विराटनगर—प्रदेश १ को राजधानी विराटनगरमा दुई वटा मेडिकल कलेज, एउटा अञ्चल अस्पताल, आधा दर्जन नाम चलेका हस्पिटल र चार वटा आँखा अस्पताल छन् । पछिल्लो समय यहाँको हस्पिटलमा स्वदेशी मात्र होइन्, विदेशी बिरामीको पनि आकर्षण बढ्दैं गएको छ । छिमेकी राष्ट्रिय भारतका मात्र नभएर युरोपसम्मका बिरामी उपचारका लागि विराटगरसम्म आउने गरेका छन् । पछिल्लो विराटनगरलाई स्वास्थ्य सेवाका लागि उर्वर क्षेत्रका रुपमा लिने गरिन्छ । विराटनगर–४ कञ्चनबारीस्थित नोवेल मेडिकल कलेजमा ब्रेन ट्युमरको उपचार गर्न युरोपसम्मका विरामी आए । दक्षिण पूर्वी एसियामै पहिलो पटक अत्याधुनिक न्युरो सर्जरी सेवा नोबेलले सुरु गरेपछि युरोपका बिरामी गुणस्तरीय सेवा लिन यहाँका आएका हुन् ।
नोवेलले न्युरो सर्जरी सेवाका लागि दुई अर्ब २० करोड लगानी गरेर स्तरीय तथा नयाँ पद्धतिको उपचार सुरु गरेको जनाएको छ । पछिल्लो समय यहाँ विदेशी बिरामीको आकर्षण बढ्दै गएको छ । नोबेलका प्रशासकीय अधिकृत दिपेश राईले इलाम, धनकुटा, सुनसरी, उदयपुर, काठमाडौं, पोखरादेखि न्युरोका बिरामी आउने गरेको बताए । नेपालबाहेक भारत, बंगलादेश, भुटान, माल्दिभ्सलगायतका देशका बिरामी पनि उपचारका लागि नोबेल आउने गरेको हस्पिटलले जनाएको छ । उनका अनुसार दैनिक १ हजार देखि १ हजार ५ सयले सेवा लिने गरेको जानकारी दिए ।
‘गुणस्तरीय र सस्तो उपचार सेवाका कारण बिरामीको संख्या बढिरहेको छ,’ राईले भने, ‘न्युरो सम्बन्धी जटिल समस्या भएका बिरामीले पनि अब उपचारका लागि विदेश पुग्न पर्दैन ।’ न्युरो सेवाकै लागि नोवेलमा छुट्टै सय शैय्या छुट्याइएको छ । तीन वटा आधुनिक शल्यक्रिया कक्ष छन् । राईले भने, ‘मस्तिष्कको समस्याका लागि न्युरो स्वीट, नसा तथा मेरुदण्डको समस्याका लागि स्पाइन स्वीट र टाउको तथा ढाडको प्वाल पारेर गरिने शल्यक्रियाका लागि मिनिमल इन्भेजिभ स्वीटको व्यवस्था गरिएको छ ।’
नोबेलमा ओ–आर्म, आई सेभेन नेभिगेशन सिस्टम, पेन्टेरो ९०० थ्रीडी एचडी माईक्रोस्कोप, थ्री तेस्ला इन्ट्राअपरेटिभ फङ्सनल एमआरआई, रोवोटिक आर्मसहितको न्युरो ईण्डोस्कोपलगायत अत्याधुनिक उपकरण रहेकाले जटिल शल्यक्रिया पनि सफल पार्न सहज भएको नोवेलका न्युरो सर्जन डा. प्रकाश काफ्लेले बताए । न्युरो स्वीटमा दक्षिण पूर्वी–एसियामै पहिलो पटक सिमेन्स जर्मनीमा निर्मित थ्री टेस्ला इन्ट्राअपरेटिभ, ४८ च्यानल, फङ्सनल, एमआर इलास्टो, थर्मल इमेजिङ सिस्टम भएको अत्याधुनिक एमआरआई मेसिन जडान भएको छ । इलास्टो सिस्टमबाट मस्तिष्कमा चोटपटक लागेको, संक्रमण भएको वा ट्युमर के भएको हो पत्ता लगाउन सकिने डा. काफ्लेले बताए ।
अन्य विधिभन्दा कम हुने न्युरो साइन्सेजका निर्देशक डा. आइप चेरियनका अनुसार नयाँ प्रविधिले शल्यक्रिया गर्दा अस्पताल बस्नुपर्ने समय पनि आधा कम हुने, उपचार शुल्क कम पर्ने, दुखाई कम हुने र गलत शल्यक्रिया हुने सम्भावना नरहने उनले बताए । नोवेलमा मात्रै हैन विराटनगरमा न्युरो, लाइफ गार्ड, गोल्डेन, विराट नर्सिङ होम, संजीवनीलगायतका निजी क्षेत्रबाट सञ्चालित ठूला अस्पताल छन् ।
सरकारी स्वामित्वको सुविधासम्पन्न कोशी अञ्चल अस्पतालमा सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाइन्छ । मृगौला सम्बन्धी सबै प्रकारका रोगको दक्ष र अनुभवी चिकित्सकद्वारा सफल उपचार हुने गरेको छ । विराटनगरमा मृगौलाको छुट्टै उपचार गर्नका लागि नेशनल किड्नी हस्पिटल प्रा.लि. संचालनमा छ ।
न्युरोमा घुँडाको प्रत्यारोपण
विराटनगरको न्युरो अस्पतालमा घुँडाको प्रत्यारोपण हुन थालेको छ । न्युरोमा घुँडा प्रत्यारोपण सेवा सुरु भएपछि भारतको पटना र काठमाडौंसम्म जानुपर्ने बाध्यता टरेको छ । भारत र काठमाडौंमा भन्दा सस्तो शुल्कमा सेवा दिन सकिने गरी न्यूरो अस्पतालले घुँडा प्रत्यारोपण सुरु गरेको हो । न्यूरोका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. नवीनकुमार कर्णको नेतृत्वमा घुँडा प्रत्यारोपण हुने गरेको छ ।
विराटनगर बाहिर पाँच लाख रुपैयाँ बढी खर्च हुने प्रत्यारोपण विराटनगरमा भने दुई लाख ५० हजार रुपैयाँमा सम्भव रहेको अस्पतालले जनाएको छ । यहाँको अस्पतालले बसाइँको खर्चलाई न्यूनतम बनाएर शल्यचिकित्सा र घुँडामा हाल्नुपर्ने उपकरणको मात्र मूल्य लिएका छन् । यसअघि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि ‘टोटल निज जोइन्ट रिप्लेसमेन्ट सर्जरी’ भएको थियो । डा. कर्णले यहाँ प्रदान गरिने सेवाले बिरामीको समय र खर्चको अनुपातलाई निकै घटाएको बताए ।
अस्पतालका न्यूरोलोजिष्ट वीरेन्द्र विष्टका अनुसार घुँडा प्रत्यारोपण यहींका चिकित्सकबाट सफल हुनु ठूलो उपलब्धी हो । ‘अब पैसाको मुठो बोकेर भारत र काठमाडौ धाइरहन पर्दैन’, उनले भने, ‘विराटनगरमै सेवा सुरु भएको छ ।’ उनका अनुसार घुँडा प्रत्यारोपण जटिल काम हो । यसमा ठूलो जोखिम पनि हुन्छ । उनले ५० वर्षमाथिका वृद्धवृद्धामा घुँडाको हड्डी बढेर हुने दुखाई कम गर्न यस्तो प्रत्यारोपण गरिने बताए । घुँडाको हड्डी काटेर त्यसमा नयाँ निर्मित जोइन्ट उपकरण राखिन्छ । खासगरी वृद्धाअवस्थामा पुग्दै गएपछि घुँडा दुख्ने
समस्या आउने गरेको बताउँदै चिकित्सक कर्णले भने, ‘अप्रेसन पछि पूर्ववत अवस्थामा फर्कन सकिन्छ ।’ बरिष्ठ न्यूरो सर्जन डा. यामबहादुर रोक्का नेतृत्वको टोलीले न्यूरोमा विशेष गरेर नशा र टाउको सम्बन्धी रोगका बारेमा उपचार गरिरहेको छ । टाउको दुख्ने, वेहोस हुने, खुट्टा पोल्ने, झमmमाउने जस्ता समस्या नशाको रोगबाट हुने न्यूरो अस्पतालले जनाएको छ ।
कोशीमा उत्कृष्ट प्रयोगशाला
कोशी अञ्चल अस्पताल विराटनगरमा सबै प्रकारका स्वास्थ्य सेवा उपलब्ध छन् । दक्ष जनशक्ति र विश्वकै उत्कृष्ट प्रयोगशालामा क्यान्सर रोगको परिक्षणदेखि अति जटिल प्रकृतिको थाइराइडको जाँचसमेत हुन्छ । सामान्य एक्सरेदेखि मुटु र मस्तिष्कसम्मको परिक्षण गर्न सकिने मेडिकल सुपरिटेन्डेन डा. रोशन पोखरेलले बताए । उनकाअनुसार अस्पतालमा साढे ६ करोड रुपैयाँ बराबरका अत्याधुनिक यन्त्रसहितको प्रयोशाला छ ।
‘सबै खाले रोगको जाँच गर्न सकिने आधुनिक प्रविधि छ,’ डा. पोखरेलले भने, ‘१ नम्बर प्रदेशको उत्कृष्ट प्रयोगशाला र दक्ष जनशक्ति यहाँ छन् ।’ अहिले दैनिक ३ सय ५० जनाभन्दा बढी सेवाग्राही आउने गरेका छन् । अस्पतालको प्रयोगशाला कक्षमा जडान गरिएको ९ आधुनिक मेसिनमध्ये २ वटामा नियमित जाँच, २ वटामा कलेजो र मिर्गौला जाँच, एउटामा एचआईभी एड्स संक्रमितको नियमित अनुगमन परीक्षण र एउटामा मधुमेह तथा हेमोग्लोबिन सम्बन्धी विभिन्न खाले जाँच हुन्छ । त्यसैगरी थप दुई वटामा मिर्गौला, मुटु र एउटामा थाइराइडसम्बन्धी परीक्षण हुन्छ ।
कोशीमा अस्पताल विकास समितिले नियुक्ति दिइएका २५ र अस्पतालका ५० गरेर अस्पतालमा जम्मा ७५ जना चिकित्सक छन् । अनमी, स्टाफ नर्सलगायत स्वास्थ्यकर्मीहरु डेढ सय जना छन् । यहाँ दैनिक उपचार र स्वास्थ्य परिक्षणका लागि एक हजार बढी बिरामी आउने गरेका छन् । २० रुपैयाँको पूर्जी काटेपछि सर्वसाधारणले बढीमा एक हजार रुपैयाँ तिरेर सबै प्रकारका परीक्षण यस अस्पतालमा पाउन सक्छन् ।
हाईड्रोशीलको निःशुल्क शल्यक्रिया, प्रसूति सेवा, मृगौलाका बिरामीको निःशुल्क डायालासिस सेवा, असाहाय, अपाङ्ग ज्येष्ठ नागरिक तथा अन्य लक्षित वर्गलाई अस्पतालमा निःशुल्क उपचारको व्यवस्था सरकारले गरिदिएको छ ।
मेसु पोखरेलले ‘मेडिकल हब’ का रुपमा विराटनगर चिनिन थालेको बताए । ‘पछिल्लो समय धेरै खाले स्वास्थ्य सेवा प्रवाह गर्न सकिने भएका कारण विराटनगर स्वास्थ्य सेवाका लागि उर्वर क्षेत्रका रुपमा चिन्छिन्,’ उनले भने, ‘पूर्व पछिल्लो समय मेडिकल टुरिजम क्षेत्रका रुपमा विकास हुँदै गइरहेको छ ।’ पूर्वका अस्पताल र नर्सिङ होमहरु तीन सयदेखि एक हजार बेडसम्मका छन् । स्वास्थ्य क्षेत्रमा बढ्दो लगानीसँगै राम्रा चिकित्सकका लागि विराटनगर उर्वर बनेको छ । टाढासम्म पैसा खर्चिएर जानुपर्ने बिरामीका लागि सहज र उपचार प्रभावकारी हुन थालेको छ ।
सबैजसो निजी क्षेत्रका स्वास्थ्य संस्थाका संचालक चिकित्सक नै छन् । नेपाल चिकित्सक संघका अध्यक्ष डा. फरवार्ड सिलवालले सबै उपकरण र प्रविधिसहित यहाँका अस्पतालमा बिरामीको उपचार हुने गरेको जानकारी दिए । ‘बिरामीको संख्यासँगै अस्पताल र डाक्टर पनि थपिएकै छन् र निक्कै दक्ष चिकित्सक छन्,’ उनले भने, ‘गुणस्तरीय सेवा दिन सके यो क्षेत्रको लगानी खेर जाँदैन भन्ने डाक्टर र सञ्चालकले बुझेका छन् ।’
लाइफगार्ड अस्पतालका सञ्चालक डा. कैलाशकुमार श्रेष्ठले आफूहरूको लगानी १५ करोडभन्दा बढी पुगेको बताए । बरिष्ठ नाका, कान तथा घाँटी रोग विशेषज्ञ डा. श्रेष्ठका अनुसार अस्पतालमा नाक, कान, घाँटी, कार्डियोलोजी, मुटुरोग, क्यान्सरको केमोथेरापी, न्यूरोसम्बन्धी सेवा, फोक्सो, हाडजोर्नी, महिला, छाला तथा मानसिक रोगका बिरामीको उपचार हुने गरेको छ । ‘पहिला—पहिला नेपालीहरु उपचारका लागि पैसाको मुठो बोकेर विभिन्न ठाउँमा उपचारको खोजीमा भौतारिनुपर्ने अवस्था थियो,’ श्रेष्ठले भने, ‘तर अहिले परिस्थिती फरक हुँदा उपचारका लागि नेपाल छिर्ने भारतीयको ताँती नै लाग्ने गरेको छ ।’
आँखा अस्पतामला भारतीय विरामीको भरिभराउ
नेपालका सयौं मानिस भरपर्दो उपचारका लागि भन्दै भारतका विभिन्न सहरमा रहेको अस्पतालमा गएर उपचार गर्दछन् । तर आँखाको उपचारमा भने त्यसको ठीक उल्टो छ । आँखाका उपचारका लागि सीमावर्ती क्षेत्रमा सञ्चालित अस्पतालमा नेपालीभन्दा भारतीय विरामीले भरिभराउ हुने गरेको छ ।
तराई क्षेत्रमा सञ्चालन भएको आँखा अस्पतालहरुमा उत्तरपूर्वी भारत, पश्चिम बंगाल, विहार, झारखण्डलगायत भारतका राज्यबाट आँखाको उपचारका लागि दिनहुँ आउने गरेका छन् । उनीहरुले नेपालीले पाउने सुविधामै उपचार पाउने गरेका छन् ।
तराईका विभिन्न स्थानमा सञ्चालनमा आएको सुविधा सम्पन्न आँखा अस्पतालमा ७० प्रतिशत भारतीय विरामी आउने गरेको अस्पतालका सञ्चालकहरु बताउँछन् । विराटनगरमा रहेको विराट आँखा अस्पतालका प्रशासन प्रमुख राजेश प्रसाईं भन्छन्, ‘भारतीय बिरामी नै तराईका आँखा अस्पतालका लागि आर्थिक स्रोत हुन् । उनकाअनुसार नेपाली बिरामीबाट लिइने शुल्कले मात्र यत्रो आर्थिक व्ययभार थाम्न सकिदैन् ।’
विराटनगर महानगरपालिका क्षेत्रमा सञ्चालित चारवटा आँखा अस्पताहरु छन् । विराटनगर, विराट, गोल्छा, तापडिया आँखा अस्पताल सञ्चालन छन् । यी अस्पतालमा पनि नेपालीभन्दा भारतीय विरामीहरुले भरिभराउ हुने गरेको छ ।
आँखाको उपचार राम्रो सेवा नेपालमा भएका कारण भारतीय बिरामी यसरी आकर्षित भएका छन् । विराटनगर आँखा अस्पतालका प्रबन्ध निर्देशक कुमार पृथुका अनुसार अस्पतालमा दैनिक १२ सय हाराहारी आँखाको समस्या लिएर बिरामीहरु आउने गरेका छन् । ती मध्ये अधिकाशं भारतीय विरामी आउने गरेको उनले बताए । आर्थिक वर्ष ०७४/०७५ मा ३ लाख ६० हजार जनाको विराटनगर आँखा अस्पतामा आँखाको परीक्षण गरिएको अभिलेखमा देखिन्छ । जसमध्धे २ लाख १६ हजार भारतीयबाट आएका विरामीले उपचार गरेको पृथुले जानकारी दिए । ६७ हजार ५ सय जनाको आँखाको शल्यक्रिया भएको सबैभन्दा बढी मोतियाबिन्दुको समस्या भएको विरामी भएको उनले बताए । शल्यक्रियामा पनि ७० प्रशित भारतबाट आएको बिरामी कै भएको अस्पतालको भनाइ छ ।
प्रदेशमा तीन अञ्चल र १३ जिल्ला अस्पताल
१ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले दिएको जानकारीअनुसार प्रदेशमा तीनवटा अञ्चल अस्पताल र १३ वटा जिल्ला अस्पतालहरु छन् । जिल्ला अस्पताल सरहका चारवटा सरकारी अस्पताल छन् । विराटनगरमा चार वटा आँखा अस्पतालसहित २८ वटा स्वास्थ्य संस्था रहेको मन्त्रालयले जनाएको छ । विराटनगरको अस्पतालबाट आर्थिक वर्षमा २०७४/०७५ मा ३ लाख ७१ हजार २ सय ६३ जना महिला, २ लाख ८४ हजार २ सय ३६ जना पुरुष गरी ६ लाख ५५ हजार ४ सय ९९ जनाले ओपिडीमा सेवा लिएको प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाको अभिलेखमा उल्लेख छ ।