नेपालका कयौं दृष्टिविहीनलाई नेत्रज्योती प्रदान गरेका वरिष्ठ नेत्र विशेषज्ञ डा. बेन लिम्बु यतिबेला पश्चिमी अफ्रिकामा व्यस्त छन् । उनी आँखा शिविरको शिलशिलामा अफ्रिकामा पुगेका हुन् । अफ्रिकाको प्रचण्ड गर्मी, विद्युत जाने समस्या, विना पंखाका बाबजुद पनि हाल उनको टोली ओभरटाइम गरेर दृष्टिविहिनको उपचार अहोरात्र खटिरहेको छ ।
अफ्रिकाको शेरा लियोन राज्यका स्वास्थ्य तथा स्वच्छतामन्त्री यली काका मुस्ताफाको ‘राष्ट्रिय आँखा उपचार कार्यक्रम’को निमन्त्रणामा डा. लिम्बुसहितको टोली त्यहाँ पुगेको हो । डा. बेनकाअनुसार उनको नेतृत्वमा नेपालकातर्फबाट सर्जरी एसिस्टेन्ट रिता लिम्बु र अमेरिकाबाट नेत्र विशेषज्ञ डा. जेफ इङ, जोयेल्स स्याण्डी, डा. क्रिस्टिना, डा. एन्ड्रुसहित ७ जनाको टोलीसँगै शेरा लियोन पुगेका थिए ।

गरिब, अविकसित, अशिक्षित र स्वास्थ अभावबाट व्याप्त भएपनि सो शिविरका लागि राज्यको स्थानीय सरकारले अमेरिकाबाट गुणस्तरीय स्रोत, साधनका साथै सेवा–सुविधा उपलब्ध गराइएको उनले जानकारी दिए । उनका अनुसार शिविर शेरा लियोनको स्वास्थ्य मन्त्रालय, अमेरिकाको सर्जिकल आई एक्पिडिसन, लोमा लिण्डा युनिर्भिसटी र हिमालयन क्याटाराक्ट प्रोजेक्टको सहकार्यमा आयोजना गरिएको हो ।
८२ लाख जनसंख्या भएको सो राज्यमा आँखाका चिकित्सकमात्रै ६ जना रहेका छन् । डाक्टरको चरम अभावकै कारण त्यहाँ नर्सले नै आँखाको उपचार गर्ने बेथिती रहेको हुँदा आम व्यक्तिहरु आँखाको समस्या देखिएपनि उपचार नगरी बस्ने तथा अस्पताल गएपनि उचित उपचार नपाइने समस्याबाट ग्रसित रहेको डा. बेन अनुभव सुनाउँछन् ।

शिविरको सुरुवात सबैभन्दा पहिले भो गर्भरमेन्ट अस्पतालबाट गरिएको बताउँदै उनले ४ दिनभित्रमा १ सय ८० जनाको मोतिविन्दु शल्यक्रिया गरिएको जानकारी दिए । ‘पहिलो पटक एकैपटक सयभन्दा बढीको अप्रेशन हुनु त्यहाँको नयाँ रेकर्ड त थियो नै,’ उनी भन्छन्, ‘सँगै चिकित्सक टोलीकै लागि पनि एकदमै छोटो अवधिमा सम्पन्न अत्याधिक शल्यक्रिया संख्या थियो ।’ भो गर्भरमेन्ट अस्पतालपछि राजधानी फ्री टाउनको सरकारी आँखा अस्पतालमा पनि ३ दिने निःशुल्क अकुलोप्लास्टिक सर्जरी गर्ने, चिकित्सक र नर्सलाई तालिम दिने काम भएको उनले जानकारी दिए ।
शिविरमा उपचार गराउन आउने नागरिकहरुले डा. लिम्बुको टोलीलाई भगवान नै आएको सरह भएको भन्दै माया र सद्भाव दिइरहेको उनी बताउँछन् । शान्तिसेनामा मात्रै नेपाली नागरिक देखेका उनीहरुमा अहिले आँखाको उपचार गर्दा नेपालमा आँखाको ठूलो डाक्टर छन् भन्ने छाप परेको छ । पूरानो विधिबाट उपचार गराइरहेका अफ्रिकन नागरिक अत्याधुनिक प्रविधीसहितको आँखाको सेवा पाउँदा झनै दंग भएका छन् ।

शल्यक्रियापछि हर्षविभोर भएका बिरामीहरुले ‘एउटा आँखा त देख्ने भए, अर्को आँखाको अप्रेशन कहिले गरिदिनुहुन्छ डाक्टर सा‘ब? भन्ने प्रश्न हाल उनी तथा उनको टोलीले सबैभन्दा बढी सुन्ने गरेको प्रश्न हो । ‘उनीहरु हामी यहाँबाट गए पनि हाम्रै पर्खाइमा हुने छन्’, डा. लिम्बुले सुनाए । यद्यपि, आफूहरु पुनः नफर्किने हुँदा त्यहाँबाट बिदाइ हुने योजना रहेको बताउँदै उनले थपे, ‘हामीजस्ता अन्य चिकित्सक टोली अब बाहिरी क्षेत्रबाट अब फेरि–फेरि पनि आउन नपरोस् र यहाँका नागरिकले राम्रो सुविधा पाउन भन्ने उद्देश्यले हामीले उपचारको साथै नर्स तथा डाक्टरहरुलाई एकैपटक तालिम समेत प्रदान गरिरहेका छौँ ।’
शेरा लियोनमा २० वर्षपछि मात्रै त्यहाँको सरकारले आँखा शिविर संचालन गरेकोले उपचार गराउन आउने संख्या निकै बाक्लो रहेको उनले हेल्थआवाजसँग ह्वाट्सएप कुराकानीमा बताए । लामो समयदेखि उपचार नपाएका बिरामीहरु हामी आएको खबरले ४—५ घण्टादेखि गिनी र लाइबेरियाबाट पनि उपचार गर्न आएकोले झनै हर्षित तुलाएको उनको भनाइ छ । ‘आँखाको उपचारको सुविधा नभएको हुँदा जटिल अवस्थामा पुगेको केस पनि हामीले उपचार ग¥यौँ । धेरै बिरामीहरु दुवै आँखा नदेख्ने लाठीको सहारामा हिड्ने बिरामी, आँखा अंगभग भएकाहरु, युवा उमेरमा पनि आँखाको क्यान्सरजस्ता समस्या लिएर आएका थिए । हाम्रो उपचारले यहाँका नागरिक निकै खुसी छन् ।’

विगत १९ वर्षदेखि आँखाको उपचारमा लागेका डा. लिम्बुले आफ्नै नेतृत्वमा यसअघि पनि धेरै देशहरुमा शिविर संचालन गरिसकेका छन् । स्वदेशमा पनि उनले ७७ वटै जिल्लामा आँखा शिविर संचालन गरिसकेका छन् । उपचारका साथै तालिम पनि प्रदान गर्नु डा. लिम्बुले काम हो । उनले अहिलेसम्म ५० हजार मानिसहरुको आँखाको शल्यक्रिया गरिसकेका छन् ।
विदेशमा २५ सयभन्दा बढी मोतिविन्दुका बिरामीहरु लाभान्वित भइसकेको उनले बताए । बालबालिकालाई लगाइने खोपजस्तै आँखा परीक्षण पनि अनिवार्य बनाउने योजना रहेको बताउंदै उनले भने, ‘अब नेपालमा शिशु जन्मेपछि सरकारले खोप अनिवार्य बनाएजस्तै आँखा जाँचलाई पनि अनिवार्य बनाउने अभियान लाने सोचमा छु । यो मेरो लामो समयदेखिकै सपना हो ।’