काठमाडौं—मुलुकका औलामा गन्न सकिने केही नमुना संस्थाहरुमा पर्छन्—काठमाडौं विश्वविद्यालय (केयु) र धुलिखेल अस्पताल । अझ पछिल्लो दुई दशकमा यी दुई नमुना संस्थाहरुको सहकार्यले मुलुकको शिक्षा र स्वास्थ्य सेवामा नयाँ उदाहरण स्थापित गर्ने प्रयास गरेको थियो ।
सन् १९९५ मा काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीच सहकार्य सुरु भएको थियो । त्यो सहकार्यको अगुवा थिए—केयुका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्मा र धुलिखेल अस्पताललाई नयाँ उचाइमा पुर्याउन भूमिका खेलेका प्रा.डा. रामकण्ठ माकाजु ।
यही सहकार्यको जगमा काठमाडौं युनिभर्सिटीले आफ्नै मेडिकल कलेज मात्रै संचालन गरेन, अन्य मेडिकल कलेज र नर्सिङ कलेजहरुलाई पनि सम्बन्धन दियो । जसले मुलुकमा स्वास्थ्यकर्मी उत्पादनमा ठूलो टेवा पुर्यायो । यही सहकार्यको परिणाम धुलिखेल शिक्षण अस्पतालका रुपमा फड्को मार्न पुग्यो भने प्रा.डा. माकाजुले दुई पटक केयुको उपकुलपतिका रुपमा समग्र विश्वविद्यालयको नेतृत्व नै गरे ।
सहमतिमा चलिरहेका भएपनि दुवै संस्था यो दुई दशकभन्दा बढी समयमा एउटै छातामुनि आइसकेको अनुभूति हुन्थ्यो । तर, त्यो अनुभूति बाहिरका मानिसहरुमा मात्रै रहेको घटनाक्रमले देखिएको छ । २८ वर्षअघि सुरु भएको केयु र धुलिखेल अस्पतालको यो सहकार्य टुट्ने संघारमा पुगेको छ । औपचारिक रुपमा दुई संस्थाबीच ५० वर्षसम्म सहकार्य गर्ने गरी भएको ‘एग्रिमेन्ट ब्रेक’ गर्ने गरी दुई पक्षबीच कुरा नभएतापनि धुलिखेल अस्पतालले बागमती प्रदेशबाट सामुदायिक विश्वविद्यालयको आशयपत्र लिन आवेदन दिइसकेको छ ।
७ असोजमा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय मातहत रहेको प्रदेश उच्च शिक्षा परिषद्को सचिवालय हेटौडाले स्वास्थ्य, सूचना प्रविधी र कानुन क्षेत्रमा विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि आवेदन आव्हान गरेको थियो । परिषद् सचिवालयको उक्त आव्हानपछि धुलिखेल अस्पतालसँगै काठमाडौं स्कुल अफ ल, मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सलगायतका संस्थाले आवेदन दिएका छन् । सामाजिक विकास मन्त्रालयका प्रवक्ता खुविराम अधिकारीले धुलिखेल अस्पतालले सामुदायिक विश्वविद्यालयका लागि आवेदन दिएको पुष्टि गरे । ‘धुलिखेल अस्पतालले सामुदायिक विश्वविद्यालयका लागि १० कात्तिकमा आवेदन दिएको छ,’ प्रवक्ता अधिकारीले भने ।
धुलिखेल अस्पतालको यो तयारीलाई मध्यनजर गर्दै केयुले चौकोटमा आफ्नै शिक्षण अस्पताल बनाउन थालिसकेको छ । दुई संस्थाबीचको सम्बन्धको यो पछिल्लो विकासक्रम घुमारो पारामा केयुका रजिष्ट्रार डा. अच्युत वाग्ले पनि स्वीकार्छन् । ‘अहिलेसम्म सम्झौता तोड्ने प्रस्ताव आएको मलाई थाहा छैन्,’ डा. वाग्ले भन्छन्, ‘अहिले हामीले तीन वटा स्वास्थ्य संस्थासँग सहकार्य गरेर चिकित्साशास्त्रका कार्यक्रम संचालन गरिरहेका छौं । भोलि अन्यसँग पनि सहकार्य हुन सक्छ र आफ्नै संरचनामा पनि शिक्षण अस्पताल चलाउन सकिन्छ । यो ठूलो कुरा भएन ।’
रजिष्ट्रार डा. वाग्ले विवाह गरेका दम्पत्तिमा त असमझदारी आए छुट्टिने गरेको उल्लेख गर्दै नाफामा संचालित संस्थाहरु आफ्नो—आफ्नो संस्था दह्रो लाग्दा त्यसलाई अन्यथा मान्न नहुने तर्क गर्छन् । तर, एउटा विद्यार्थी भर्ना भइसकेपछि साढे पाँच वर्ष सम्झौता भंग नहुने प्रावधान रहेको हुँदा भर्ना भइसकेको विद्यार्थी ननिस्कँदासम्म सम्झौता ब्रेक नहुने उनले बताए ।
धुलिखेल अस्पताल निकट स्रोतले भने आफूहरुले सामुदायिक विश्वविद्यालयका लागि प्रयास अगाडि बढाएको बतायो । ‘दुई वटै संस्था आ—आफ्नो तवरले अगाडि बढ्ने विषयमा आन्तरिक तयारी अगाडि बढिसकेको छ,’ धुलिखेल अस्पतालका एक अधिकारीले भने, ‘केयुले आफ्नै अस्पताल बनाएर अगाडि बढ्छ । हामीले धुलिखेल अस्पताललाई ‘धुलिखेल सामुदायिक चिकित्सा विश्वविद्यालय’ बनाउने प्रक्रिया अगाडि बढाएका छौं ।’ ती अधिकारीकाअनुसार धुलिखेल अस्पतालले ‘धुलिखेल सामुदायिक चिकित्सा विश्वविद्यालय’को नाममा सामुदायिक विश्वविद्यालय स्थापना गर्ने गरी बागमती प्रदेश सरकारबाट अनुमतिका लागि निवेदन दिइसकेको छ ।
धुलिखेल अस्पतालले सो प्रक्रिया अगाडि बढाएसँगै काठमाडौं विश्वविद्यालय पनि अहिले बेसिक साइन्सका कक्षाहरु संचालन भइरहेको चौकोटमा आफ्नो छुट्टै शिक्षण अस्पताल बनाउन सुरु गरिसकेको छ । धुलिखेल अस्पतालबाट तीन किलोमिटर टाढा रहेको चौकोटमा शिक्षण अस्पताल बनेसँगै धुलिखेलमा प्रायाक्टिस गर्ने केयुका चिकित्साशास्त्रतर्फका विद्यार्थीहरुले आफ्नै शिक्षण अस्पतालमा प्रायक्टिस गर्नेछन् ।
‘अहिले धुलिखेल अस्पतालकै भरमा केयुको मेडिकल स्कुलका एमबीबीएस, एमडी/एमएसलगायतका कार्यक्रमहरु संचालित छन्,’ धुलिखेल अस्पताल स्रोतले भन्यो, ‘अहिले नै दुवै अलग भइहाल्दा यी सबै कार्यक्रमहरु समस्यामा पर्छन् । त्यसैले केयुले भौतिक पूर्वाधार निर्माण सकेर शिक्षण अस्पताल संचालन गरिसकेपछि सबै कार्यक्रम उतै जान्छन् । हामी आफ्नो विश्वविद्यालयको काममा लाग्छौं ।’
अलग बाटो रोज्नुको पृष्ठभूमी
५० वर्ष सहकार्य गर्ने गरी केयु र धुलिखेल अस्पतालबीच सहमति भएको थियो । यहीबीच केपी ओली प्रधानमन्त्री भएका बेला धुलिखेल अस्पतालका अगुवा डा. माकाजु तेस्रो पटक केयुको भिसी हुने योजनामा थिए ।
तर, केयुकै पूर्व रजिष्ट्रार रहेका डा. भोला थापा त्यो दौडमा बाजी मारेर उपकुलपति नियुक्त भए । डा. थापा उपकुलपतिमा नियुक्त भएसँगै केयु र धुलिखेल अस्पतालबीच दूरी बढेको थियो । डा. थापाले हेल्थआवाजसँगको एक अन्तर्वार्तामा दुवै ठूला—ठूला संस्थाहरु भएको हुँदा समझदारीमै सँगै रहने वा छुटिट्ने भन्ने कुरा तय गर्ने धारणा व्यक्त गरेका थिए । दुई पटक केयुको उपकुलपति भइसकेका डा. माकाजु उपकुलपतिबाट हटेसँगै पुनः धुलिखेल अस्पतालको कार्यकारी निर्देशक भए ।
डा. माकाजु र डा. थापाबीच उपकुलपति नियुक्तिदेखि नै बढेको दूरी पछि काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिसिनको डिन नियुक्त हुँदा थप बढेको स्रोतको दावी छ । त्यसबाहेक दुई संस्थाहरुबीच काम कारवाहीमा एकरुपता पनि देखिएको थिएन् । डा. माकाजु केयुको उपकुलपति रहेका बेला उनले नै धुलिखेल अस्पतालको पनि अगुवाई गरेका कारण दुवै संस्थालाई एउटै जसरी अगाडि बढाएका थिए । दुवै नेतृत्वका गतिविधीहरु अलग—अलग रुपमा अगाडि बढ्न थालेपछि दुवै संस्थाको सहकार्यमा पनि बिराम लाग्ने अवस्था सिर्जना भएको जानकारहरु बताउँछन् ।
काठमाडौं विश्वविद्यालयको झण्डै २१ वर्ष नेतृत्व गरेको पूर्व उपकुलपति प्रा.डा. सुरेशराज शर्माले भने आफूलाई यस विषयमा विस्तृतमा जानकारी नभएको बताए । ‘उहाँहरुले प्रान्तबाट आशय लिन खोज्नुभएको भन्ने कुरा सुनेको छु,’ उनले भने, ‘अरु कुरा थाहा छैन । सबै कुरा थाहा पाएपछि म केही कमेन्ट गर्न सकुला । अहिले केही कमेन्ट गर्न सक्दिँन ।’
डा. शर्माले सन् १९९५ मा केयुको शिक्षण अस्पतालका रुपमा धुलिखेल अस्पताललाई विकास गर्ने गरी ५० वर्षको सहमति भएको उल्लेख गरे । ‘त्यतिबेला धुलिखेल अस्पताललाई केयुको शिक्षण अस्पताल बनाउने अन्डरस्ट्यान्डिङ थियो । त्यो बेला ५० वर्षका लागि एग्रिमेन्ट भएको हो,’ उनले भने, ‘सहकार्यलाई उहाँहरुले मेन्टेन्ट गर्नुहुन्छ कि हुँदैन म अहिल्यै भन्न सक्दिनँ ।’ डा. शर्माले धुलिखेल अस्पतालमा दुई वटा शिक्षण अस्पताल भने चल्न नसक्ने प्रतिक्रिया दिए ।