मिलिनियम स्माइल अर्थात करोडौंको हाँसो । २७ वर्षीया डेन्टल सर्जन डा. राधिका महर्जनले दुई वर्षअघि सुरु गरेको डेन्टल क्लिनिकको नाम हो । ललितपुरको हरिसिद्धीमा स्टार्टअप सुरुवात गर्नुअघि उनी कर्पोरेट अस्पतालकी जागिरे थिइन् । जागिरेका रुपमा अस्पताल जाने, बिरामी जाँच्ने, उपचार गर्ने र फर्कने नियमिततामा उनको दैनिकी बितिइरहेको थियो ।
तर, यो शैली उनलाई पट्यारलाग्दो लागिरहेको थियो । उनी आफ्नै केही गर्न चाहन्थिन्, अलिकति बढी जिम्मेवारी बोक्ने रुचि थियो । सुरुमा साथीहरुसँग मिलेर आफ्नै क्लिनिक खोल्नका लागि उनले प्रयास गरिन् । तर, धेरैजसो साथीहरुको समय नमिलेपछि उनी एक्लै आँट जुटाइन् । आँट र जागरबाट डा. राधिकाले वि.सं. २०७५ कात्तिकमा ‘मिलिनियम स्माइल डेन्टल केयर प्रा.लि.’को जग बसाएकी हुन् । गोजी झारझुर र तानतुन गरेको पैसाले उनले आवश्यक सामाग्रीहरु किनिन् ।
‘सुरुमा मैले १० लाखमा स्टार्टअप सुरु गर्ने योजना बनाएकी थिएँ,’ हालैको एक मध्यान्ह हेल्थआवाजसँग उनले भनिन्, ‘तर, क्लिनिक पूर्ण सेटअप गर्दा अलि बढी खर्च भयो । अहिले त लगानी नै १५ लाख पुगिसकेको छ ।’ अफिस सेटअपदेखि सामानको किनमेलसम्म पनि उनी एक्लै खटिइन् । कुर्सीदेखि प्राविधिक सामाग्रीसँग जोहो, सेटअप र टिम निर्माणमा आफै कस्सिइन् ।
बिडिएस पास आउट भएपछि दुई वर्ष डा. राधिकाले अन्य अस्पतालहरुमा पनि काम गरिन् । त्यो काम गराइका क्रममा उनमा आत्मविश्वास विकास भयो । त्यो आत्मविश्वास विकास हुनुमा उनको बिरामीसँग आफ्नै नेटवर्क निर्माण हुनु पनि एक कारण थियो । ‘२÷३ वर्ष जागिर गरेपछि आफूमा आत्मबल विकास भयो,’ उनले सुनाइन्, ‘र आफैले सुरु गरे ।’ अस्पतालमा काम गर्दा उनले मार्केटिङ र बजार बुझ्ने अवसर पाइन् । त्यही कारण मिलिनियम स्माइल सुरु गर्दा उनलाई सजिलो भयो ।
सुरुवाती दिनमा नयाँ क्लिनिकको प्रचार—प्रचार र ब्राण्डिङ थिएन । त्यसकारण बिरामीको संख्यामा कम थियो । तर, डा. राधिकाले आफ्नो नेटवर्कबाट बिस्तारै बिरामीलाई तान्न थालिन् । क्रमसः बिरामीको संख्या पनि बढ्दैं गएको छ । ‘पहिला काम गर्दा स्कीमलगायतका विविध आइडिया पनि थिएँ,’ उनले भनिन्, ‘आफ्नो क्लिनिक सुरु भएसँगै त्यसको सदुपयोग गरेर डिस्काउन्टसहितको स्कीम बनाए ।’ स्कीमका कारण ग्राहकको संख्यामा बढोत्तरी भयो । अब उनी हरिसिद्धी र गोदावरीका वस्तीहरुमा बिस्तारै दन्त शिविर गर्ने योजनामा छिन् ।
यस्ता शिविरले एक त गाउँ र त्यहाँका स्थानीयहरुले घरदैलोमै दन्त परीक्षण गर्ने अवसर पाउनेछन् । अर्को, डा. राधिकाको मिलिनियम स्माइलको नाम पनि थाहा नपाएका गाउँलेसम्म पुग्नेछ । यसले स्थानीय र उनको क्लिनिक दुवैलाई फाइदा पुग्ने विश्वास उनले लिएकी छन् । जाडोमाभन्दा बढी गर्मीमा बिरामीहरु परीक्षणका लागि क्लिनिकमा आउने गरेको अनुभव उनले सुनाइन् ।
अहिले मिलिनियम स्माइलमा डा. राधिका फुलटाइम काम गर्छिन् । जागिरभन्दा फरक आफ्नै क्लिनिक भएकाले उनले अलि फ्रिडम पाएकी छन् । उनीसँगै उनकी एक असिस्टेन्ट पनि फुलटाइम नै हुन् । त्यसबाहेक रिसेप्सन र सफाई गर्ने कर्मचारी पनि छन् । ‘हामी ४ जना मिलेर क्लिनिक चलाइरहेका छौं,’ उनले सुनाइन्, ‘म १० बजेदेखि ६ बजेसम्म क्लिनिकमै हुन्छु ।’ त्यसबाहेक थप चार जना अन्य चिकित्सक पनि उनको क्लिनिकमा पार्टटाइम सघाउँछन् । अहिले क्लिनिकमा नियमित ग्राहक नै २ सय बढी पुगिसकेका छन् ।
डाक्टरी पढ्दा नै उनको लक्ष्य आफ्नै क्लिनिक चलाउने थियो । ‘जुन मैले सुरु गरे । राम्रो टिम बनाएर क्लिनिक संचालन गर्दा सफल हुन सकिने रहेछ,’ उनी भन्छिन्, ‘मलाई पहिलेदेखि नै आफैले केही काम गर्नुपर्छ आफ्नै केही गर्नुपर्छ भन्ने सोच थियो, त्यहीअनुसार अघि बढेकी हुँ ।’ राष्ट्रसंघमा जागिर गर्ने डा. राधिकाको चाहना हो । ‘तर, त्यो पेशाले मिल्दैन्,’ उनले कारण खुलाइन्, ‘त्यसैले भविष्यमा यही पेशामै केही गर्नुछ ।’ यी फरासिली चिकित्सकलाई सबैभन्दा बढी के कुराले खुसी दिन्छ ? भन्छिन्, ‘मलाई बिरामीले उपचारपछि प्रोत्साहन गर्दा खुसी मिल्छ ।’
अहिले पिजीका लागि तयारी समेत गरिरहेकी छन्, उनी । हालै सम्पन्न पीजीको एकीकृत प्रवेश परीक्षामा पनि उनी सहभागी भएकी थिइन् । ‘टप ४० मा त परे टप २० मा पर्दा छात्रवृति पाइन्छ । त्यसमा ध्यान दिइरहेको छु,’ उनले भनिन्, ‘पढाइ र कामसँगै अगाडि बढाइरहेकी छु ।’ तर, एउटा समस्या उनलाई के छ भने पिजी पढ्दा फुलटाइम पढ्नुपर्ने भएकाले त्यो बेला क्लिनिकको व्यवस्थापनको जिम्मा कसलाई दिने । त्यसका लागि पनि आफूले योजना बनाइरहेको उनी बताउँछिन् ।
उपचार गर्न गएकै ठाउँमा डाक्टर बन्दा
ललितपुर ठेचोमा जन्मिएकी हुन् डा. राधिका । तर, उनी हुर्केको भने धोवीघाटमा हो । उनको प्रारम्भिक शिक्षादीक्षा परिबोध बोर्डिङ स्कुलबाट भएको हो । त्यहीबाट उनले एसएलसी उत्तीर्ण गरिन् । त्यसपछि प्लस टु पढ्न उनी डीएभी कलेज गइन्, डिएभीमा उनले इन्ट्रान्स टप गरिन् । त्यहाँबाट विज्ञान संकायमा प्लस टु अध्ययन पूरा गरिन् ।
भाइको दाँतको उपचारका लागि बेला—बेलामा उनी अल्का पुगिरहन्थिन् । त्यही क्रममा उनको मनभित्र कतै डेन्टल सर्जन बन्ने सपना थियो । त्यही सपना पूरा गर्न उनले प्लस टु सकेपछि बिडिएसका लागि इन्ट्रान्स दिइन् । नाम निस्केपछि उनी ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा पढ्न थालिन् ।
सन् २०१७ मा उनले किष्ट मेडिकल कलेजबाट बिडिएस उत्तीर्ण गरिन् । ‘सुरुमा मैले जहाँ पढे, त्यही काम गर्ने मौका पाएँ,’ उनले सुनाइन् । त्यसपछि डा. राधिकाले डेन्टल सर्जनको रुपमा जोरपाटीको आम्दा नेपालमा १६ महिना जति काम गरिन् । त्यसपछि उनी अल्का अस्पतालमा डेन्टल सर्जनका रुपमा सक्रिय रहिन् । रमाइलो अनुभव के छ भने उनी जहाँ भाइलाई उपचारका लागि लिएर जान्थिन्, त्यही कक्षमा आफै डाक्टर भएर पनि काम गरिन् । झण्डै १ वर्ष जति त्यहाँ काम गरिन् ।
‘भर्खर पास गरेर आइसकेपछि अस्पतालमा काम गर्दा कुनै उत्साह महसुस भएन्,’ उनले जागिर अनुभव साटिन्, ‘हेर्दा राम्रो देखिने हाम्रो पेसा भित्रबाट त्यति राम्रो छैन । ७-८ घण्टा खटिदा पनि राम्रो पारिश्रमिक नपाइनेजस्ता समस्या छन् ।’ त्यही कारण डा. राधिकामा काम सिकेर स्कील विकास गर्नुपर्छ भन्ने मानसिकता बनेको हो । अल्कामा काम गर्दागर्दै उनले आफ्नै क्लिनिक पनि सुरु गरिसकेकी थिइन् । कोरोनासँगै उनले अल्का अस्पतालको जागिर पनि छाडिन् । अहिले उनी फुलटाइम आफ्नै क्लिनिकमा खटिन्छन् ।