माछापोखरीकी डा. सरिता ढकालले छात्रवृत्तिमा युसीएमएसबाट बिडिएस सकिन् । दुई वर्ष बाग्लुङको धौलागिरी अस्पतालमा करार छात्रवृत्तिअन्तर्गत काम गरिन् । त्यसपछि केही वर्ष कान्तिपुर डेन्टल कलेजमा काम गरेपछि उनी एमपीएच गर्न विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान गइन् । सन् २०१७ मा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमपीएच सकेपछि डा. सरितालाई केही यस्तो गर्नु थियो—जहाँ आफूले हासिल गरेको क्लिनिकल तथा व्यवस्थापन दुवै ज्ञानलाई सदुपयोग गर्न सकियोस् ।
त्यही अवसरको पर्खाइमा रहेका बेला उनको यो चाहनासँग जोडिन आइपुगे उनका ‘ब्याचमेट’सहित टोखाका ८ जना स्थानीय साथीहरु । जो ‘स्थानीयद्वारा स्थानीयकै लागि’ भन्ने कन्सेप्टका साथ टोखा नगरपालिका र आसपासका क्षेत्रलाई गुणस्तरीय र सुलभ विशेषज्ञ स्वास्थ्य सेवा दिने योजना बनाइरहेका थिए । त्यसका लागि उनीहरु अत्याधुनिक मल्टीस्पेसियालिटी क्लिनिक संचालन गर्न चाहन्थे । त्यसमै जोडिइन्, डा. ढकाल पनि ।
कोभिड—१९ महामारीअघि नै यो टिमको क्लिनिक खोल्ने टिमको योजना बन्यो । त्यसका लागि उनीहरुले टोखा—७ तिलिङटार (दाहाल गौडा)मा एक घरको २६ सय स्क्वायर फिट क्षेत्रफलको दुई तला भाडामा लिए । वि.सं. २०७७ चैतबाट उनीहरुले क्लिनिकका लागि आवश्यक इन्टेरियरको काम सुरु गरे । नाम राखे—‘ग्रीन लाइफ हेल्थकेयर मल्टी स्पेसियालिटी क्लिनिक एण्ड डाइग्नोष्टिक’ ।
ग्रीनलाइफ भन्ने शब्द जताततै हराभर र राम्रोको प्रतिक भएकाले रोजिएको डा. सरिता बताउँछिन् । ‘लाइफलाई ग्रीनरी बनाउनुपर्छ भनेर हामीले यही नाम उचित ठान्यौं,’ उनले कारण खोलिन् । क्लिनिकको थिम राखियो—‘स्थानीयद्वारा स्थानीयकै लागि’ ।

कोभिड—१९ लगायतका यावत कारण वि.सं. २०७८ भदौंमा मात्रै ग्रीनलाइफ हेल्थकेयरको औपचारिक उद्घाटन भएर सेवा प्रदान गर्न सुरु गरेको हो । साढे २ करोड बढी लगानी रहेको ग्रीनलाइफ हेल्थकेयरमा विशेषज्ञ चिकित्सा परामर्श सेवाअन्तर्गत मेडिसिन, जनरल सर्जरी, गाइनो, साइक्याट्रिक, पेडियाट्रिक, ट्रमा, इएनटी, ग्यास्ट्रो, बाथ, नसा रोग, डेन्टल, एनेस्थेसियालगायतको ओपीडी सेवा २५ जना बढी विशेषज्ञ चिकित्सकले दिन्छन् । त्यसबाहेक क्लिनिकमा इको—कार्डियोग्राफी, भिडियो एक्स–रे, डिजिटल एक्सरे, फिजियोथेरापी सेवा पनि छन् । क्लिनिकलाई प्रविधियुक्त बनाउन ग्रीनलाइफलले इलेक्ट्रिक मेडिकल रेकर्ड सिष्टममा काम गर्छ भने ग्रीनलाइफ हेल्थकेयरको एप पनि सञ्चालनमा छ ।

१६ जना कर्मचारीबाट सुरु भएको ग्रीनलाइफमा अहिले २० जना कर्मचारी काम गर्छन् । ग्रीनलाइफले आफ्नै फार्मेसी सेवा पनि उपलब्ध छ । ‘सी ग्रेडको ल्याब र फार्मेसी आफ्नै छ । ल्याबमा आउट सोर्स एसआरएलबाट गर्छौं,’ डा. सरिता थप्छिन्, ‘एलएफटी, हेमाटोलोजी र बायोकेमेस्ट्री अटोमेटिक एनलाइजरबाट हुन्छ । सुगर, सीआरपी, प्याप स्क्रिन, आरए फ्याक्टर, प्याप स्मियरजस्ता सेवा हाम्रोमै ल्याबमा उपलब्ध छन् ।’

‘काठमाडौंको आफू बसेको ठाउँमा स्थानीयबाटै स्थानीयलाई सेवा दिऔं भन्ने योजनाका साथ स्थानीय चिकित्सकहरु मिलेर क्लिनिक सुरु गरेका हौं,’ ग्रीन लाइफकी ३५ वर्षीया प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा. सरिता भन्छिन्, ‘हाम्रोमा फरक के छ भने अन्तर्राष्ट्रिय सेवा पनि सुरु गर्न लागेका छौं ।’ ग्रीनलाइफले सुरु गर्न लागेको अन्तर्राष्ट्रिय सेवामा विदेशमा रहेका छोराछोरीले आफ्ना बुवाआमा लागि उतैबाट ओपीडी टिकट लिएर घरमै स्वास्थ्य जाँचका लागि डाक्टरलाई समेत बोलाउन सक्नेछन् ।
‘इमर्जेन्सी पर्दा, आउन सक्ने अवस्था नहुने हुँदा अनलाइनबाट नै सम्पर्क गरेर अपोइन्टमेन्ट लिएर अनलाइननै भुक्तानी समेत गर्न मिल्ने गरी सेवा दिने तयारीमा छौं,’ उनले सुनाइन्, ‘केही समयमै यो सेवामार्फत बुबाआमाको उपचार गराउन सकिनेछ ।’ डा. ढकालकाअनुसार क्लिनिकमा उपलब्ध नभएका सेवाहरुबाहेकका डाक्टरहरुसँग सम्पर्क गर्न पनि क्लिनिकले सहयोगी भूमिका खेल्नेछ ।
स्थानीयस्तरकै चिकित्सकहरुबाट स्थानीयलाई नै सेवा दिने उद्देश्यले खोलिएको ग्रीनलाइफ हेल्थकेयरमा अहिले स्थानीयहरु बिरामीहरु नै बढी उपचारका लागि आउने गर्छन् । सुरुवाती दिनमा बिरामीको संख्या एकदमै कम भएपनि अहिले ग्रीनलाइफले विस्तारै बिरामीको विश्वास आर्जन गर्दै गइरहेको छ । अहिले औसतमा दैनिक २० जना बिरामीले क्लिनिकबाट सेवा लिने गर्छन् । ‘क्लिनिकको अवस्था आशाजनक छ,’ डा. सरिता भन्छिन्, ‘हामी हाम्रो योजनामा सफल नै छौं ।’ ग्रीनलाइफले स्थानीयलाई केन्द्रीत गरेर होल बडी बेसलाइन, होल बढी बेसिक, होल बडी प्रिमियम र होल बढी एडभान्सका प्याकेजहरु बनाएर पनि छुट अफर दिइरहेको डा. सरिता बताउँछिन् ।
समुदायमा आधारित अस्पताल बनाउने उद्देश्यका साथ ग्रीनलाइफ हेल्थकेयर सुरु गरिएको हो । त्यही कारण केही समयमै ग्रीनलाइफ व्यवस्थापन टोखा नगरपालिकाकावासी समुदाय, टोखा र आसपासमा बस्ने चिकित्सकको टिम बनाउने योजनामा काम गरिरहेको छ । स्थानीय समुदाय र स्थानीय चिकित्सकहरुको ३ सयदेखि ५ सय जनाको टिम बनाउने योजना उनले सुनाइन् । स्थानीय चिकित्सक र समुदायको ठूलो समूह निर्माण गरेपछि क्लिनिक समुदायिक अस्पतालमा अपग्रेड गरिनेछ ।
‘अस्पतालको नाफाअनुसार स्थानीयलाई कति छुट दिन सकिन्छ । २० प्रतिशत हुँदै पछि विस्तारै १०० प्रतिशत पु–याउने लक्ष्य रहेको छ,’ उनले भनिन्, ‘सहुलियतपूर्ण, सेवाग्राहीमैत्री र प्रविधिमैत्री सेवा दिने हाम्रो उद्देश्य हो ।’ ग्रीनलाइफ हेल्थकेयरलाई भविष्यमा नाफामुखीभन्दा सेवामुखी स्वास्थ्य संस्थाका रुपमा विकास गर्ने योजना ग्रीनलाइफ व्यवस्थापनको छ ।



