काठमाडौं—काठमाडौंको व्यवसायिक घरानामा जन्मिएकी हुन्—डा. निकिता अग्रवाल । उनका बुवा गणेश अग्रवाल गनिएका नेपाली व्यवसायीमा पर्छन् । २९ वर्षकै उमेरमा १५ करोड लगानीमा हालै भगवती बहाल नक्सालमा सञ्चालनमा आएको अत्याधुनिक ‘वी केयर हेल्थ सेन्टर’ हाँक्दैछिन्, उनी । भारतको मणिपालकी गोल्डमेडलिष्ट डा. निकिता विशेषज्ञ चिकित्सकसहित वी केयरको ६५ जनाको टिमलाई प्रमुख कार्यकारी अधिकृत (सिईओ)का रुपमा नेतृत्व गर्दैछिन् ।
डा. निकिताको प्रारम्भिक शिक्षा ग्यालेक्सी पब्लिक स्कुल काठमाडौंबाट सुरु भएको हो । ग्यालेक्सीमा ६ कक्षासम्म अध्ययन गरेपछि उनी थप अध्ययनका लागि भारतको नयाँदिल्ली गइन् । दिल्ली पब्लिक स्कुल गुडगाउँमा उनले कक्षा १२ सम्म अध्ययन गरिन् ।
प्लस टु सकेपछि उनी बिडिएस पढ्नका लागि म्याङलोरस्थित मणिपाल गइन् । त्यहीबाट सन् २०१५ मा बिडिएस सकिन् । डा. निकिता दुई वर्षअघि दन्त चिकित्सामा विशेषज्ञता हासिल गरेर काठमाडौं फर्किएकी हुन् । मणिपालकी गोल्ड मेडिलिष्ट डा. निकिताले २७ वर्षकै उमेरमा एमडिएस (माष्टर्स इन डेन्टर सर्जरी) सकेर स्वदेश फर्किदा कोभिड–१९ महामारी सुरु भयो ।
केही समय उनले प्राइभेट प्रायाक्टिस गरिन् । ‘त्यहाँबाट आएपछि मैले १० महिना प्राइभेट प्रायाक्टिस गरे,’ उनले सुनाइन्, ‘मेरो सपना आफ्नो देशमा आएर केही गर्ने थियो । आधुनिक र सुविधासम्पन्न हेल्थकेयर सेन्टरको अभाव महसुस गरे । एकै छानोबाट सबै प्रकारका दन्त सेवा उपलब्ध हुने ठाउँको अभाव देखे ।’

‘एक ठाउँमै सबै दन्त सेवा’ पाउने गरी उनले प्रोजेक्ट डिजाइन गरिन् । झण्डै २ वर्षको अवधिमा उनले डिजाइन गरेको प्रोजेक्टलाई प्राइभेट सेटअपमा ढालियो । ‘सबै दन्त सेवाहरु एकै ठाउँमा प्राइभेट सेटअपमा कसरी कभर गर्न सकिन्छ भनेर हामी लाग्यौं,’ डा. निकिता भन्छिन्, ‘यसको योजनाका लागि पहिलो लकडाउनको पूरा अवधि नै लाग्यो ।’
गत जुलाईबाट डा. निकिता स्वदेशमै केही फरक र नौलो गर्ने आफ्नो हुटहुटीलाई साकार पार्न लागिन् । र, भगवती बहाल नक्सालमा जन्मियो—‘वी केयर हेल्थ सेन्टर ।’ अत्याधुनिक प्रविधिसहितको सेटअपटमा डेन्टलका सबै सुविधासहित, विभिन्न रोगको डाक्टर परामर्श, डाइग्नोष्टिक प्याथालोजी ल्याब, रेडियोलोजी एण्ड इमेजिङ साइन्स, क्याफे केयर, हेल्थ एण्ड वेलनेस, हेल्थ एट होम, टेलिमेडिसिन, ओपीडी सर्भिस र फार्मेसीसहितको हेल्थ केयर सेन्टर स्थापनाका लागि झण्डै १० महिना लाग्यो ।
‘स्वास्थ्य सेवा राम्रो, सहज र सुलभ सुविधामा दिनु हाम्रो उद्देश्य हो,’ वी केयर हेल्थ सेन्टरकी युवा कार्यकारी निर्देशक डा. निकिता भन्छिन्, ‘त्यसकारण हामीले यो नाम राखेका हौं । हामी बिरामीलाई सहज र सुविधायुक्त वातावरणमा सेवा दिन्छौं ।’
नक्साल भगवती मार्गमा वी केयर हेल्थ सेन्टर ३ फ्लोरमा अत्याधुनिक सेटअपमा छ । १० हजार ५ सय वर्गमिटर फिट क्षेत्रफल ओगटेको सेन्टरमा विशेषज्ञ चिकित्सकसहितका ६५ जना कर्मचारी कार्यरत छन् । १५ करोड रुपैयाँ लगानीमा खोलिएको वी केयर हेल्थ होमको मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस नेतृ डा. आरजु राणा देउवाले उद्घाटन गरेकी हुन् ।
‘सबैलाई पायक पर्ने ठाउँमा खोलेका हौं,’ डा. निकिताले भनिन् । उनकाअनुसार स्वास्थ्यसँग सम्बन्धित सबैजसो सेवाहरु दिने तयारी वी केयरको छ । जसमा प्याथोलोजी, फार्मेसी, डर्माटोलोजी, ओपिडी, गाइनो, कार्डियोलोजी, इन्ड्रोकाइनोलोजी, अर्थोपेडिक्स, फिजिसियन, फिजियोथेरापी, अल्ट्रासाउण्ड, एक्स–रे र अर्थोपेडिक्स लगायतका सेवा सेन्टरले दिनेछ । डेन्टल सम्बन्धि सबै सेवाहरु एकै छतबाट उपलब्ध हुनेछन् । उपचार सेन्टरका भएकाले आपतकालीन सेवा र भर्ना गर्नुपर्ने बिरामीबाहेक अन्य सबै सेवा उपलब्ध हुन्छन् । ‘सबैको माया र सहयोग भयो भविष्यमा हामी ती सेवाहरु पनि थप्नेछौं,’ उनले भनिन् ।

घरपरिवारको साथले सेन्टर स्थापनामा सहज भएको उनले बताइन् । पढाइ सकेपछि जागिरको पछाडि दौडने र रिस्क लिने डराउने युवा जमातमाझ डा. निकिताले यो फरक मार्ग कसरी रोजिन् । ‘प्रगति आफ्नो कमफर्ट जोनबाट बाहिर निस्किएर मात्रै सम्भव छ,’ उनी दृढ विश्वासी देखिइन्, ‘त्यसैले आफ्नो क्षमता वृद्धि गर्नलाई कम्फर्ट जोनबाट निस्किनु जरुरी छ । ममा केही गर्ने आत्मबल थियो । जसकारण यो सम्भव हुन सक्यो ।’ उनी आफ्नो हुर्काइले पनि इन्टरप्रेनरसीपतर्फ प्रेरणा मिलेको उल्लेख गर्छिन् ।



यो पनि पढ्नुहोस् : चेन आँखा अस्पतालका रुपमा उदाउँदै दृष्टि आँखा केन्द्र, ३९ वर्षीय डा. भाइराजा गर्दैछन् नेतृत्व