लाजिम्पाटबीच वस्तीमा एउटा ठूलो घर छ । ४ रोपनी क्षेत्रफलमा फैलिएका यो घरको वरपर हरियाली छ । ठाउँ—ठाउँमा ढकमक्क फूलहरु फुलेका छन् । घरभित्रको वातावरण पनि उस्तै छ । भित्ताहरुमा आकर्षक पेन्टिङ गरिएको छ, कुनै आर्ट ग्यालरीजस्तै । कोठा फाइभ स्टार होटलमा छिरेकै झल्को दिन्छन् ।
तर, यो न आर्ट ग्यालरी हो न त फाइभ स्टार होटल नै हो । यो अत्याधुनिक उपकरणले सु-सज्जित श्रीद्धि इन्टरनेशनल हस्पिटल हो । ट्राभल मेडिसिनको सेवा दिने उद्देश्यले खोलिएको अस्पताल । पर्वतका ३९ वर्षीय युवा चिकित्सक डा. गिर्वाणराज तिमिल्सिनाको उत्कृष्ट सिर्जनशीलता हरेक कोठाको सजावट, वालहरुको डिजाइनमा झल्किन्छ । विदेशी पर्यटकलाई सेवा दिने मूल उद्देश्यका लागि खोलिएको श्रीद्धि अस्पताल २ महिनाअघिबाट सञ्चालनमा आएको हो ।
विदेशमा स्वास्थ्य सेवाबारे ज्ञान हासिल गरेका डा. गिर्वाणले त्यहीका उत्कृष्ट अस्पतालको झल्को दिने गरी अस्पताल बनाएका छन् । विदेशमा पर्यटकहरुका लागि हस्पिटलमा दिइने हस्पिटालिटी र उत्कृष्ट सेवाबारेमा राम्रो जानकार उनले त्यो ज्ञान अस्पतालमा खर्चेका छन् । पढाइ सकेर नेपाल फर्केपछि उनले झण्डै आधा दर्जन बढी अस्पतालमा काम गरे । तर, पर्यटकले खोजेजस्तो ‘वान टु वान सर्विस’ नेपालका कुनै पनि अस्पतालले दिन सकेका थिएनन् ।
त्यहीलाई पूर्ति गर्ने उद्देश्यले उनले तीन जना साथीहरुसँग मिलेर पर्यटकलाई नै सेवा दिने हेतुले सन् २०१६ मा एरा हस्पिटल सञ्चालनमा ल्याएका थिए । त्यहाँबाट उपचार सेवा दिँदै गर्दा अचानक कोभिड–१९ महामारी सुरु भयो । एरा अस्पतालको ठाउँ सानो थियो, आईसीयु थिएन् । ‘मैले वातावरण र उपकरण अझै चाहिने देखे,’ उनले सुनाए, ‘त्यो ठाउँ सानो भएपछि नयाँ ठाउँमा उत्कृष्ट अस्पताल सुरु गर्नुपर्छ भन्ने सोचे ।’ त्यही सोचको परिणाम नै हो—उनले आफ्नै स्वामित्वमा श्रीद्धि इन्टरनेशल हस्पिटल स्थापनाको काम अगाडि बढाए ।
श्रीद्धिमा हरियालीपूर्ण रमणीय वातवारणको आनन्द बिरामीले उठाउन पाउनेछन् । ‘यहाँ सबै सुविधा छ । विदेशी ट्राभलरहरुको लागि यो विशेष अस्पताल हो,’ उनले भने, ‘सबै अत्याधुनिक उपकरण छन् । बेडहरु रिमोर्टवाला छन् । सबै बेडमा मोनिटरयुक्त उपकरण छन् ।’ २५ बेडको श्रीद्धि अन्तर्राष्ट्रिय अस्पताल साँच्चै गौरव गर्न लायक नै छ ।
नेपाल घुम्न आउने सबैजसो पर्यटकहरुको स्वास्थ्य बिमा हुन्छ । ‘बिमाले लाखौँ खर्च लाग्ने उपचार कम मै हुन्छ,’ उनले भने, ‘विशेषगरी अल्टिटयुड सिक्नेस, ट्रमा भएर पर्यटक अस्पताल आउँदा हेली रेस्क्युदेखि सम्पूर्ण उपचार बिमाले गर्छ ।’ यी सबै व्यवस्था पनि श्रीद्धिले पूर्ण रुपमा मिलाएको छ । ‘त्यो बिमाको ब्याकअपको कन्सेप्ट ५ वर्षदेखिकै हो । तर, यहाँ मैले त्यसैलाई परिस्कृत गरेर विस्तार गरेको हो,’ उनले थपे । अहिले श्रीद्धिमा डेन्टलबाहेका सबै विभाग छन् । उनी केही समयमै डेन्टल विभाग पनि थप्ने योजनमा छन् । किनभने, विदेशमा डेन्टल उपचार निकै महँगो पर्छ । ‘अब डेन्टल बिमा व्यवस्था गर्ने सोच छ,’ डा. गिर्वाणले सुनाए, ‘विदेशीहरुलाई पनि डेन्टल उपचार गर्दा अलि सस्तो परोस् ।’
यस अस्पतालको अर्को विशेषता भनेको विश्वभर मान्यता प्राप्त खोप उपलब्ध गराउनु पनि हो । कुनै पनि देशमा जाँदा त्यस ठाउँमा चाहिने र कुनै पनि उमेरकालाई विश्वस्तरीय खोप सजिलै उपलब्ध गराइने डा. गिवार्णले बताए ।
करोडौंको लगानीमा खुलेको श्रीद्धि अस्पतालमा अहिले ७५ जना स्टाफ कार्यरत छन् । जसको मासिक खर्च नै ३०-४० लाख हाराहारीमा छ । ‘अझै केही स्टाफ राख्न बाँकी छ,’ उनले भने, ‘स्टाफ संख्या १ सय बढी पुग्छ होला । कन्सल्ट्यान्ट चिकित्सक फुल टाइम पनि हुनुहुन्छ ।’ भविष्यमा आफैं श्रीद्धि अस्पताललाई परिस्कृत गर्दै आफ्नै हेलीप्याड राख्ने सोच उनको छ ।
‘हाम्रो देश नै पर्यटनको लागि राम्रो क्षेत्र हो । यहाँको उपचारबारे उनीहरुले बुझिसकेका हुन्छन्,’ उनले सुनाए, ‘त्यसकारण यहाँको उपचारबाट निकै खुसी हुने गरी हामी काम गर्छौ ।’ डा. तिमिल्सिनाले लुक्ला गोकियोमा पनि त्यहीका पर्यटन व्यवसायीसँग मिलेर गोकियो इन्टरनेशनल क्लिनिक संचालनमा ल्याएका हुन् । त्यहाँबाट प्राथमिक आकस्मिक सबै सेवा डाक्टरबाट नै उपलब्ध गराएका छन् ।
केही नौलो गर्न चाहने चिकित्सक
डा. गिर्वाण पर्वतको मोदीमा जन्मिएका हुन् । बुवा शोभाराम तिमिल्सिना र आमा स्व. सिता देवीका दुई सन्तानमध्ये उनी कान्छा हुन् । उनको परिवार पनि विजनेशमै थियो ।
डा. गिर्वाणको प्रारम्भिक शिक्षादीक्षा त्यहीको स्थानीय स्कुलबाट सुरु भएको हो । उनले कास्कीको नागडाँडास्थित मर्निङ स्टारबाट एसएलसी दिएका हुन् । प्लस टु भने काठमाडौंको निष्ट कलेजबाट पास गरे । नेपाल मेडिकल कलेज अत्तरखेलबाट सन् २००६ मा उनले एमबीबीएस उत्तीर्ण गरे ।
केही समय नेपाल मेडिकल कलेजमै काम गरे । त्यसपछि उनले विभिन्न अस्पतालमा ५—६ वर्ष बिताए । ‘उच्च शिक्षा हासिल गर्न डेनमार्क गएर नेपाल फर्किएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा काम गर्न थाले । कार्डियोमा बढी रुचि भएका भएकाले कार्डियो विभागमा काम गरे,’ उनले भने । त्यहाँ दुई वर्ष काम गरे ।
विदेशमा बसाइँका क्रममा उनले विदेशीहरुले नेपाली अस्पतालमा आउँदा पाउने सुविधा र उपचार शैली अलि फरक पाए । उनीहरुले अलि व्यवस्थित तरिकाले आफ्नो उपचार गर्न खोजिरहेका हुन्छन् । हो, यही कुराले डा. गिवार्णको
मन छोयो । र नेपालमा एउटा राम्रो ट्राभल मेडिसिन अस्पतालको खाँचो छ भन्ने सोचेर ट्राभल मेडिसिनमा होमिए ।
उनीहरुको कन्सेप्ट र यहाँको उपचारमा फरक पाए । ‘नेपालका ठूला अस्पतालमा दिइने उपचार सेवाबाट पनि उनीहरु खुशी हुँदैनन्,’ उनी भन्छन्, ‘त्यस कारण मलाई ट्राभल मेडिसिनतर्फ इच्छा जाग्यो । त्यसैले यसबारे तालिम लिन गए ।’
ट्राभल मेडिसिनबारे अमेरिकाको हार्वर्ड युनिभर्सिटीबाट उनले तालिम लिए । सन् २०१८ मा तालिम सकेर फर्केपछि उनले साथीहरुसँग मिलेर ट्राभल मेडिसिनमा काम गर्ने गरी एरा अस्पतालमा खोले । ‘ट्राभल एजेन्सीसँग बिमा लिन्थ्यौं । विदेशीहरु बिरामी हुँदा हेली रेस्क्युदेखि सबै काम गथ्र्यौ,’ उनले भने ।
उनको ट्राभल मेडिसिनबारेको रुचि पनि बढिरहेको थियो ।नेपालमा इएमएस (इमर्जेन्सी मेडिकल सर्भिस) सेवा दिंदा कसरी बिरामीलाई एम्बुलेन्स अथवा हेलिकोप्टरबाट एक ठाउँबाट अर्को ठाउँमा लाँदा पर्ने सेवा सुविधाका बारेमा थप अध्ययन र तालिम लिन उनी थाइल्याण्डको बैकक पुगे । त्यहाँबाट तालिम लिएर उनी फेरि नेपाल फर्किए । नेपाल फर्केर ट्राभल मेडिसिनलाई थप परिस्कृत गर्नमा उनी खटिए ।
डा. गिवार्ण सधै केही न केही फरक र नौलो गर्न रुचि राख्छन् । र, आफुलाई नयाँ-नयाँ कुराको अध्ययन गरिरहेका हुन्छन् । उनी आफ्नो श्रीद्धि इन्भेस्टमेन्ट कम्पनीमार्फत हेलिकोप्टर , शिक्षा र हाइड्रोपावरमा लगानी गरेर अगाडि बढिरहेका छन् । र, अन्य थुप्रै सामाजिक सेवामा आबद्ध भएर काम गरिरहेका छन् । उनी यस श्रीद्धि कम्पनीका मालिक समेत हुन् । उनको यसमा करोडौं लगानी रहेको छ ।
