डा. सुदिप श्रेष्ठ नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर (एनसीएचआरसी)का संस्थापक एवं कार्यकारी अध्यक्ष हुन् । क्यान्सरजस्तो जटिल रोगको स्वदेशमै उपचार गर्ने हुटहुटीबाट झण्डै एक दशकअघि यो अस्पताल जन्मिएको हो । जतिबेला डा. सुदिप सुविधासम्पन्न क्यान्सर अस्पतालको परिकल्पना गर्दै थिए, त्यतिबेला नेपालमा क्यान्सरका बिरामीलाई अन्तिम अवस्थाको बिरामी मानिन्थ्यो । त्यहीबेला ३५ वर्षे लक्का जवान डा. सुदिपले ‘नेपाल क्यान्सर अस्पताल’को परिकल्पना गरेका हुन् ।
आखिर कसरी ? सन् १९९० मा डा. सुदिप एमबीबीएस अध्ययन सक्दा २५ वर्षका थिए । पाँच वर्ष नेपाल सरकारका विभिन्न अस्पतालमा काम गरे । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानबाट सन् १९९९ मा इन्टरनल मेडिसिनमा एमडी सके । त्यसपछि उनी काम गर्नका लागि वीर अस्पताल गए । वीर अस्पतालमा काम गर्दा क्यान्सरका बिरामीलाई उपचार त्यति विकास भइसकेको थिएन । वीरको एउटा कोठामा रेडियो थेरापी युनिट थियो, जहाँ केमो थेरापी र रेडियो थेरापी हुन्थ्यो । त्यो युनिट छ भन्ने कुरा पनि वीरकै धेरैलाई थाहा थिएन् ।
मेडिकल फर्टिनिटीभित्रै पनि क्यान्सरका बिरामीलाई अन्तिम अवस्थाको बिरामी भनेर लिइन्थ्यो । त्यसैले यो विषय पढ्नमा पनि धेरैलाई रुचि हुन्थेन् । डा. डिएल सिंह वीर अस्पतालमा डा. श्रेष्ठसहितका मेन्टर थिए । उनले भन्थे, ‘तिमीहरुमध्ये कसैले क्यान्सरमा काम गरे हुन्छ । यसमा काम गर्ने डाक्टर कोही छैनन् ।’ त्यो कुरा डा. श्रेष्ठलाई स्ट्राइक भयो । क्यान्सरमा केही गर्न सकिन्छ कि भनेर उनले स्वअध्ययन थाले । पोष्टग्राजयुसन सकेपछि उनका धेरै साथीहरु लण्डन गए । तर, ३५ वर्षको उकालो हिडिरहेका डा. श्रेष्ठ भने क्यान्सर र त्यसमा पनि स्वदेशमै केही गर्ने हुटहुटी पालेर लन्डन सहरको अवसर त्यागेर नेपालमै बसे ।
‘त्यो बेला क्यान्सरमा काम गर्न कसैको रुचि थिएन,’ हालैको एक साँझ उनले हेल्थआवाजसँग भने, ‘त्यसैले मैले यसलाई च्यालेन्जका रुपमा लिएर काम गर्न थाले ।’ त्यही कारण वीरको कोही पनि काम गर्न नचाहने युनिटमा गएर उनी काम गर्न थाले । त्यो बेला नेपाल सरकारअन्तर्गत अंकोलोजीको एक मात्र चिकित्सक डा. तारा मानन्धर थिए । त्यही काम गर्दा पहिलो पटक डा. श्रेष्ठले मेडिकल अंकोलोजिष्टले गर्ने उपचारबारे थाहा पाए । ‘मेडिकल अंकोलोजिष्ट क्यान्सरको डाइग्नोसिस गर्ने क्यान्सर फिजिसियन हो भन्ने मैले त्यही बेला थाहा पाए,’ उनले भने, ‘क्यान्सर उपचार प्लानिङ गर्ने, केमो थेरापी दिने र क्यान्सरको बिरामीलाई अन्तिमसम्म उपचार गर्ने भूमिका हुँदोरहेछ ।’

भारतको नयाँदिल्लीमा राजीव गान्धी क्यान्सर अस्पताल भर्खर—भर्खर खुलेको थियो । त्यहाँको फ्याकल्टीसँग सम्पर्क भएपछि उनलाई फेलोसीप गर्ने अवसर प्राप्त भयो । सन् १९९९ मा दुई वर्ष त्यहाँ फेलोसीप गर्न गए । त्यसबेला उनले थुप्रै क्यान्सरका नेपाली बिरामीहरु हैरान भएर त्यहाँ पुगेको र विभिन्न समस्या बेहोरिरहेका दृश्यहरु देखे । उपचारको प्रमुख समस्या त एकातिर छदैछ, त्यसबाहेक खाने, बस्ने समस्या पनि उत्तिकै झेलिरहेका हुन्थे । त्यो अवस्था देखेपछि डा. श्रेष्ठलाई हामीले नेपालमै किन क्यान्सरको उपचार गर्न सकेनौं भन्नेमा दुःख भयो ।
सन् २००१ मा उनी दुई वर्षे फेलोसीप सकेर त्यहाँबाट फर्किए । भारतबाट फर्किएपछि भक्तपुर अस्पतालमा ज्वाइन भए । त्यो अस्पतालमा १५ वटा बेड मात्रै थियो । ‘त्यो बेलाको मेन्टर अन्जनीकुमार शर्मा हुनुहुन्थ्यो । उनले हामीलाई सक्रिय रुपमा मद्दत गर्नुभएको थियो,’ उनले अनुभव साटे, ‘सो अस्पतालमा काम गर्दा धेरै कुरा सिक्ने मौका पाए ।’ सो क्रममा उनले दुई कार्यकाल भक्तपुर क्यान्सर अस्पतालको नेतृत्वमा समेत रहेर काम गरे । तर, आइएनजिओसँग काम गर्दा धेरै लिमिटेसनहरु थिए ।
क्यान्सरमा नयाँ–नयाँ उपचार पद्दति भित्रिदै थिए । तर, त्यो चाहिँ नेपालमा नभित्रिने समस्या थियो । ‘एउटा त आर्थिक हिसाबले हामीले धेरै प्रविधि ल्याउन सकेनौं । सिधा बजेट आउने बाटो थिएन्,’ डा. सुदिप भन्छन्, ‘प्रविधि ल्याउन बजेटका लागि निकै झमेला थियो । हामीले विदेशमा हुँदा नेपालमै राम्रो अस्पताल बनाउने नयाँ प्रविधि ल्याउने भनेर आएका थियौं । तर, गर्दागर्दै पनि विश्वास जित्न सकिएन् । प्रविधिकै कारण पछाडि पर्दै गयौं ।’
भक्तपुरमा क्यान्सर अस्पतालमा झण्डै ५० वर्ष पूरानो टेक्नोलोजीको मेसिन लिएर काम गर्नुपर्थ्यो । जुन विश्वमा नै लोप हुने अवस्था थियो । धेरै किसिमको असुविधा भएकै कारण अब निजीमै केही गर्न सकिएला कि भन्ने सोच उनका विकास हुन थाल्यो । विस्तारै उनी प्राइभेट सेक्टरकै सही, राम्रो क्यान्सर हस्पिटल सञ्चालन गर्ने योजना बनाउन थाले । तर, त्यसका लागि सुरुमा कसैसँग आवश्यक पर्ने रकम थिएन । क्यान्सरको क्षेत्रमा लगानी एकदमै ठूलो हुन जान्छ ।

‘संस्था खोल्दा बिजनेस दिगो हुन्छ हुँदैन् भन्ने पनि सबैमा आशंका थियो,’ उनले सुनाए, ‘हामीसँग जनशक्ति र प्रविधि थिएन, जुन अर्को ठुलो चुनौती थियो । भएको प्रविधिलाई चलाउने प्राविधिक पनि थिएनन् ।’ सरकारी अस्पताल नै चलाउन कठिन भइरहेका बेला निजीमा अस्पताल खोल्ने कुरा पक्कै सहज थिएन । सन् २००८—९ तिरै डा. सुदिपले अत्याधुनिक क्यान्सर परिकल्पना गरे । अस्पताल खोल्ने परिकल्पनादेखि नै डा. श्रेष्ठकी जीवनसंगीनी स्वरुपाले साथ दिइन् । उनी समाजसेवी र इन्टरप्रेनर हुन् ।
त्यससमय डा. सुदिप ओम अस्पताल र भक्तपुर अस्पतालमा काम गर्थे । ‘हामीले अहिलेको नेपाल क्यान्सर अस्पतालको परिकल्पना सन् २००८/९ मै गरिसकेका थियौं । त्यो बेला मुख्य कुरा भनेको फन्ड थिएन्,’ उनले भने, ‘त्यसपछि ठूला बिजनेस हाउसलाई नेपालमा खोल्न लागेको यो प्रोजेक्ट निकै ठूलो छ । सहयोग चाहियो भन्दै अप्रोच ग-र्यौं ।’ तर, डा. श्रेष्ठको टिमले प्रस्तामा अनेकन आर्थिक प्रश्नहरु उठ्थे । त्यो बेला उनले भर्खर अस्पताल बनाउनका लागि एउटा युनिट सुरु गरेका थिए । फाइनान्स सम्बन्धि केही ज्ञान थिएन् । मात्र नेपालमा क्यान्सर अस्पतालको खाँचो छ भन्ने मात्र थियो । नेपालमा चल्यो भनेपनि दिगो हुन्छ वा हुँदैन् भन्ने कुरामा पनि आशंका थियो ।
कसैले विश्वास नगरेका कारण पैसाको सबैभन्दा ठूलो समस्या थियो । सुरूको वर्ष पैसाको पनि निकै दुःख भएको उनी बताउँछन् । जनशक्ति र लगानीकर्ता खोज्ने मुस्किल परेको अनुभव उनले सुनाए । बिजेनस हाउससँग कुरा गर्ने क्रम भने जारी रह्यो । प्राविधिक सहयोग डा. सुदिप पढेको राजीव गान्धी क्यान्सर अस्पतालले गर्ने भयो । त्यसले उनको यात्रालाई अलि ढाडस मिल्यो ।
काम गर्दै जाँदा २५ बेडदेखि ५० शैय्याको अस्पताल बनाउने बनाउने योजना बन्यो । सुरुमा ३० करोड जति लगानी गर्ने सोच बनाइयो । त्यही क्रममा ललितपुरको सातदोबाटोमा एउटा भर्खरै बन्दै गरेको भवन पाइयो । त्यहीबाट नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरको यात्रा अगाडि बढेको हो । राजीव गान्धी अस्पतालका तत्कालीन रेडियोथेरापी विभागीय प्रमुखले मेसिन ल्याउन प्रोत्साहन गरे । भेन्डरसँग कुरा गराइदिने, जडान गर्न आफै आउनेदेखि प्राविधिकलाई सिकाउनेसम्मको काम उनैले गरिदिए । ‘यो ३० करोड पर्ने मेसिन थियो । जुन एकदमै राम्रो र उच्चस्तरकै थियो । हामीले आट नगरेको मेसिन ल्यायौं,’ डा. सुदिप भन्छन् ।
३—४ जना मिलेर सन् २०१२ मा ‘नेपाल क्यान्सर फाउन्डेशन’ भन्ने संस्था स्थापना गरे । थोरै सदस्य मिलेर बनेको उक्त संस्थामा डेढ लाख लगानी भएको थियो । त्यो एउटा सानो युनिटमात्रै थियो । त्यसपछि बल्ल उनको टिमले अस्पताल बनाउने भनेर जग्गा र भवन खोज्न थाले । त्यहीबेलामा हरिसिद्धी इट्टा उधोगका धनीहरुले जग्गामा पनि दिने र लगानी पनि गर्ने प्रस्ताव गरे ।

सन् २०१२ जेष्ठमा डा. श्रेष्ठ र उनको टिम हसिसिद्धी इट्टा उधोग रहेको ठाउँ हेर्न पुग्यो । हरिसिद्धी इट्टा उधोग समूहका जितबहादुर श्रेष्ठ, एलबी श्रेष्ठ र प्रदीप वैद्यलगायतले उक्त जग्गामा पार्टनसीपमा अस्पताल खोल्ने प्रस्ताव गरे । उक्त प्रस्ताव डा. सुदिपलाई पनि ठीक लाग्यो । झण्डै दुई महिना लामो प्रयासपछि हसिसिद्धी इट्टा उधोगको २३ रोपनी जग्गा ‘नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर’का नाममा ट्रान्सफर भयो ।
ज्वागलमा अस्पतालको अफिस खोलियो । नेपाल क्यान्सर अस्पताल सुरु हुँदा जनहित बासुकला र विश्वराम मुनाकमी दुईजनामात्रै कर्मचारी थिए । अन्य सबैले भोलिन्टियरका रुपमा काम गर्थे । पछि प्रोजेक्ट बनेपछि ६ जना भए । त्यो बेला कम्पनीको अध्यक्षमा डा. सुदिप श्रेष्ठ, सदस्यहरुमा स्वरुप श्रेष्ठ, डा. विजेशराज घिमिरे, सन्जय श्रेष्ठ, प्रदीप वैद्य रहेका थिए । यस्तै, कम्पनीका कानुनी सल्लाहकारमा कोमल घिमिरे र आर्किटेक्ट प्रज्वल हाडा थिए ।
आफ्नै जग्गा भएपछि अरुको विश्वास जित्न अस्पताल सफल भयो । सन् २०१३ बाट नेपाल क्यान्सर अस्पतालको निर्माण प्रक्रिया अगाडि बढाइयो । ३२ रोपनी जग्गा अस्पतालका नाममा आएपछि जग्गालाई धितोमा राखेर बैकबाट ऋण लिएर अस्पताल निर्माणको कामलाई अगाडि बढाउने योजना बन्यो । त्यही क्रममा सन् २०१४ मा अस्पतालका लागि बैंकहरु लोन दिन राजी भए । त्यही वर्ष नै नेपाल क्यान्सर हस्पिटलले संसारकै अत्याधुनिक रेडियोथेरापी मेसिन ट्रू बीम ल्याउने सम्झौता ग¥यो । हरिसिद्धीमा अस्पताल निर्माणका क्रममा अहिलेकी उर्जामन्त्री पम्फा भुसालले पनि सहजीकरण गरिदिएको डा. सुदिप सम्झन्छन् ।
सन् २०१४ को जुन महिनामा अस्पतालको निर्माणको पहिलो चरण सम्पन्न भयो । त्यसपछि अस्पतालले आफ्नो सेवा सुरु ग¥यो । सन् २०१६ मा अस्पतालले रेडियोथेरापी मेसिन ट्रू बीम सेटअप सक्यो । ५० शैय्याबाट सुरु भएको नेपाल क्यान्सर अस्पताल अहिले १ सय शैय्या पुगेको छ । सुरुमा ३०/४० जना बिरामी हुने अस्पतालमा अहिले ओपीडीमा दैनिक औसत २ सय हाराहारीमा बिरामी सेवा लिन्छन् ।
२ जना स्टाफबाट सुरु भएको अस्पतालमा हाल ६ सय जना कर्मचारी छन् । जसमध्ये ४५ जना विशेषज्ञ चिकित्सक नै छन् । अस्पतालमा क्यान्सर सम्बन्धि सबै सेवा उपलब्ध रहेको अस्पतालका संस्थापकसँगै कार्यकारी अध्यक्ष समेत रहेका डा. सुदिप बताउँछन् । त्यसबाहेक अन्य विभिन्न उपचार सेवाहरु पनि अस्पतालले उपलब्ध गराउँछ । ‘मुटु , ब्रेन,प्रसूति र आँखा सम्बन्धि बाहेक सबै सेवाहरु अस्पतालमा उपलब्ध छन्,’ उनले भने। यस अस्पतालले आफ्नो मुख्य नारा नै “नेपाली क्यान्सर बिरामीको उपचार नेपालमा, केयर वीर एक्सीलेन्स’ रहेको र संस्थाले यही उधेश्य प्राप्तिको लागि काम गरिरहेको उनले बताए ।
डा. सुदिपका अनुसार नेपालमा क्यान्सरको परीक्षण समयमै नहुँदा धेरै ज्यान गुमाइरहेका छन् । ‘सुरुमै उपचार गर्न सकियो भने क्यान्सर निको हुन्छ । १०० जना बिरामीमा ३० जना निको हुने गरेका छन्,’ उनले भने, ‘क्यान्सर लागेको ढिला थाहा हुँदा जोखिम हुन्छ ।’ ३० वर्ष पुगिसकेका मानिसले वर्षको एकपटक स्वास्थ्य परीक्षण गराउन उनको सुझाव छ । नेपालमै क्यान्सर उपचार हुन्छ भनेर थाहा नपाउने पनि धेरै रहेको उनले बताए ।
डा. सुदिपसहितको टिमले ‘क्यान्सर सपोर्ट ग्रुप’ पनि बनाएको छ । जसमा थुप्रै क्यान्सर विशेषज्ञ र क्यान्सर जितेकाहरु पनि संलग्न छन् । जसले समाजमा क्यान्सरबारे सचेतना जगाउने काम गर्छ ।
आम मानिसलाई क्यान्सरको उपचार सहज रुपमा उपलब्ध गराउन के गर्नुपर्ला ? ‘नेपाल सरकारले पब्लिक प्राइभेट पार्टनरसीपको अवधारणाअनुरुप काम गर्न सके जनताले यो बढी सेवा पाउने वातावरण बन्छ,’ उनले भने, ‘प्राइभेट सेक्टरमा क्यान्सरको उपचार विश्वमै महंगो छ । तर, अन्य देशको तुलनामा नेपालमा सस्तो छ ।’ डा. सुदिपकाअनुसार जनतालाई क्यान्सर उपचारमा गोजीबाट लाग्ने ठूलो खर्च कम गराउनका लागि स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनुपर्छ र जनताको सहज उपचार पहुँचका लागि ‘राष्ट्रिय क्यान्सर निवारण नीति’ ल्याउनुपर्छ । यसका साथै क्यान्सरको निदानमा सहयोग गर्नका लागि सरकारले नयाँ टेक्नोलोजी भित्र्याउन र टिकाउन राष्ट्रिय नीतिमा सुधार गर्नुपर्ने उनले देखेका छन् ।
साथै क्यान्सरको उपचारमा प्रयोग हुने औषधी सस्तो बनाउनुपर्ने र नयाँ औषधीहरु सजिलै उपलब्ध गराउनका लागि अहिलेको नीतिमा समयसापेक्ष परिवर्तनको आवश्यकता पनि उनले महसुस गरेका छन् । क्यान्सरको जनशक्ति उत्पादनमा पनि उनी जोड दिन्छन् । ‘क्यान्सर हुनबाट जनतालाई बचाउनका लागि नेपाल सरकारले राष्ट्रिय नीति बनाएर काम गर्नुपर्छ,’ उनले भने, ‘यसका लागि राजनीतिक नेतृत्वका इच्छाशक्तिको अभाव देखिन्छ ।’