा केही समय काम गरे । त्यसपछिको केही समय इन्टरपीड डाइग्नोष्टिकमा काम गरे । त्यसपछि एसआरएलमा गए । एसआरएलमा ४ वर्ष काम गरेपछि उनमा जागिरभन्दा आफ्नै केही गर्ने सोच विकास भयो ।
डा. सिजनले आफ्नै केही गर्ने सोचिरहेका बेला उनका साथीहरु अजय यादव, सन्जीव केसी, आशिष साह, दिपकराज जोशीलगायतको टिमले आफ्नै डाइग्नोष्टिक सेन्टर स्थापना गर्ने योजना सुनाए । त्यो योजना डा. सिजनलाई पनि मन प¥यो । साथीहरुको टिम बनेपछि आफ्नै डाइग्नोष्टिक सेन्टर स्थापना गर्ने योजनामा लागे । आखिर जागिरको कन्फर्ट जोनबाट उनलाई उद्यममा आउन प्रेरणा कसरी प्राप्त भयो ? ‘टिमले नै आँट दिलाएको हो,’ उनी भन्छन्, ‘यत्रो वर्षमा कन्फर्ट जोनबाट बाहिर ननिस्केर उन्नति भएको पनि देखिएन । मेहनत गर्दा कन्फर्ट जोनबाट बाहिर निस्कँदा पनि केही हुँदैनजस्तो लाग्यो ।’
कोभिड—१९ महामारी सुरु हुनुअघि नै डा. सिजनसहितको टिमको डाइग्नोष्टिक सेन्टर स्थापना गर्ने योजना अगाडि बढाएको हो । लगतै, कोभिड—१९ को महामारीका सुरु भयो । त्यसपछि मुलुकमा लकडाउन सुरु भयो । उनको टिमले काम अगाडि बढाउन सकेन् । लोकेसन, ठाउँ छनोटजस्ता लजिष्टिक कुराहरुले पनि डा. सिजनको टिमको योजनामा केही ढिला हुन गयो ।
त्यसपछि चुच्चेपाटीस्थित ह्यात होटलको अपोजिट साइटमा एक घरको २३०० स्वाक्यर फिट भाडामा लिए । चुच्चेपाटीमा क्षेत्रमा प्रयोगशालाको अभाव भएकाले पनि यही क्षेत्र रोजेको उनी बताउँछन् । ‘चाबहिलमा ल्याबहरु छन्, त्यसपछि सिधैं अत्तरखेल पुग्नुपर्छ,’ उनी चुच्चेपाटी रोज्नुको कारण खोल्छन्, ‘यो बीचको भागमा सुविधासम्पन्न प्रयोगशालाको अभाव छ । वौद्धवासीलाई सहज सेवा उपलब्ध गराउने लक्ष्य हो ।’ त्यसबाहेक त्यो क्षेत्रबाट भारत जाने परीक्षणहरु नेपालमै रोक्ने योजना पनि उनको ठाउँ छनोटसँग जोडिएको छ ।
ठाउँ भाडामा लिएपछि पनि कोभिड—१९ कै समय भएकाले काम गर्ने मान्छे पाउन समस्या भयो । एक काम गर्ने समूहसँग कुरा मिल्यो । वि.सं. २०७८ बैशाखबाट डाइग्नोष्टिक सेन्टर स्थापनाका लागि कन्स्ट्रक्सनको काम अगाडि बढ्यो । सबै जना साथीहरुले त्यही बीचमा नामहरु प्रस्ताव गरे । वौद्ध एरियामा ल्याब स्थापना गरेकाले कम्युनिटीले पनि बुझ्ने गरी ‘सुत्र’ वुद्धको दर्शन भएकाले यही नाम छनोट गरियो ।
‘नाम पनि छोटो, कसैले एक पटक सुनेमा पनि याद भइहाल्ने,’ डा. सिजन भन्छन्, ‘त्यहीकारण यो नाम छनोट गरेका हौं ।’ काम गर्ने सिलसिलामा पनि आवश्यक सामान ल्याउने काम सहज नभएकाले केही समय लम्बियो । झण्डै एक वर्षमा ‘सुत्र डाइग्नोष्टिक प्रा.लि.’को निर्माण, उपकरण व्यवस्थापन र टिम निर्माणका कामहरु सम्पन्न भए । ‘चैतसम्ममा सबै काम सक्यौं, मेसिनहरु पनि इन्स्टल भइसकेका थिए,’ उनले थपे । क्वालिटी कन्ट्रोललगायतका कुरालाई कन्फर्म गरेपछि बैशाख २०७९ बाट सुत्र डाइग्नोष्टिक प्रा.लि.ले सेवा दिन सुरु ग¥यो ।
सुरुवातलाई संघर्षको यात्रा पनि मानिन्छ । डा. सिजनको टिमका लागि सुत्र डाइग्नोष्टिकका सुरुवाती दिनहरु सहज थिएनन् । ‘सुरुका दिन अप्ठ्यारो नै थिए, अहिले विस्तारै सहज हुँदैंछ,’ उनले सुनाए । १२ जना प्राविधिक कर्मचारीसहित सुरु भएको सुत्रमा अहिले ३० जनाको टिम छ । वी क्याटागोरीको प्रयोगशाला सुत्रमा डा. सिजन ‘हेड अफ ल्याब्रोटोरी’का रुपमा स्याम्पल आउनेदेखि रिपोर्ट डिस्प्याच हुनेसम्मका सबै प्राविधिक कामहरुको नेतृत्व गर्छन् । क्वालिटी कन्ट्रोल पनि उनकै जिम्मामा छ ।
महंगा र अत्याधुनिक मेसिनहरुमा बढी लागत परेका कारण सुत्र डाइग्नोष्टिक प्रा.लि.मा ५ करोड लगानी भएको छ । सञ्चालनको ६ महिनामा स्यापलको फ्लो हेरेर लगभग ४ सय ‘इन्डीभिजुअल टेष्ट इन्टरड्युस’ गर्ने योजना बनाएको डा. सिजन बताउँछन् । ‘हुन सक्छ त्यसका लागि ८ महिना लाग्ला,’ उनले भने, ‘तर, हामीले ४ सय वटा टेष्ट इन्टरड्युस गर्ने प्लानमा छौं ।’ उनकाअनुसार भविष्यमा सुत्र डाइग्नोष्टिका सेवाहरु विस्तारै गर्दै लैजाने योजना छ । अर्को वर्ष इम्युनो हिस्ट्रोकेमेष्ट्री सुरु गर्ने योजना व्यवस्थापनको छ । सुत्रमा अहिले फ्लोसाइट्रोमेट्री र इम्युन हिस्टोकेमेष्ट्रीबाहेका सेवा उपलब्ध छन् ।