नेपालमा अनुसन्धान र प्राज्ञिक कर्मलाई कम महत्व दिने गरिन्छ । नीति—निर्माणमा अनुसन्धानका फाइण्डिङहरुलाई आधार बनाइदैंन् । अनुसन्धान केन्द्र मानिने विश्वविद्यालयहरु नै अहिले चरम राजनीतिकरणका कारण थलिएका छन्, त्यहाँ निकै कम अनुसन्धान हुने गरेको छ । भनिन्छ—आशाका स—साना किरण सही त्यसले सुदूर भविष्यसम्म बाटो देखाउँछन् । गुपचुप रुपमा दैनिक रुपमा घट्ने चोटपटक र दुर्घटनाका घटना न्यूनीकरणमा टेवा पुर्याउने उद्देश्यका साथ अनुसन्धानात्मक काम गरिरहेको छ—नेपाल इन्जुरी अनुसन्धान केन्द्र (एनआईआरसी) ।
जनस्वास्थ्यका मुख्य समस्याहरुमध्येमा पर्ने सडक दुर्घटनाका नेपालमा वर्षेनी ठूलो धनजनको क्षति हुने गरेको छ । त्यही कारण सडक सुरक्षालाई प्राथमिकतामा राखेर अनुसन्धान गर्दै आएको यो केन्द्रको नेतृत्व गरिरहेका छन्—प्रा.डा. सुनिलकुमार जोशी । यी प्रोफेसर सन् २००६ देखि दुर्घटना तथा चोटपटक रोकथामका क्षेत्रमा अनवरत सक्रिय छन् । सन् २००६ देखि सन् २०१३ सम्म उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको दुर्घटना तथा चोटपटक रोकथाम कमिटीसँग विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को कन्सल्ट्यान्टका रुपमा भूमिका निभाए । डा. जोशीले स्वास्थ्य मन्त्रालयकै नसर्ने रोग सम्बन्धी कमिटीको सदस्यका रुपमा पनि काम गरे ।
सो क्रममा सरोकारवाला छलफलमा हुँदा दुर्घटना तथा चोटपटकका घटनाको तथ्यांक खोजी हुने गथ्र्यो । तर, प्राथमिक तथ्यांक नै नभेटिने अवस्था थियो । दुर्घटना र चोटपटक कति ठूलो जनस्वास्थ्य समस्या हो भन्ने बुझाउन पनि प्राथमिक तथ्यांक आवश्यक हुन्थ्यो । तर, तथ्यांक नभएकाले सरकारको नीति निर्माणमा रहेकाहरुलाई प्रष्टसँग यो जनस्वास्थ्य समस्याबारेमा बुझाउन असम्भव थियो ।
विदेशीहरुसँग नेपालमा चोटपटक र दुर्घटनाको समस्या ठूलो छ भनेर भन्न नसकिने अवस्था थियो किनभने त्यसका लागि पर्याप्त तथ्यांकहरु थिएनन् । दुर्घटना तथा चोटपटकबाट वार्षिक रुपमा मृत्यु हुने र चोटपटकबाट कति अंगभंग हुन्छ, चोटपटक र दुर्घटनाका कारण हस्पिटलमा कति भर्ना हुन्छन्, कति आर्थिक बोझ मुलुकलाई थपिन्छ भन्ने कुराहरु पनि अस्पष्ट थिए । दुर्घटना र चोटपटकका कारण कति व्यक्ति अस्पतालको इमर्जेन्सीमा पुगे भने तथ्यांक भएपनि एकीकृत रुपमा थिएन । त्यही कारण यसमाथि अध्ययन—अनुसन्धान अति जरुरी भइसकेको थियो ।
यो आवश्यकता डा. जोशीले मज्जासँग अनुभव गरेका थिए । चोटपटक र दुर्घटनाका क्षेत्रमा सक्रिय उनी सन् २०१० मा लण्डनमा ‘सेफ्टी कन्फ्रेन्स’ भाग लिन गए । कन्फ्रेन्समा उनको पोष्टर र ओरल प्रिजेन्टेसनहरु थिए । त्यही सम्मेलनमा आएकी थिइन्—बेलायतको युनिभर्सिटी अफ वेस्ट अफ इग्ल्याण्डकी प्रा.डा. जुली मिट्टन । प्रा.डा. मिट्टनले बेलायतमा थुप्रै नेपाली विद्यार्थीलाई पिएचडी गर्दा गाइड गर्नुभएको रहेछ,’ डा. जोशी सम्झन्छन्, ‘त्यसमध्ये डा. पुष्प पन्त, डा. सन्तोष भट्ट पनि थिए ।’ यी दुई जनामार्फत डा. जोशीको भेट प्रा.डा. मिट्टनसँग भयो ।
चार—पाँच दिन लामो उक्त सम्मेलनमा विविध विषयमा छलफल चल्यो । त्यही क्रममा नेपालमा हुने दुर्घटना र चोटपटकका क्षेत्रमा सँगै काम गर्ने र बेलायत सरकारको ग्रान्टका लागि आवेदन दिने सल्लाह भयो । त्यसका लागि एउटा संस्था बनाउनुपथ्र्यो । डा. जोशीको नेतृत्वमा सन् २०१७ मा ‘नेपाल इन्जुरी अनुसन्धान केन्द्र (एनआईआरसी)’ स्थापना गरियो । ‘अन इन्टेशनल इन्जुरी प्रिभेन्स’का लागि नेपालमा नीति—निर्माण गर्न समेत तथ्यांकहरु नभएको हुँदा प्राथमिक तथ्यांकहरु उपलब्ध गराएर नेपाल सरकारलाई दुर्घटना र चोटपटकबारे नीति निर्माणमा कसरी सल्लाह दिन सकिन्छ र सहकार्य गर्न सकिन्छ, ‘अन इन्टेशनल इन्जुरी’लाई कसरी रोक्न सकिन्छ भन्ने उद्देश्यका साथ संस्था स्थापना गरियो । यो संस्थाको स्थापनाको अगुवाई नेपालबाट केन्द्रका नेपाल निर्देशक प्रा.डा. जोशी र बेलायतबाट केन्द्रकी बेलायत निर्देशक प्रा.डा. मिट्टनले गरे । त्यसमा दुवैतिर अरु सहयोगी हातहरु पनि थिए । संस्था बनेपछि पहिलो पटक बेलायत सरकारको स्वास्थ्य मन्त्रालयको नेशनल इन्स्टिच्युट फर हेल्थ रिसर्चको ग्लोबल हेल्थ ग्रान्टका आवेदन दिए ।
पहिलो प्रयासमै केन्द्रले अनुसन्धान ग्रान्ट हात पार्यो । ‘हामी यसमा लक्की ठहरियौं । नत्र पहिलो पटक नै यस्तो ग्रान्ट पाउन सकिदैंन्,’ डा. जोशी सुनाउँछन् । ग्राण्ट पाएपछि एनआईआरसीले सरोकारवाला निकाय स्वास्थ्य मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)सँग मिलेर सबै कामहरु अगाडि बढायो । नेपालमा १० जना र बेलायतमा ७ जनाको अनुसन्धान टिम सक्रिय भयो । एउटा प्रोजेक्ट भएपनि एनआईआरसीले धेरै गतिविधीहरु अगाडि बढायो ।
त्यसपछि केन्द्र काठमाडौं मेडिकल कलेज र बेलायतको युनिभर्सिटी अफ वेस्ट अफ इंग्ल्याण्डसँगको सहकार्यमा बेलायतको स्वास्थ्य मन्त्रालयको नेशनल इन्स्टिच्युट फर हेल्थ रिसर्चको ग्लोबल हेल्थ ग्रान्टअन्तर्गत अगाडि बढ्यो । सुरुमा विश्वभरका अनुसन्धानकर्ताहरुले नेपालमा भएका दुर्घटना तथा चोटपकका विषयमा कति वटा अनुसन्धान गर्यो भन्ने विषयमा सिष्टमेटिक रिभ्यु गरियो । ‘कुनै पनि अनुसन्धान गर्नुअघि यसबारेमा तथ्यांकहरु त चाहियो,’ उनले सुनाए, ‘त्यसबाट हामीले बेसलाइन इन्फर्मेसन प्राप्त गर्यौं ।’ यसबाहेक त्यो अनुसन्धानबाट आइडियाहरु पनि प्राप्त भए । त्यही आइडियाअनुसार सहर र गाउँलाई जोड्ने गरी काठमाडौं र मकवानपुरलाई अनुसन्धानको कार्यक्षेत्र बनाएर थप अनुसन्धान अगाडि बढाइयो । नेपाल इन्जुरी अनुसन्धान केन्द्रले प्रारम्भदेखि नै आफ्ना अनुसन्धानहरुमा स्थानीय सरोकारवालाहरुलाई महत्व दिन थाल्यो ।
स्थानीय जनप्रतिनिधी, स्वास्थ्य शाखा प्रमुखहरुसँगको सहकार्यमा मकवानपुरमा ग्रामीणदेखि सहरी वस्तीहरुसम्म ३ हजार ५ सय वटा घरधुरीमा चोटपटक दुर्घटना कस्ता हुन्छन् भनेर अनुसन्धान गरियो । यसैगरी, एक वर्ष मकवानपुरका दुर्घटना र चोटपटकका बिरामी आउने दुई ठूला अस्पताल हेटौडा अस्पताल र चुरेहिल अस्पतालमा अनुसन्धान गरियो । जसमा कसरी दुर्घटना वा चोटपटक लाग्यो ? के कारणले भयो ? फस्ट एडको अवस्था के रह्यो ? हस्पिटल आउन कति समय लाग्यो ? के मा आयो ? कसरी आयो ? हस्पिटलमा उपचार कसरी भयो ? कति दिन अस्पतालमा बस्नुपर्यो ? लगायत घटनाको विस्तृत पक्षमाथि अनुसन्धान गरियो । त्यसबाट प्राप्त तथ्यांक विश्लेषणबाट नेपालको कुनै पनि अस्पतालमा ‘इन्जुरी सर्विलेन्स’ गर्न सकिन्छ भनेर प्रष्ट भयो ।
यी दुई अनुसन्धानको रिपोर्ट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई हस्तान्तरण गरियो । ‘अनुसन्धानको रिपोर्ट अध्ययनपछि उहाँहरु न्यून बजेटमा नेपालको कुनै पनि अस्पतालमा इन्जुरी सर्विलेन्स गर्न सकिन्छ भन्नेमा कन्भिस हुनुभयो,’ प्रा.डा. जोशीले भने । त्यसपछि यसमाथि विभिन्न अस्पतालहरुले काम गर्न थाले ।
एनआईआरसी सडक दुर्घटनामाथि पनि अनुसन्धान गर्यो । सड्क दुर्घटनासँग सबैभन्दा बढी जोडिएर आउथ्यो—ट्राफिक प्रहरी । एनआईआरसीले नेपाल रेडक्रस सोसाइटीसँग मिलेर ट्राफिक प्रहरीलाई ‘फस्ट रेस्पोन्स ट्रेनिङ’ दियो । त्यो तालिम कति उपलब्धिमूलक बन्यो भनेर पुनः ६ महिनापछि अर्को अध्ययन गरियो । जसबाट ‘फस्ट रेस्पोन्स ट्रेनिङ’ निकै उपयोगी बनेको पाइयो ।
एनआईआरसी दुर्घटनासँग जोडिने एम्बुलेन्सका चालक, सह—चालक र सरोकारवाला संस्थाहरुले गरिरहेको काममाथि पनि अनुसन्धान गर्यो । स्कुलमा जाने बालबालिका सडक दुर्घटनाको सम्भावना बढी हुने भएकाले बालबालिकाकै आँखाबाट हेर्न डिजिटल क्यामरामार्फत दुर्घटना हुने सम्भावित क्षेत्रको फोटो खिचेर अध्ययन गरियो । जोखिमयुक्त ठाउँ र अवस्थाबारे खिचिएका फोटोहरु हेरेर पुनः बालबालिकासँगै गएर अनुसन्धान गरिएको डा. जोशीले जानकारी दिए ।
घरेलु उद्योगमा लाग्ने चोटपटक र हुने दुर्घटनामा क्वालिटेटीभ स्टडी गरियो । सबै दुर्घटनाको प्रहरी कहाँ रेकर्ड हुन्छ कि हुँदैन् भनेर हेटौडामै अनुसन्धान भयो । जसमा २७ प्रतिशत चोटपटक र दुर्घटनाका घटनाहरु प्रहरीको रेकर्डमा नआउने गरेको भेटियो । ‘नेपालमा सडक दुर्घटना र चोटपटकको सबैभन्दा राम्रो डाटा नेपाल प्रहरीसँग भएको डाटा हो,’ डा. जोशी भन्छन्, ‘यो भन्दा राम्रो डाटा छैन तर त्यो सम्पूर्ण दुर्घटनाको डाटा होइन् ।’ यसैगरी, कसरी सडक सुरक्षित गर्न सकिन्छ, कार्यस्थलमा हुने दुर्घटना, अस्पताल पुग्नुअघि कस्ता उपचार पाए, फष्ट रेस्पोन्सका चुनौती र सम्भावना, सुसाइड प्रिभेन्सनमा कस्ता अनुसन्धान सकिन्छ, दुर्घटनाका कारण पर्ने आर्थिक भारलथगायतका पहिलो प्रोजेक्टमा एनआईआरसीले झण्डै १८ वटा महत्वपूर्ण अनुसन्धान गर्यो । एनआईआरसीले गरेका कामले नेपाल सरकारलाई इन्जुरी प्रिभेन्सका लागि कस्ता क्रियाकलाप गर्ने भन्नेमा सहयोग पुगेको छ ।
अनुसन्धानसँगै एनआईआरसी काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्टससँगको सहकार्यमा विद्यार्थीहरुलाई सहभागी गराएर इन्जुरी र दुर्घटनाको प्रिभेन्सनका आईईसी म्याटर बनाउन लगाइयो । ‘आईईसी म्याटर स्नातकको फाइनल एयरको थेसिस नै बनाइयो,’ उनले भने, ‘आईईसी म्याटरलाई पम्प्लेट, प्रोष्टर, क्यालेन्डर बनाएर हेल्थ एजुकेशनका क्रियाकलाप गर्यौं ।’ इन्जुरीलाई नेपालीमा के भन्ने शब्द भेटाइदैंन् । एनआईआरसी समाजशास्त्री, मानवशास्त्री, सामाजिक विज्ञानका विज्ञहरुसँग मिलेर इन्जुरीलाई नेपालीमा कसरी परिभाषित गरिएको भनेर छलफल पनि चलाइयो ।
नेपालमा सडक दुर्घटनाका समाचार मिडियामा आउँदा दुर्घटना भएको खबरमात्रै छापिन्थ्यो । एनआईआरसी डब्लूएचओको गाइडलाइन नेपालीमा अनुवाद गरेर संचारकर्मीहरुलाई हेटौडा र काठमाडौंमा दुई—दुई पटक तालिम दियो । उक्त तालिममा दुर्घटनाको समाचारका अलावा कारण खोज्ने र सम्भावित दुर्घटना टाल्न सकिने विषयमा पनि रिपोर्टिङ गर्न प्रोत्साहित गरिएको निर्देशक डा. जोशीले बताए । ‘दुर्घटनाको रिपोर्टिङमा फ्लोअप गर्न पनि हामीले प्रेरित गर्यौं,’ उनले थपे, ‘त्यसपछि सडक दुर्घटनाबारेको मिडिया रिपोर्टिङ प्रभावकारी देखिन थाल्यो ।’
सन् २०१८ देखि २०२१ सम्म युडब्लूई—ग्लोबल च्यालेन्ज रिसर्च फण्ड क्युआर एवार्डअन्तर्गत ‘कन्सेप्ट अफ इन्जुरी’ र इन्कुलुसिव सेफ मोबिलिटी दुई वटा महत्वपूर्ण अनुसन्धान केन्द्रले गर्यो । एनआईएचआरअन्तर्गत ग्लोबल हेल्थ रिसर्च प्रोग्रामअन्तर्गत पनि सन् २०१७ देखि सन् २०२१ सम्म विविध कार्यक्रमहरु एनआईआरसीमा संचालन भए । सडकलाई सुरक्षित बनाउने भन्दैं नेपालमा ‘नेपाल सड्क सुरक्षा कार्ययोजना—सन् २०१३—२०२०’ लागु गरियो । तर, त्यसले पनि परिणाम निकाल्न सकेन ।
सन् २०२० मा डा. जोशी बेलायत पुगेका बेला डा. मिट्टनसँग यो विषयमा विचार—विमर्श भयो—‘त्यो किन सफल भएन् ?’ दुई जनाबीच रोड सेफ्टीका पाँच वटा पिलरहरु— सडक सुरक्षा व्यवस्थापन, सुरक्षित सड्क तथा आगमन, सुरक्षित सवारीहरु, सुरक्षित सडक प्रयोगकर्ताहरु, दुर्घटनापश्चात उद्धारमा तदारुकतामा काम गर्नेहरुसँग अनुसन्धान गरौं भन्ने सल्लाह भयो । सन् २०२०—२०२१ मा एनआईएचआरअन्तर्गत नै ग्लोबल हेल्थ पोलिसी एण्ड सिष्टम रिसर्च प्रोग्राम डेभलपमेन्ट एवार्डअन्तर्गत नेपालमा सडक सुरक्षाका लागि प्राथमिकताहरुको पहिचान गर्ने योजना बन्यो । ‘त्यहीअनुरुप बेलायत सरकारसँग फण्डिङका लागि आवेदन दियौं, फण्डिङ पाइहाल्यौं,’ डा. जोशीले भने ।
काम सुरु गर्नै लाग्दा कोभिड—१९ का कारण लकडाउन भयो । छलफल, भेटघाट, अन्तर्वार्ता केही पनि गर्न नसकिने भयो । एनआईआरसीको अनुसन्धान टिमले सबै कुरा अनलाइन प्लाटफर्ममार्फत सम्पन्न गर्यो । रोचक त के भने त्यो बेला एनआईआरसीले पाएजस्तै अन्य देशका अनुसन्धान केन्द्रहरुले पनि यो ग्रान्ट पाएका थिए तर उनीहरु कसैले पनि काम गर्न सकेनन् । ‘हामीले राम्रोसँग सफलतापूर्वक प्रोजेक्ट सक्यौं । बेलायत सरकारको फण्डिङ एजेन्सीले वान अफ द वेष्ट प्रोजेक्ट भनेर हामीलाई मान्यता दियो,’ उनले थपे, ‘समय थोरै एक्स्टेन्सन गरेर भएपनि एकदमै सफलतासाथ सम्पन्न गर्यौ ।’ यतिमात्र होइन् दातृ निकायले यो सफल प्रोजेक्टको कथा अन्य स्टेक होल्डरलाई पनि सुनाउन अवसर प्रदान गर्यो ।
त्यही सफल प्रोजेक्ट र रिसर्चबाट आएका रिसर्च प्रश्नमाथि एनआईआरसीले अध्ययनका लागि आवेदन दियो । उक्त क्रेडिबिलिटीकै कारण फण्डिङ पाएर अहिले एनआईआरसी ‘सेफ ट्रिप नेपाल’अन्तर्गत विभिन्न ६ वटा अनुसन्धान गरिरहेको छ । जसले नेपालको सडक दुर्घटनाको नीतिगत, कार्यन्वयन र व्यवहारिक पक्षहरुलाई विस्तृत रुपमा केलाउनेछ । ‘यी अनुसन्धानको निष्कर्षले नेपालको सडक सुरक्षा नीतिगत र व्यवहारिक सुधारका क्षेत्रमा महत्वपूर्ण मार्ग निर्देशन गर्नेछ,’ डा. जोशी आशावादी देखिए, ‘सडक दुर्घटनाका बिरामीहरुको रेखदेख, उपचारमा रहेका राम्रा नराम्रा पक्षलाई पनि देखाउनेछ ।’
दुवाकोटस्थित एनआईआरसी फर्मुला नै हो एउटा अनुसन्धानको फाइण्डिङबाट निस्केको प्रश्नबाट अर्को अनुसन्धान गर्ने र स्टेक होल्डरसँगै इन्गेज भएर काम गर्ने । त्यही कारण ८ वर्षअघि १७ जनाबाट सुरु भएको एनआईआरसीअन्तर्गत अहिले झण्डै ४० जना अनुसन्धानदाता सक्रिय छन् । अहिले आठ वटा पालिकाका एनआईआरसीले काम गरिहेको छ भने मीरा नेपाल र एसएसटीएनसँग पनि सहकार्य गरिरहेको छ । युनिसेफका अनुसन्धान पनि एनआईआरसीको हातमा छन् । ‘यी सबै अनुसन्धानका लागि अहिले ठूलो टिम सक्रिय छ,’ डा. जोशीले भने ।
सुरुमा नेपाल सरकारलाई एनआईआरसीले गर्ने अध्ययन—अनुसन्धानबारे धेरै जानकारी थिएन । तर, एनआईआरसीका अनुसन्धानहरु स्वास्थ्य मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयमा बुझाइसकेपछि महत्वपूर्ण स्टेक होल्डरका रुपमा लिन थालेका छन् । राष्ट्रिय सडक सुरक्षा परिषद्मा एनआईआरसीसमेत सदस्य छ । ‘सडक सुरक्षा सम्बन्धी बैठकहरुमा मन्त्रालयले नै हामीलाई आमन्त्रण गर्छ,’ उनले भने, ‘अहिले मन्त्रालयसँग सहकार्य निकै राम्रो छ ।’ अनुसन्धानबिना सडक दुर्घटना र चोटपटक नियन्त्रण हुन सक्दैन् भन्ने विषयमा पनि मन्त्रालयको नेतृत्व एकमत रहेको उनको भनाइ छ ।
चोटपटक र दुर्घटनामा पायोनियर अनुसन्धान संस्था एनआईआरसीको भविष्यको योजना के छ ? निर्देशक डा. जोशी भन्छन्, ‘नेपालमा युवा जनस्वास्थ्य र चिकित्सक पढेर काम गर्छु भनेर आउने युवाहरुलाई नेपाल इन्जुरी रिसर्च सेन्टरले अनुसन्धानकर्ताका रुपमा ग्रोथ गर्न लागि परेको छ । योग्य अनुसन्धानकर्ता देशलाई दिने हाम्रो लक्ष्य हो ।’ सेन्टरले इथिकल क्लिरेन्स, तथ्यांक संकलन, तथ्यांक इन्ट्री, तथ्यांक एनलाइसिस, आर्टिकल लेख्नेदेखि प्रकाशित गर्नेसम्मका सबै प्रक्रियामा रिसर्चरलाई सघाउँछ । त्यसबाहेक ग्रान्ट एप्लीकेसनमा पनि उनीहरुलाई सहभागी गराइन्छ । ‘रिसर्चको लाइफ साइकल सबै सिकाउँछौं,’ डा. जोशी भन्छन्, ‘हामी फ्रेस रिसर्चरलाई उच्च महत्व दिएर प्रमोट गर्दै आएका छौं ।’
परिणाम नै मान्नुपर्छ केन्द्रले अहिलेसम्म ३५ जनाभन्दा बढी फ्रेस अनुसन्धानकर्तालाई ट्रेन गरिसकेको छ । ‘हामीले ट्रेन गरेका व्यक्तिहरुले संसारका प्रतिष्ठित युनिभर्सिटीमा छात्रवृत्ति पाएका छन्,’ डा. जोशीले थपे, ‘हामीले ट्रेन गरेको व्यक्तिले अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो ख्याति कमाएका छन् ।’ केन्द्रले ट्रेन गरेका रिसर्चरहरु जुनसुकै ठाउँमा गएर काम गर्न योग्य बनाएर पठाउने गरेको छ । ‘हामी रिसर्चरलाई कम्पिलिट प्याकेज उपलब्ध गराउँछौं,’ उनले थपे । त्यसबाहेक देश—विदेशमा तालिमका लागि पनि केन्द्रले पर्याप्त बजेटको व्यवस्था गरेको छ भने छात्रवृत्तिका लागि आवेदन दिन पनि सहयोगी भूमिका खेल्ने गरेको छ । कतिपय लामो—लामो तालिमका लागि अपुग बजेटको प्रबन्ध पनि केन्द्रले गरिदिन्छ । डब्लूएचओको ‘मेन्टर भिपाईपी’ तालिम लिने केन्द्रका अनुसन्धानकर्ताको संख्या झण्डै आधा दर्जन पुगिसकेको छ ।