२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअपपाँच जना युवाको ‘ड्रिम डिकोड जिनोमिक्स’ : ७ वर्षमै ४ जनाबाट ५२ जना कर्मचारीसम्मको यात्रा

पाँच जना युवाको ‘ड्रिम डिकोड जिनोमिक्स’ : ७ वर्षमै ४ जनाबाट ५२ जना कर्मचारीसम्मको यात्रा

१ करोड लगानीबाट सुरु भएको डिकोडमा १५ करोड लगानी


७ वर्ष । ६ सयभन्दा बढी किसिमका परीक्षण सेवा । तीमध्ये दर्जनभन्दा बढी नेपालमै नहुने परीक्षणहरु । डिकोड जिनोमिक्स एण्ड रिसर्च सेन्टरका सफलताका काफी प्रमाण हुन् । ३५ वर्ष नकटेका पाँच जनाको युवा टिमले ७ वर्षमा हासिल गरेको यो सफलता उद्यममा केही फरक र नौलो गर्न चाहनेका लागि पक्कै पनि प्रेरणादायी छ ।

विदेशमा हासिल गरेको ज्ञान त्यही खर्च गर्ने र विदेशमै हराउने हाम्रो पुस्ताका लागि डिकोड जिनोमिक्सका युवाहरुको मातृभूमी प्रेम सिको गर्न लायक छ । यो सफलता उनीहरुले हासिल गरेको विशेषज्ञता, मेहनत र सत्कर्मको कडी पनि हो । डिकोडको ७ वर्षे सफलताको कथा जागिरे युवाहरुको दोस्तीबाट सुरु भएको हो ।

सन् २०१२ । बैतडीका सुनिल लेखक युनिभर्सिटी अफ इस्ट लन्डनबाट मास्टर्स इन मोलिक्युलर माइक्रोबायोलोजी सकेपछि स्वदेश फर्किए । लण्डनबाट फर्केपछि दुई वर्ष काठमाडौं मेडिकल कलेजको माइक्रोबायोलोजी विभागमा रहेर अध्यापन गराए । सँगैसँगै अन्नपूर्ण हस्पिटलमा रिसर्च ल्याब हेर्ने गर्थे ।

सोही क्रममा उनको भेट कास्कीका बलराम गौतमसँग भयो । बलराम सन् २०१४ मा श्रीलंकामा जेनिटिक्सको पढाइ सकेर फर्किएका थिए । वीर अस्पतालका जागिरे उनी न्यूरो अस्पतालको रिसर्च ल्याबमा पार्टटाइम काम गर्थे । त्यही संयोगले सुनिल र बलराम साथी बनेका हुन् । ‘हाम्रो अन्नपूर्णमा नै भेट भयो,’ डिकोड जिनोमिक्सका युवा कार्यकारी निर्देशक सुनिल सुनाउँछन् । आफ्नै क्षेत्रमा केही फरक र नौलो गर्ने योजनामा थिए, सुनिल र बलराम ।

त्यही योजनामा क्रमसः बलरामका नजिकका साथीहरु जोडिए—श्रीराम बाँस्तोला, राजेन्द्र केसी र सन्जय गौतम । गौतम अहिले अमेरिकामा पोस्टडक्ट गर्दैछन् भने केसी अष्ट्रेलियामा पोस्टडक्ट गर्दैछन् । बाँकी तीन जना भने डिकोडमै सक्रिय छन् । सुरुवाती समयमा त्यसबाहेक थप साथीहरु पनि जोडिएका थिए । तर, अन्तिममा टिममा पाँचजना साथीहरुमात्रै बाँकी रहे, अरुले हात झिके । टिमले ल्याब्रोट्रोरी फिल्डमा नेपालमा कहाँ ग्याप छ, सेवा केमा कमी छ भनेर खोज्न सुरु गर्‍यो ।

त्यतिबेला धेरै परीक्षणहरु भारत जाने गर्थे । अझ पिसिआर परीक्षण त सबैजसो भारत पठाइन्थ्यो । नेपालमा रिफरेन्स ल्याबका रुपमा सिद्धी र एनआरएलमात्रै थिए । बजारमा भारतीय प्रयोगशालाको एकक्षत्र राज थियो । त्यो समय कस्तो थियो भने थाइराइडको जाँचका लागि समेत नमुुना भारत पठाइन्थ्यो । यसलाई कसरी परिपूर्ति गर्न सकिन्छ ? भन्ने सोचका साथ त्यही ग्यापमा यी ५ जना युवाहरुको समूहले आफ्नो भविष्य खोज्न योजना बनाउन सुरु गरे । ‘नेपालमा जे छैन्, त्यसबाट सुरु गरौं भनेर लाग्यौं,’ बलराम सुनाउँछन्, ‘त्यसका लागि मोलीक्युलर डायग्नोस्टिक एउटा मात्रै विभागबाट सुरु गरौँ भनेर लागियो ।’

मोलीक्युलर डायग्नोस्टिकमा पिसिआरलगायतका प्रविधिमा आधारित परीक्षणहरु हुन्छन् । सुनिलकाअनुसार डीएनए, आरएनए र प्रोटिनमा आधारित जाँच यसले गर्छ, सिक्वेसिङ, पिसिआर पनि यसभित्रै पर्छन् । त्यही कारण यो युवा समूहले ल्याब स्थापना गर्ने योजना बनायो । आखिर किन त ? ‘मोलीक्युलर डायग्नोस्टिक खोल्ने दुई कारण छन् । एउटा कारण नेपालमा यसको ग्याप थियो,’ सुनिल कारण खोल्छन्, ‘अर्को, कारण भनेको हामी ५ जना नै यसका विशेषज्ञ थियौं ।’

सन् २०१४ मा प्रयोगशाला स्थापनाका लागि सिनामंगलमा झण्डै ८ सय स्क्वायर फिट क्षेत्रफल भाडामा लिए । जिनलाई डिकोड गर्ने काम गरिने प्रयोगशाला भएकाले नाम राखे—‘डिकोड जिनोमिक्स एण्ड रिसर्च सेन्टर’ । सुरुमा डिकोडलाई पिसिआरमा आधारित प्रयोगशाला बनाउने योजनाका साथ तीन वटा मेसिन ल्याए । जसमा दुई वटा रियल टाइम पिसिआर र एउटा कन्भेसनल पिसिआर थियो । ‘सुरुमा तीन वटा डिभिजनबाट सुरु गर्‍यौं,’ सुनिल डिकोडको प्रारम्भिक जर्नीबारे सुनाउँछन्, ‘एउटा संक्रामक रोगको पिसिआर जसमा हेपटाइटिस बी, सी, ट्रान्सप्लान्टमा गर्नुपर्ने सीएमभी भाइरस, बिके भाइरस, जेसी भाइरस, एचआईभी, टिभी र इन्फ्लुन्जा आदिको जाँच गर्ने । अर्को, क्यान्सर जेनेटिक्स जसमा क्यान्सर पत्ता लागेपछि किमो दिनुअघि के–के म्युट्रेसन छ त्यसमा हेरेर किमो दिने जाँच । तेस्रो, ह्युमन जेनेटिक्स जसमा सिकलसेल एनिमिया, थेल्सिमिया, गिल्वर्टहरुलगायतका जाँच हुन्छन् ।’

डिकोडको टिमले ल्याबमा तीन वटा डिभिजन खडा गर्न झण्डै १ करोड लगानी ग¥यो । जसमा पाँचै जना युवाहरुले आफ्नै पारिश्रमिक हालेका थिए । सुरुमा पाँच जना लगानीकर्ता पार्टटाइम र ४ जना स्टाफ गरी ९ जना जनशक्तिबाट डिकोडको सञ्चालन अगाडि बढेको थियो । डिकोड पिसिआर प्रविधीबाट जाँच नेपालमै सुरु गर्ने निजीस्तरको पहिलो ल्याब हो । ‘सुरु गरेको पहिलो महिनामा जम्मा एउटा परीक्षण गरेका थियौं,’ सुनिल सम्झन्छन्, ‘आम नागरिक भन्दा पनि मेडिकल समुदायलाई पनि जति मात्रामा पिसिआरको चेतना हुनुपर्ने हो त्यति थिएन ।’

त्यही कारण पहिलो पटक पिसिआर परीक्षणमा काम गर्न होमिएको यो टिमको मुख्य चुनौती मेडिकल फर्टिनिटीलाई नै पिसिआर परीक्षणबारे बुझाउनु थियो । सचेतना जगाउने क्रममा उनीहरुले कयौं ठाउँमा गाली पनि खाए । केहीले त यसमा धेरै लगानी, ठुला मेसिन र एक्सपर्ट चाहिन्छ भनेर हप्काए समेत ।

तर, अठोट लिएर अगाडि बढिसकेको उर्जाशील युवाहरुको टिम पछि हट्ने कुरा थिएन । त्यही कारण उनीहरुले चुनौती मोल्ने दृढ अठोट गरे । त्यसका लागि यो टिमको मुख्य चुनौती विश्वास जित्नु र अर्को चेतना फैलाउनु थियो । ‘त्यसको लागि हामी व्यक्तिगत रुपमा डाक्टरहरुलाई भेट्न थाल्यौं,’ बलराम थप्छन्, ‘त्यसपछि कन्फरेन्स र सीएमई गर्न सुरु पनि ग¥यौं ।’ सीएमईकै लागि उनीहरुले विभिन्न टपिक्समा भारतबाट विशेषज्ञ स्पीकर ल्याएर छलफल चलाए ।

सन् २०१५ मा लगानीकर्तामध्ये दुई जना उच्च शिक्षाका लागि विदेश गइसकेका थिए । दुई जना वीर अस्पतालका कर्मचारी थिए । ल्याब कसरी चलाउने भन्ने समस्या खडा भयो । त्यसपछि सुनिलले जागिर छाडेर फुलटाइम डिकोड जिनोमिक्समै काम गर्न थाले । ९ जना स्टाफ र सुनिल गरी पूर्णकालीन १० जना स्टाफ भए । त्यसबाहेक बलराम र श्रीराम पार्टटाइम काम गर्न थाले ।

यही सिलसिलामा डिकोडले सन् २०१८ मा नेपालमा पहिलोपल्ट जेनेटिक डिजिजमा अन्तर्राष्ट्रिय सम्मेलन गर्‍यो । झन्डै ५० वटा जति सीएमई गरेर चेतना फैलाउंदै गएपछि चिकित्सकहरु पनि अपडेट हुँदै गए । डिकोडमा क्रमसः परीक्षण गर्नेहरु बढ्दैं गए । ‘सुरुको महिनामा एउटा मात्रै परीक्षण गरेका थियौं,’ सुनिल भन्छन्, ‘एक वर्षपछि महिनाको ५ सय वटासम्म गर्‍यौं । बढ्दै गयो ।’ सन् २०१९ मा कोभिड–१९ को महामारी सुरु हुने बेलासम्म डिकोडमा १०० प्रकारका पिसिआर परीक्षण हुन थालिसकेका थिए ।

उनीहरु मोलिक्युलर ल्याबलाई विस्तार गर्ने तयारी गरिरहेका थिए । साइटोजेनेटिक्स ल्याब पनि सुरु गर्ने भनेर सेटअप अगाडि बढाए । त्यसका लागि मेसिन अर्डर गर्ने र स्रोत साधन तयारीमै थिए । कोभिड–१९ ले त्यो रोकियो । नेपालमा कोभिड–१९ को पहिलो केस देखिएपछि लकडाउन सुरु भयो । सरकार पिसिआर प्रयोगशाला स्थापना गर्ने योजनामा अगाडि बढ्यो ।

नेपालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै पिसिआर गरिन्थ्यो । सरकारले देशभरि पिसिआर प्रयोगशाला सेटअप गर्नुपर्ने अवस्था आयो । त्यसका लागि जनशक्ति आवश्यक पर्‍यो । डिकोडको व्यवस्थापन टिमका तिनै जना पिसिआरमा काम गरिरहेका थिए । उनीहरु तिनै जनालाई सरकारले पिसिआरमा प्रयोगशाला सेटअपका लागि बोलायो । सुनिल धनगढी पुगेर पिसिआर ल्याब सेटअप गरे, बलराम र श्रीराम पोखरा र विराटनगर पुगेर ल्याब सेटअप गरे । ‘हामी डिकोड नै बन्द गरेर सरकारको काम गर्न खट्यौं,’ सुनिल सुनाउँछन् । उनीहरुले त्यहाँ ल्याब मात्रै सेटअप गरेनन्, एक महिना बसेर ल्याब चलाउन तालिम समेत दिए । डिकोडले आफै कोभिड पिसिआर परीक्षण सुरु गर्न सक्ने भएपनि सबै सरकारलाई मद्धत गर्न खटिए ।

प्रदेशमा ल्याबहरु सेटअप भैसकेपछि डिकोडको टिम पनि कोभिड–१९ को पिसीआर परीक्षण गर्ने तयारीमा लाग्यो । सरकारबाट अनुमति पाएपछि कोभिड–१९ को पिसिआर परीक्षण सुरु भयो । त्यसअघि १० जना स्टाफले चलाइरहेको प्रयोगशालामा परीक्षण गर्ने संख्या बढ्दैं गयो । ‘कोभिड–१९ को पहिलो लहर उत्कर्षमा पुग्दामा हामीले दिनमा १ हजारसम्म परीक्षण गर्‍यौं,’ बलराम भन्छन्, ‘त्यसका लागि तालिम दिंदै पिसिआर टेस्ट गर्ने जनशक्ति थप्यौं ।’ काम थपिएपछि कोभिड–१९ को पहिलो लहर सकिने बेलासम्म डिकोडको टिम ४० जनामा पुग्यो ।

कोभिड आउनुअघि नै डिकोडलाई विस्तार गर्ने योजना पहिलो लहर सकिएपछि अझ ट्डकारो महसुस गरे । ‘मोलिक्युलर डाइग्नोष्टिक एउटा कम्प्लेक्स कुरा हो । अहिले कोभिड–१९ महामारीले पिसिआरको महत्व सिकाइदियो,’ सुनिल भन्छन्, ‘नेपालमा यसअघि पिसिआरमा आधारित टेष्ट कमै गरिन्थ्यो ।’ त्यहीबीच डिकोड जिनोमिक्सलाई रिफ्रेन्स ल्याबमा लैजाँदा साइटोजेनेटिक्स मात्रै थप्ने कि अरु पनि सेवा पनि थप्ने भन्ने कुरा व्यवस्थापनमा छलफलको विषय बन्यो । नेपालमा उपलब्ध नभएका अन्य परीक्षण थप्दै जाने कुरामा टिममा सहमति बन्यो ।

साइटोजेनेटिक्स, इम्युनोहिस्ट्रो केमेस्ट्री, फलोसाइटीमेट्रीलगायतका नेपालमा उपलब्ध नभएका परीक्षण पनि सुरु गर्ने योजना अगाडि बढ्यो । ‘यी विशिष्ट परीक्षण गर्ने भए, सामान्य परीक्षण किन नगर्ने भनेर लाग्यो,’ सुनिलले थपे, ‘त्यसपछि हामीले सामान्यदेखि एडभान्ससम्मका परीक्षण हुने ‘ए’ क्याटोगोरी लेभलकै प्रयोगशाला बनाउने योजनामा लाग्यौ ।’ त्यसका लागि सिनामंगलको ठाउँ पर्याप्त थिएन । उनीहरु काठमाडौंमा मुख्य लोकेसनहरुमा ठाउँ खोज्न थाले । यतिकैमा रत्नपार्कमा सबैको पायक पर्ने ठाउँ भेटियो । यति बेलासम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ल्याबहरुलाई विभिन्न क्याटागोरीमा वर्गीकरण गर्‍यो ।

यी सबै कुराहरुलाई समेटेर वि.सं. २०७७ फागुनबाट रत्नपार्कमा डिकोडको अत्याधुनिक प्रयोगशाला निर्माणको काम सुरु भयो । ‘ए’ वर्गकै लागि आवश्यक पर्ने सेवा तथा उपकरणको व्यवस्थापन पनि अगाडि बढ्यो । झण्डै ५ हजार ४ सय वर्ग फिटमा डिकोड जिनोमिक्स एण्ड रिसर्च सेन्टरको ल्याब रत्नपार्कको मुल सडकमा अत्याधुनिक सेटअपमा तयार हुन झण्डै एक वर्ष समय लाग्यो । सबै काम सकेपछि डिकोड जिनोमिक्सले दुई साताअघि मात्रै ‘ए’ क्याटागोरी ल्याबको अनुमति पाएको छ । योसँगै अब डिकोडले वैदेशिक यात्रामा जानेका लागि कोभिड–१९ पिसिआर टेष्ट पनि गर्न थालेको छ ।

अहिले नेपालका अस्पतालमा उपलब्ध हुने मेडिकल सेवाका बिरामीलाई आवश्यक पर्ने लगभग सबै टेष्टहरु डिकोडमा उपलब्ध छन् । विशेषज्ञदेखि सामान्यसम्म गरी झण्डै ६ सय बढी परीक्षण डिकोडमा हुन्छन् भने ८ वटा विभागहरु सञ्चालनमा छन् । ‘हाम्रो ध्यान अझै पनि भारतमा जान नपर्ने गरी अति विशिष्ट टेस्ट गर्नको लागि केन्द्रित छ,’ सुनिल भन्छन्, ‘सरकारले पनि नेपालमै उपलब्ध भएका परीक्षण देशबाहिर जान नदिने भनेर नियम ल्याएको छ । तर, कार्यन्वयन भने हुन सकेको छैन् ।’ अब डिकोडको ध्यान नेपालमा उपलब्ध नभएका थप परीक्षणहरु थप्नेमा छ । साथै, गुणस्तरमा पनि उनीहरुको विशेष ध्यान छ ।

७ वर्षमै यति ठूलो फड्को मारेको डिकोड जिनोमिक्समा अहिले ५२ जना फुलटाइम कर्मचारी छन् । लगानी नै झण्डै १५ करोड पुगेको छ । यो सफलताको मुख्य कारण के हो ? ‘पहिलो गुणस्तर, दोस्रो ल्याब्रोटरी फिल्डलाई बुझेको टिम,’ सुनिल सफलताको कारण खोल्छन्, ‘तेस्रो हाम्रो कडा मेहनत हो । हामीले अहिलेको डिकोड ७ वर्षअघि नै देखेको सपना हो ।’

अब डिकोड टिम प्रयोगशालालाई आईएसओ (ISO) प्रमाणीकरण गर्नेमा लागिरहेको छ । ‘आईएसओ प्रमाणित अबका तीन महिनामा भइसक्छ होला,’ बलराम सुनाउँछन्, ‘त्यसपछि नेपालभर नै शाखा विस्तार गरेर हुन्छ कि कसरी हुन्छ समुदायमा गुणस्तरीय परीक्षण कसरी पु¥याउने भनेर लाग्छौं ।’ नेपालमा सुपरइस्पेशलाइजेसनको अवधारणा सुरु गर्ने टिम डिकोड आफैमा बलियो टेक्नीकल व्यवस्थापन टिम भएको प्रयोगशाला हो ।


क्याटेगोरी : मेरो स्टार्टअप
ट्याग : #इम्युनोहिस्ट्रो केमेस्ट्री, #डिकोड जिनोमिक्स एण्ड रिसर्च सेन्टर, #पिसिआर परीक्षण, #फलोसाइटीमेट्री, #बलराम गौतम, #युनिभर्सिटी अफ इस्ट लन्डन, #राजेन्द्र केसी, #राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, #श्रीराम बाँस्तोला, #सन्जय गौतम, #साइटोजेनेटिक्स, #सुनिल लेखक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ