काठमाडौं—काठमाडौंकी सरिता थापा (नाम परिवर्तन)ले आफ्ना प्रेमीसँग गत माघमा यौन सम्पर्क गरिन । फागुन, चैत्र र बैशाखमा उनको नियमित महिनावारी भयो । जेठ लागेपछि एक्कासी महिनावारी बन्द भयो । असार अन्तिमसम्म पनि महिनावारी नभएपछि किटमार्फत प्रेगनेन्सी टेष्ट गरिन् । त्यसमा नेगेटिभ आयो । एक महिनाभित्र झण्डै ७ पटक प्रेगनेन्सी टेष्ट गरिन तर सधैं रिपोर्ट नेगेटिभ नै आयो । महिनावारी भने अझै रोकिइरहेको थियो । उनमा तनाव बढ्दैं गयो । उनले फार्मेसीमा गएर गर्भ खेर जाने औषधि किनेर खाइन् । त्यसपछि अत्याधिक रक्तस्राव भयो । रक्तस्राव भएतापनि उनी आफ्नो पेट बढ्दैं गएको महसुस गर्न थालिन् । लगातार अल्ट्रासाउण्ड गर्न थालिन् । पटक–पटक चिकित्सकले गर्भ नभएको भनेर भनेता पनि उनले पत्याउन सकिनन् । पत्यार लाग्न नसकेपछि चिकित्सकले उनलाई मनोपरामर्शदाता कहाँ पठाए । उनी अहिले नियमित मनोपरामर्शमा छिन् ।
सिन्धुपाल्चोकका ३२ वर्षीय सन्जीव थापा (नाम परिवर्तन)ले एक महिलासँग यौनसम्पर्क गरे । असुरक्षित यौन सम्पर्क गरिसकेपछि उनलाई तनाव हुन थाल्यो । कतै एचआइभी एड्स जस्ता यौन रोग पो लाग्यो कि भन्ने भ्रम उनमा प¥यो । घरमा श्रीमतीलाई देख्दा पनि ठूलै पाप गरेछु, अब श्रीमतीलाई पनि रोग सर्ने हो कि भनेर डराउन थाले । निकै डराएपछि उनी नजिकैको अस्पतालमा गएर रगत जाँच गराए । एचआईभी नेगेटिभ देखियो । उनलाई त्यो अस्पतालको ल्याब बिग्रिएको छ कि अथवा डाक्टरले देखेन कि भन्ने शंका लाग्यो । त्यसपछि उनी फेरि अर्को अस्पतालमा गएर रगत जाँच गराए त्यहाँ पनि नेगेटिभ देखायो । उनलाई अझै विश्वास लागेन । यसरी एक एक हप्ताको बीचमा उनले करिब १५ वटा अस्पतालमा जाँच गराए । करिब २ लाखको हाराहारीमा पैसा पनि सिध्याए । विस्तारै उनलाई रिंगटा लाग्ने, मुटुको धड्कन एक्कासी बढ्ने, तौल घटेकोजस्तो अनुभव गर्ने, ज्वरो आउने, मुटु पोल्नेजस्ता समस्या देखियो । त्यसपछि उनी मानसिक अस्पताल पाटनका मनोचिकित्सक डा. अनन्त अधिकारीको सम्पर्कमा आइपुगे । डा. अधिकारीले उनको सबै जाँच गर्दा सामान्य रिपोर्ट आएपछि उनलाई एन्जाइटी भएको पुष्टि गरे । अनि मनोपरामर्श दिएर पठाए । अहिले उनको स्वास्थ्य अवस्था राम्रो हुँदैं गइरहेको छ ।
डा. अधिकारी कहाँ आएकै जस्तो घटना शिक्षण अस्पतालका मनोचिकित्सक डा. सगुनबल्लभ पन्त कहाँ पनि आएको थियो । डा. पन्तकाअनुसार भक्तपुरका एक पुरुषले करिब १ वर्षअघि एक महिलासँग असुरक्षित यौन सम्पर्क राखे । यौनसम्पर्क राखेको केही दिनमा उनको यौनांगमा थोरै समस्या देखियो । त्यसपछि उनी कतै एचाईभी एड्स पो लाग्यो कि भनेर आत्तिए । एचआईभी एड्स जाँच गराए, रिपोर्ट नेगेटिभ आयो । तैपनि उनलाई चित्त बुझेन । यसरी उनले ६ महिनाको अवधिमा १२ पटकसम्म एचआईभी जाँच गरे । जति पटक जाँच गर्दा पनि रिपोर्ट नेगेटिभ नै आयो । तैपनि उनलाई आफूलाई एचआईभी लागेको छ भन्ने भ्रम मनबाट हटाउन सकेनन् । छटपटिने, आत्तिने, डराउनेजस्ता लक्षण देखिन थाल्यो । थुप्रै अस्पतालका चिकित्सकसँग परामर्श लिए । तैपनि उनको मन मानेन । अन्त्यमा उनी शिक्षण अस्पतालका छाला रोग विशेषज्ञ कहाँ पुगे । छाला सम्बन्धि कुनै रोग नदेखिएपछि उनलाई शिक्षणकै मनोचिकित्सक डा. पन्त कहाँ रिफर गरियो । उनलाई इलनेस एन्जाइटी अर्थात भेनेरोफोबिया भएको डा. पन्तले पत्ता लगाए । त्यसपछि उनले ती व्यक्तिलाई मनोपरामर्श दिए । उहिले उनको स्वास्थ्य अवस्था सामान्य भैसकेको छ ।
माथिका तीन घटना त प्रतिनिधीमात्रै हुन् । पछिल्लो समय धेरैजसो युवायुवतीहरुमा असुरक्षित यौन सम्बन्धका कारण मानसिक समस्या देखिने गरेको छ । मनोविद् करुणा कुँवर असुरक्षित यौन सम्बन्धका कारण यस्ता मानसिक समस्याहरु देखिन थालेको बताउँछिन् । ‘सेक्सलाई नो भन्न नसक्नाले यस्तो समस्या आएको पाइएको छ,’ उनी भन्छिन्, ‘कतिपयमा ब्वाइफ्रेण्डको करकाप, नमानेमा ब्वाइफ्रेण्डले छोड्छ कि भन्ने डर र कतिपयमा आधुनिक समयमा सेक्स सामान्य हो भन्ने बुझाइले विस्तारै मानसिक समस्या निम्त्याएको पाइन्छ ।’
धेरैजसो युवायुवतीमा यौन सम्बन्ध राखिसकेपछि मैले यसो गर्नुहुँदैन थियो, मैले पाप गरेँ, मैले बुबाआमालाई धोका दिएँ भन्ने धारणा मनमा आउँदा यस्ता खाले मानसिक समस्या अर्थात् डिप्रेसन, एन्जाइटीका लक्षण देखिने मनोचिकित्सकहरु बताउँछन् । यस्तै कतिपयमा भने असुरक्षित यौनसम्पर्क गर्दा कतै गर्भ बस्यो कि अथवा यौन रोग पो लाग्यो कि भन्ने चिन्ताले एन्जाइटीको सिकार भएको मनोविद् कुँवर बताउँछिन् ।
विदेशमा अध्ययनका लागि गएकी एक युवती करिव ६ महिनाअघि यस्तै समस्या लिएर कुँवर कहाँ आइपुगिन् । उनी राम्रो पढ्ने विद्यार्थी थिइन् । छात्रवृत्तिमै अध्ययनका लागि विदेश गएकी थिइन् । त्यहाँ उनले प्रेमीसँग सहमतिमै यौन सम्बन्ध राखिन् । गर्भनिरोधक साधनको प्रयोग नगरी यौनसम्पर्क राखेकाले अनिश्चित गर्भ बस्यो । उनले गर्भपतन गराइन् । त्यसपश्चात उनी निकै चिन्तित हुन थालिन् । मैले ठूलो पाप गरें, यस्तो गर्नुहुँदैथ्यो भन्ने भावना उनको मनमा डर बनेर बस्यो । उनको पढाइ पनि खस्किन थाल्यो । त्यसपछि उनी प्रेमीसँग झर्किने, झगडा गर्ने गर्न थालिन् । २४ वर्षीया ती युवतीले विदेशबाटै कुँवरलाई सम्पर्क गरिन् । नेपाल आइन् । आफूले भेट्दा उनी निकै चिन्तित, आत्मग्लानी भाव लिएर आएको कुँवर बताउँछिन् । त्यसपछि उनले ती युवतीलाई मनोपरामर्श दिइन् । करिब २ महिनाको फ्लोअपपछि उनी सामान्य अवस्थामा आइन् । अहिले उनको स्वास्थ्य अवस्था र प्रेमीसँगको सम्बन्ध राम्रो छ ।
काठमाडौं बाहिरका एक २८ वर्षीय पुरुष पनि असुरक्षित यौन सम्बन्धकै कारण भएको मानसिक तनाव हल गर्न मनोविद् कुँवर कहाँ आए । करिव तीन वर्षअघि उनले आफ्नी प्रेमिकासँग यौनसम्बन्ध राख्दा अनिश्चित गर्भ बस्यो । त्यतिबेला तत्कालै विवाह गर्ने सम्भावना नभएकाले उनले प्रेमीकालाई गर्भपतन गर्न दबाव दिए । यसभन्दा पहिला पनि उनीहरुले एकपटक गर्भपतन गराएका रहेछन् । जसले गर्दा उनलाई आफूले ठूलो पाप गरेको भन्ने महसुस हुन थाल्यो । एकपटक गर्भपतन गराइसकेपछि मैले फेरि किन सावधानी अपनाउन सकिनँ भनेर उनलाई आत्मग्लानी हुन थाल्यो । त्यसपछि उनीहरु दुवैजनालाई छटपटी, झगडा, मनमुटावजस्ता समस्या लिएर आएपछि मनोविद् कुँवरले दुवैजनालाई राखेर मनोपरामर्श दिइन् । लामो समयको फलोअपपछि उनीहरुलाई सामान्य अवस्थामा ल्याउन सकिएको उनी बताउँछिन् ।
आपसी समझदारीमा राखिएका यौन सम्बन्धमा मानसिक पीडा र समस्या कहाँबाट थपिन्छ ? मनोविद् कुँवर भन्छिन्, ‘हाम्रो समाजमा धर्मको विश्वास र कर्मको फल भोग्नुपर्छ भन्ने अन्धविश्वासले गर्दा धेरैमा यस्तो समस्या देखिएको छ ।’
कतिपयमा कुमारीत्व भंग भयो, गर्भ खेर फालेर ठूलो पाप गरेछु, यसको फल मैले भोग्नुपर्छ, भोलि अरु सन्तान नहुने पो हुन् कि अथवा कुनै यौन रोग पो लाग्ने हो कि भन्नेजस्ता चिन्ताले मानसिक समस्याको खाडलमा धकेल्ने गरेको मानसिक अस्पतालका प्रमुख कन्सल्टेन्ट मनोचिकित्सक डा. अधिकारी बताउँछन् । त्यसैले यस्तो समस्या निम्तिन नदिनका लागि बानी व्यवहारमा परिवर्तन गर्नुपर्ने उनको सुझाव छ । यस्तो समस्या आत्मबल कमजोर हुने, पटक—पटक गल्ती गर्ने, आफ्नो श्रीमतीप्रति बफादार नहुने, लागुपदार्थ सेवन गर्ने, शंकालु भावना भएका मानिसहहरुमा देखिने गरेको डा. अधिकारी बताउँछन् । जसले गर्दा यस्ता समस्याबाट बच्नका लागि आचरण सुधार्ने, विश्वासिलो पात्रसँग मात्र यौनसम्पर्क राख्ने, मल्टिपल सेक्स पार्टनर नबनाउने, सुरक्षित साधनको प्रयोग गर्ने, शंका लागेमा चिकित्सकसँग परामर्श लिने गर्दा यस्ता समस्याबाट बच्न सकिने अधिकारी बताउँछन् ।
धेरैजसो व्यक्तिहरुमा असुरक्षित यौन सम्पर्क गर्दा रोग लाग्छ कि अथवा आत्मग्लानी भएर एन्जाइटीको सिकार हुने गरेका डा. पन्त बताउँछन् । ‘धेरैजसोमा डर र आत्मग्लानीले एन्जाइटी अथवा डिप्रेशनको सिकार भैरहेका हुन्छन्,’ मनोचिकित्सक डा. पन्त भन्छन्, ‘यसलाई हामी भेनेरोफोबिया भन्छौं ।’ यसबाट बच्नका लागि कुनै कुरा मनमा अनावश्यक रुपमा आयो भने तुरुन्तै परामर्श लिनुपर्ने मनोचिकित्सकहरु बताउँछन् । यसका साथै दुषचिन्ता र दिग्दारी हटाउने व्यायाम गरेर पनि यस्ता समस्याबाट उन्मुक्ति पाउन सकिन्छ ।
असुरक्षित यौनसम्पर्कले दुषचिन्ता उत्पन्न भएपछि कतिपय बिरामीहरु आत्तिएर छाला रोगका चिकित्सकहरु कहाँ पनि पुग्ने गर्छन् । धेरैजसो परस्त्रीसँग असुरक्षित यौन सम्पर्क गरेपछि यौनांगमा सानो समस्या देखियो कतै यौन रोग पो हो कि भनेर जाँच गर्नका लागि आउने गरेको काठमाडौं मेडिकल कलेज सिनामंगलकी छाला रोग विशेषज्ञ डा. सविना भट्टराई बताउँछिन् । ‘त्यस्ता मानिसहरु आत्तिएर एउटै समस्या ५—६ ठाउँमा जाँच गराएर आएका हुन्छन्,’ उनी भन्छिन्, ‘हामीले उपचार गर्ने बेलामा मनोपरामर्श गर्छौं भने कतिपयलाई मनोचिकित्सक कहाँ पनि रिफर गर्छौं ।’