२०८१ भदौ ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्ट४३ प्रतिशत शेयर किनेर नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा भित्रियो ह्याम्स अस्पताल समूह

४३ प्रतिशत शेयर किनेर नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा भित्रियो ह्याम्स अस्पताल समूह

भक्तपुरमा कर्पोरेट अस्पतालको अभाव हटाउन नागरिकमा भित्रियौं : भण्डारी


काठमाडौं—भक्तपुर मध्यपुर ठिमी—०३ गठ्ठाघरस्थित १०० शैय्याको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडको ४३ प्रतिशत शेयर स्वामित्व ह्याम्स हस्पिटलले लिएको छ । ह्याम्स अस्पताल संचालन गरिरहेको आरएस भण्डारीको समूहले अस्पताल र नागरिक कलेज अफ हेल्थ साइन्सको ४३ प्रतिशत शेयर किनेको हो ।

नागरिकको ४३ प्रतिशत शेयर किन्न ह्याम्स समूहले ९ करोड ९१ लाख रुपैयाँमा लगानी गरेको छ । ह्याम्स अस्पतालका अध्यक्षसमेत रहेका नागरिकका नवनियुक्त अध्यक्ष आरएस भण्डारीले आफूहरुले भक्तपुरमा कर्पोरेट अस्पताल विकास गर्ने उद्देश्यका साथ नागरिकको ४३ प्रतिशत शेयर किनेको पुष्टि गरे । ‘हामीले अस्पतालको २२ लाख ७३ हजार कित्तामध्ये ९ लाख ९१ हजार कित्ता शेयर खरिद गरेका छौं,’ उनले भने, ‘जनसंख्या धेरै भएपनि भक्तपुरमा कर्पोरेट अस्पतालको अभाव छ । त्यही अभाव पूरा गर्ने उद्देश्यका साथ हामीले त्यहाँ गएका हौं ।’

ह्याम्स समूह भित्रिएसँगै नागरिकको अध्यक्षमा भण्डारीसहित ६ जना बोर्ड सदस्य ह्याम्स समूहका आएका छन् । बोर्डमा ह्याम्स समूह प्रवेशसँगै नागरिक अस्पताललाई कर्पोरेट अस्पतालका रुपमा विकास गर्ने गरी काम समेत सुरु भइसकेको छ । अस्पतालले २४ घण्टा एमडिजिपी विशेषज्ञलाई राखेर इमर्जेन्सी सेवा सुरु गरिसकेको छ । ‘एमडिजिपीमार्फत २४ घण्टा इमर्जेन्सी सेवा सुरु गरिसकेका छौं, जुन भक्तपुरमा पहिलो हो,’ उनले भने, ‘अस्पताललाई ह्याम्सस्तरको कर्पोरेट अस्पतालका रुपमा विकास गर्छौ ।’

यसैगरी, अस्पतालको नयाँ अत्याधुनिक भवन निर्माणका लागि नक्सा पास भइसकेको छ भने कात्तिकसम्म जग खन्ने तयारी पनि नयाँ व्यवस्थापनले गरेको छ । ‘अहिले अस्पताल रहेको ठाउँमा १२ हजार स्क्वार फिट भाडामा लिएर नयाँ संरचना तयार गर्दैछौं,’ अध्यक्ष भण्डारीले थपे, ‘असोजसम्म तयार पारेर सेवा अझ वृहत बनाउँछौं ।’ भक्तपुरमा कर्पोरेट अस्पतालको अभावमा धेरै बिरामीले अस्पतालसम्म पुग्न नपाएर बाटैंमा अकालमा ज्यान गुमाउनु परेको गुनासोसमेत आफूले सुन्ने गरेको बताउँदैं उनले त्यस्ता केसहरुलाई त्यही स्टेबलाइज गरेर सुविधासम्पन्न अस्पतालमा पुर्‍याउने गरी अत्याधुनिक एम्बुलेन्सको व्यवस्था पनि आफूहरुले गरेको बताए ।

ह्याम्स समूह भित्रिएसँगै ७ वर्षअघि नागरिक अस्पताल भित्रिएको शैलेन्द्रमोहन झासहित ७ जनाको टिम बाहिरिएको छ । झासहित अरुण पाण्डे, सुरेश श्रेष्ठ, डा. श्वेता झा, नागेन्द्र झा, डा. शिवेन्द्र झासहितका ७ जनाले आफ्नो सम्पूर्ण शेयर बेचेका छन् । ‘हामीले आफ्नो सबै शेयर बेचेर बाहिरियौं,’ शैलेन्द्रमोहनले हेल्थआवाजसँग भने ।

ह्याम्स समूहले ७ प्रतिशत थप शेयर लिने गृहकार्य पनि अन्तिम चरणमा पुगेको स्रोतको दावी छ । ‘४३ प्रतिशत शेयर औपचारिक रुपमा लिइसकेका छौं । ४८ प्रतिशत शेयर हामीले लिने निश्चित भएको छ,’ ह्याम्स स्रोतले भन्यो । नागरिकसँग १०० शैय्याको अस्पतालसँगै १२ रोपनी जग्गा र ३ तलाको नागरिक कलेज अफ हेल्थ साइन्स (आफ्नै स्वामित्व) को सम्पत्ति छ । नागरिक कलेज अफ हेल्थ साइन्सले  बीएन, बीएस्सी नर्सिङ र एचएका शैक्षिक कार्यक्रम संचालन गरिरहेको छ ।

नागरिक कम्युनिटी टिचिङ हस्पिटलको कथा

१७—१८ वर्षअघि नागरिक कम्युनिटी टिचिङ हस्पिटलको सुरुवात मुनाल क्लिनिकबाट भएको थियो । सुरुमा मुनाल सहकारी फण्डको ३० लाख रुपैयाँ र अन्य सेयर सदस्यहरुले ६५ लाख रुपैयाँ जम्मा गरेर २०६८ सालमा मुनाल पोलिक्लिनिक सुरु गरेको अस्पतालका संस्थापक अध्यक्ष तथा वोर्ड सदस्य जितेन्द्र श्रेष्ठले जानकारी दिए । मुनालले विहान र बेलुकीमात्रै ओपीडी सेवा दिन्थ्यो ।

‘त्यसपछि हामीले हस्पिटलको नै आवश्यकता महसुस गर्‍यौं,’ संस्थापक जितेन्द्र श्रेष्ठ भन्छन्, ‘१५ शैय्याको हस्पिटलको १५ दर्ता गर्‍यौं ।’ त्यहीबेला खुशिबुमा ५१ शैय्याको एक हस्पिटल बिक्रीमा थियो भने भक्तपुरमा एक समूहले हस्पिटल खोल्ने तयारी थालेको थियो । मुनाल पोलिक्लिनिकका १२५ जना सेयर होल्डर र भक्तपुरमा हस्पिटल खोल्ने तयारीमा रहेको ६५ जनाको समूहले त्यो ५१ शैय्याको हस्पिटललाई किनेर भक्तपुरको गठ्ठाघरमा नागरिक हस्पिटल स्थापना गरेको हो ।

‘तीन वटालाई संयोजन गरेर हामीले नागरिक कम्युनिटी टिचिङ हस्पिटल बनाएका हौं,’ श्रेष्ठले थपे, ‘३ करोड ४० लाखमा किनेका थियौं ।’ त्यो बेला यो समूहसँग तीन वटै मर्ज हुँदा करिब ४ करोड रुपैयाँ बराबरको प्रपर्टी पुग्यो । अस्पताल संचालनमा गाह्रो भएपछि ७ वर्षअघि शैलेन्द्रमोहन श्रेष्ठसहितको ७ जनाको समूह नागरिकलाई नयाँ ढंगले संचालन गर्ने योजनासहित भित्रियो । उसको योजनामा नयाँ भवनसहितका पूर्वाधार निर्माण गर्नेसमेत थियो ।

तर, उक्त टिमको अगुवाईमा ती कामहरु हुन सकेनन् । त्यसपछि अस्पतालले आर्थिक रुपमा पनि संकटमा पर्न थालेको थियो । जसका कारण झासहितका शेयर होल्डर आफ्नो शेयर बेचेर बाहिरिने मनस्थितीमा पुगे ।

त्यही क्रममा ह्याम्स अस्पताल संचालक समूह उक्त अस्पताल र नर्सिङ कलेजको ४३ प्रतिशत शेयर किन्न पुगेको हो । ‘म १६ वर्षअघि नागरिक अस्पतालको शेयर होल्डर थिए, बीचमा छाडेर आफ्नै बनाउन लागे,’ आरएस भण्डारीले भने, ‘अहिले साथीहरुले पुनः राम्रो अस्पताल बनाउन फर्किनुपर्‍यो भने हाम्रो ह्याम्सको टिमले नयाँ कर्पोरेट अस्पताल बनाउन नागरिकको शेयर किन्यो ।’

अस्पतालका संस्थापकमध्येका एक जितेन्द्रले नागरिक कम्युनिटी टिचिङ अस्पताललाई ड्रिम प्रोजेक्टका रुपमा अगाडि बढाउने बताए । ‘यसलाई हामी चाँडै ९० करोड रुपैयाँ लगानी पुर्‍याएर उच्चस्तरको कर्पोरेट अस्पताल बनाउँछौं,’ उनले भने, ‘यो सबै गरी २ सय करोडको प्रोजेक्ट हो । त्यहीअनुसार भक्तपुरमा गज्जबको अस्पताल बनाउँछौं ।’


क्याटेगोरी : विशेष रिपोर्ट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ