२०८१ भदौ ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशीमा ६ अस्पतालको बढी बिल देखाएर सरकारको २ करोड १८ लाख लिने प्रयास असफल

कोशीमा ६ अस्पतालको बढी बिल देखाएर सरकारको २ करोड १८ लाख लिने प्रयास असफल


विराटनगर—विराटनगर–४ कन्चनवारीमा रहेको नोबेल मेडिकल कलेजसहित आधा दर्जन अस्पतालले १० वर्षमुनिका बालबालिकाको उपचार गरेभन्दा बढी रकमको बिल बनाएर कोशी प्रदेश सरकारबाट करोडौं रुपैयाँ भुक्तानी लिने प्रयास असफल भएको छ । विराटनगरको नोबेल मेडिकल कलेज, झापाको दमकस्थित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ, मेची प्रादेशिक अस्पताल भद्रपुर, उदयपुर र संखुवासभा अस्पताल र विराट मेडिकल कलेजफर्जी बिल पेश गरेर थप २ करोड १८ लाख ८१४ रुपैयाँ ५८ पैसा बढी लिने प्रयास असफल भएको हो ।

६ वटा अस्पतालले चार महिनामा ८ हजार २१३ जना बालबालिकाको उपचार गरेको बिल परीक्षण गर्दा २ करोड १८ लाख ८१४ रुपैयाँ १६ पैसा भुक्तानीको लागि दावी गरेको पाइएको कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा माहाशाखाको फार्मेसी अधिकृत भरत साहले जानकारी दिए । उनका अनुसार ६ वटा अस्पतालले ६ करोड ९७ लाख १३ हजार ६४२ रुपैयाँ २३ पैसा भुक्तानीको लागि दाबी पेश गरेका थिए ।

तर, स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमा बोर्डबाट दक्ष कर्मचारीहरु ल्याएर एक हप्तासम्म उपचार गरेको बिल अध्ययन गर्दा ८ हजार २ सय ९७ जना बिरामीको उपचार गर्दा स्वास्थ्य बीमाको दररेटअनुसार ४ करोड ७९ लाख १२ हजार ८२८ रुपैयाँ ७ पैसाको मात्रै उपचार गरेको पाइएपछि सोहीअनुसार भुक्तानी दिनुपर्ने सुझाब दिएको थियो ।

सोही सुझावअनुसार कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले उपचार गरेको हस्पिटलहरुलाई सम्बन्धित स्वास्थ्य कार्यालयहरुमार्फत गत असार मसान्तमा भुक्तानी गरेको देखिएको छ ।

फर्जी बिल देखाएर बढी दाबी गर्नेमा नोबेल अगाडि

उपचार गरेकोभन्दा सबैभन्दा बढी भुक्तानीको लागि दाबी पेश विराटनगरको नोबेल मेडिकल कलेज रहेको छ । नोबेलले उपचार गरेको भन्दा १ करोड २८ लाख ८२ हजार ९९ रुपैयाँ बढी बिल पेश गरेको पाइएको कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा महाशाखाको फार्मेसी अधिकृत भरत साहले जानकारी दिए ।

नोबेलले २ हजार ३ सय ८८ जना बालबालिकाको उपचारको गरेको भन्दैं ३ करोड ७९ लाख २७ हजार ४४३ रुपैयाँ दाबी पेश गरेको थियो । तर, स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमा बोर्डबाट दक्ष कर्मचारीहरु ल्याएर एक हप्तासम्म उपचार गरेको बिल अध्ययन गर्दा नोबेलले २ करोड ५१ लाख १९ हजार १४४ रुपैयाँको मात्रै उपचार गरेको पाइएको हो ।

त्यसपछि स्वास्थ्य विमा बोर्डका कर्मचारीले गरेको सिफारिसको आधारमा स्वास्थ्य कार्यालय मोरङले गएको गत असार मसान्तमा नोबेललाई भुक्तानी गरेको देखिएको छ ।

कुन अस्पतालले कति गरे दाबी ?

नोबेलपछि बढी भुक्तानीको लागि दाबी पेश गर्ने मोरङको बुढीगंगा गाउँपालिका २ विराट टिचिङ हस्पिटल रहेको छ । विराट मेडिकल कलेजले ५१ लाख ११ हजार ६७५ रुपैयाँ बढी बिल पेश गरेको देखिएको छ । २ हजार ४५ जना बालबालिकाको उपचार गरेको भन्दै विराटले १ करोड ७६ लाख ६९ हजार ८ सय १ रुपैयाँको बिल पेश गरेको थियो । उक्त बिल अध्ययन गर्दा ५१ लाख ११ हजार ६७५ रुपैयाँ बढी पेश गरेपछि देखिएको हो । त्यसपछि स्वास्थ्य कार्यालय मोरङले विराटलाई बढी बिल पेश गरेको रकम कटौती गरेर १ करोड २५ लाख ५८ हजार १ सय २६ रुपैयाँ मात्रै भुक्तानी गरेको छ ।

विराटपछि तेस्रोमा बढी बिल पेश गर्ने दमकमा डा. भगवान कोइराला नेतृत्वमा संचालनमा रहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ छ । चाइल्ड अस्पतालले २९ लाख ४० हजार ३९५ रुपैयाँ ५८ पैसा बढी भुक्तानीको लागि दाबी पेश गरेको छ । १ हजार १ सय १६ जना बालबालिकाको उपचार गरेको भन्दै चाइल्ड अस्पतालले ९३ लाख ६९ हजार २ रुपैयाँ २३ पैसाँ दाबी गरेकोमा ६४ लाख २८ हजार ६०६ रुपैयाँ ६५ पैसाँ मात्रै भुक्तानी पाएको छ ।

हस्पिटलले दाबी पेश गरेको लिस्ट र स्वास्थ्य कार्यालयले भुक्तानी गरेको रकम

त्यसैगरी, मेची प्रादेशिक अस्पतालले पनि ३ लाख ६९ हजार ५१६ रुपैयाँ बढी भुक्तानीको लागि दाबी पेश गरेको छ । मेची प्रादेशिक अस्पतालले १ सय ४ जना बालबालिकाको उपचार गरेको भन्दै ८ लाख ६५ हजार ९२० रुपैयाँको दाबी गरेकोमा ४ लाख ९६ हजार ४०४ रुपैयाँ मात्रै भुक्तानी दिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, उदयपुर हस्पिटलले ४४ हजार ७७७ रुपैयाँ र संखुवासभा हस्पिटलले ५ लाख २६ हजार १५१ रुपैयाँ.५८ पैसा बढी भुक्तानीको माग दाबी गरेको पाइएको छ । उदयपुर हस्पिटलले १ हजार ५४ जना बालवालिको उपचार गरेको भन्दै ९ लाख ५४ हजार ७ सय ७७ रुपैयाँ दाबी गरेकोमा ९ लाख १० हजार रुपैयाँ भुक्तानी भएको छ । संखुवासभा हस्पिटलले १ हजार ४५६ जना बिरामीको उपचार गरेको भन्दै २५ लाख २४ हजार २८२ रुपैयाँ दाबी गरेकोमा १९ लाख ९८ हजार १३० रुपैयाँ ७ पैसा मात्रै भुक्तानी दिएको मन्त्रालयको अभिलेखमा देखिन्छ ।

भुक्तानी भएको बिल नै शंकास्पद

मन्त्रालयले बिरामीको उपचार भएको हो कि होइन् भन्ने कुनै अनुगमन र अध्ययन भने गरेको थिएन । अस्पतालले बुझाएको लिष्टलाई आधार मानेको थियो । त्यसमा उनीहरुले पेश गरेको उपचारको दररेट मात्र अध्ययन गर्दा पनि ठूलो रकमको फरक देखिएको थियो ।

हस्पिटलले दाबी गरेको बिलमा शंका गर्ने प्रशस्त आधरहरु देखिएको थियो । विराटले भन्दा नोबेलले थप ३४३ जना बालबालिकाको उपचार गरेको देखिएको छ । उसले २ करोड ५१ लाख रुपैयाँ भुक्तानी पाउँदा विराटले भने १ करोड २५ लाख रुपैयाँ भुक्तानी पाएको छ । नोबेलले २ हजार ३८८ जनाको उपचार गर्दा विराटले २ हजार ४५ जनाको उपचार गरेको दावी पेश गरेको देखिन्छ ।

विराटले सरदरमा प्रति बिरामीको उपचार वापत ६ हजार १४० रुपैयाँ भुक्तानी लिएको छ भने नोबेलले प्रति बिरामी १० हजार ५१८ रुपैयाँ भुक्तानी लिएको देखिन्छ । १ हजार १६६ जनाको उपचार गरेको झापाको दमकस्थित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले भने सरदर ५ हजार ५१३ रुपैयाँ मात्र भुक्तानी लिएको छ । सरदरमा प्रति बिरामी रेट हेर्दा मेची प्रादेशिक अस्पतालको ४ हजार ७७३ रुपैयाँ, संखुवासभा अस्पतालको १ हजार ३७२ रुपैयाँ र उदयपुर जिल्ला अस्पतालको ८६३ रुपैयाँ लिएको देखिएको छ ।

८४ जनाको उपचार दावी गरेको सुनसरी जिल्ला अस्पतालले ४ लाख २ हजार ४१७ रुपैयाँ दावी गरेकोमा सबै रकम भुक्तानी पाएको छ । उसले सरदरमा प्रति बिरामी ४ हजार ७९० रुपैयाँ खर्च गरेको देखिएको छ । नोबेलले पेश गरेको विल अध्ययन गर्दा प्रति बिरामी ३ लाख रुपैयाँसम्मको बिल छ । तर, बिलमा उल्लेखित बिरामी वास्तविक विरामी हुन् कि होइनन् भन्नेमा मन्त्रालय नै स्पष्ट छैन । विलमा शंका लागेर कर्मचारीले त्यहाँ भएको मोबाइल नम्बरमा सम्पर्कको प्रयास गरेका थिए । ‘एनआईसीयुमा बिरामी राखेको ठूलो रकमको बिल देखेपछि मोबाइल सम्पर्कको प्रयास गरेका थियौं,’ अस्पतालको बिल अध्ययन गरेका एक कर्मचारीले भने, ‘तर, त्यो नम्बरमा फोन नै लागेन । यद्यपी बिलको रकम बीमाको मापदण्डअनुसार भुक्तानी गरियो ।’

दाबी पेश गरेको बिलसहितको फाइलमा उल्लेख भएका थुप्रै बिरामीको फोन नम्बरमा सम्पर्कको प्रयास गर्दा सम्पर्क हुन नसकेको मन्त्रालयका कर्मचारीहरुले बताएका छन् । हेल्थ आवाजलाई प्राप्त बिलमा उल्लेख भएका सम्पर्क नम्बरमा सम्पर्कको प्रयास गर्दा ती नम्बरमा सम्पर्क हुन सकेनन् । ती अधिकांश मोबाइल नम्बर एनसेल कम्पनीका छन् । उपचार गरिएको भनिएका बिरामीको बिलमा उल्लेखित मोबाइल नम्बरमा सम्पर्क हुन नसक्नुले अस्पतालले उपचार गरेको भनेर दावी गरेको बिरामी नै फर्जी भएको आशंका बढेको छ । तर, त्यसबारे मन्त्रालयले न अस्पताललाई स्पष्टीकरण सोध्यो, न थप अध्ययन नै गर्‍यो । आएका सबै बिल विमाको दररेटअनुसार छ कि छैन भन्ने मात्र चेक जाँच गरेर भुक्तानी दिएको देखिएको छ ।

स्वास्थ्य मन्त्रालयकी सचिव डा. राधिका थपलियाले अस्पतालहरुले पेश गरेको बिल अस्वभाविक लागेपछि स्वास्थ्य बीमा बोर्डबाट कर्मचारी ल्याएर चेक जाँदा गर्दा बढी रकम दाबी परेको पाइएको बताइन् । ‘कर्मचारीहरुले बिल रुजु गर्दै परीक्षण गर्दा स्वास्थ्य बीमा बोर्डले तोकेको दररेटभन्दा बढी रकम हालेको पाइयो,’ उनले भनिन्, ‘त्यसमा बीमा बोर्डले तोकेको दरअनुसारको बिल भुक्तानी गरेको हो । बिलमा उल्लेख भएका बिरामीको उपचार भए वा नभएको बारेमा भने अध्ययन गर्न सम्भव भएन ।’

तत्कालीन मुख्यमन्त्री केदार कार्कीले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने भन्दै वि.सं. २०८० माघ १५ बाट यो सेवा सुरु गरेका थिए । उपचारको लागि विराटनगरका दुई ठूला मेडिकल कलेजलाई जिम्मा दिएको भएपनि ठूला दुई सरकारी अस्पताल कोशी र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग भने मन्त्रालयले सम्झौता गरेको थिएन । निजी अस्पताल पोस्ने गरी कार्यक्रम सञ्चालन गरेको भन्दै चालु आर्थिक वर्षको बजेटबाट भने यो कार्यक्रम सरकारी अस्पतालमा मात्र सञ्चालन गर्ने गरी नयाँ सरकारले परिमार्जन गरेको छ । हिक्मतकुमार कार्की नेतृत्वको सरकार गठन भएपछि असार १ गतेबाट नै निजी अस्पतालमा बालवालिकाको निःशुल्क उपचार कार्यक्रम बन्द गरेको स्वास्थ्य मन्त्रालयकी सचिव डा. थपलियाले जानकारी दिइन् ।

१० वर्षमुनिका बालबालिकाको उपचार गरेकोभन्दा बढी भुक्तानी दाबी गर्ने हस्पिटलहरुलाई प्रदेश सरकारले उन्मुक्ति दिएको छ । स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हस्पिटलले बढी भुक्तानी दाबी गरेको पाइए त्यस्ता हस्पिटलहरुलाई स्वास्थ्य कार्यक्रम बन्द गरी निलम्बन गर्दछ । तर, यहाँ बढी बिल राखेर दाबी गर्ने हस्पिटलहरुलाई कोशी प्रदेश सरकारले उन्मुक्ति दिएको हो । ‘उपचार गरेकोभन्दा बढी दाबी गरेको पाइएपछि हामीले भुक्तानी रोक्न सफल भएका छौं । १० वर्षमुनिका बालवालिकाहरुको विशेषज्ञ चिकित्सकीय सेवासम्बन्धी मार्गदर्शन, २०८० कार्यक्रममा पनि कारवाहीको विषयमा प्रष्ट छैन । त्यसैले समस्या भयो ,’ स्वास्थ्य सचिव डा. थपलियाले भनिन् ।


क्याटेगोरी : प्रदेश १, विशेष रिपोर्ट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ