२०८१ चैत्र ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्यमहिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति

महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति


धेरै रगत बग्छ, समस्या हो?
धेरै महिलाको चिन्ताको विषयमध्ये एक हो यो।  कतिपय महिलामा सामान्य भन्दा बढी रगत बग्ने हुन्छ। त्यसैले यस विषयमा उनीहरु चिन्तित देखिन्छन्। महिनावारीको समयमा बढी रगत बग्नुमा विभिन्न कुराले भूमिका खेलेका हुन्छन्। ‘त्यसमा पहिलो वंशाणुगत हुन सक्छ नर्स सम्झना कटुवाल अधिकारी भन्छिन्, ‘आमा वा दिदिबहिनीमा पनि बढी रगत जान्छ भने त्यो वंशाणुगत कारण भनेर बुझ्नुपर्ने हुन्छ।’

कतिपय अवस्थामा रगतमै खराबी भए पनि त्यसको असर महिनावारीमा देखिने चिकित्सकहरु बताउँछन्। ‘हर्मोनको गडबडी पनि यसको कारण हुन सक्छ,’ गाइनोक्लोजिष्ट डा ज्योति अग्रवालले भनिन्, ‘कहिलेकाहिँ पाठेघरमा कुनै संक्रमण हुने संभावना महिनावारीका बेला बगिरहेको रगतले दर्शाउँछ। यस्तो अवस्थामा भने चिकित्सकसँग जाँच गराउँदा उपयुक्त हुन्छ।’

बढी रगत जाँदा महिलामा रक्त अल्पता हुने खतरा रहन्छ। त्यस्तै कम रगत भयो भनेर पीर मान्ने महिलाको संख्या पनि धेरै छ। यस्तो अवस्थामा चिन्ता लिइराख्नु पर्दैन। तर, सधै ठीक मात्रामा हुन्थ्यो र एक्कासी रगत नै भएन भनेचाहिँ समस्या पहिल्याउनतर्फ लाग्नुपर्ने विशेषज्ञहरूको सुझाव छ।

Dr. Jyoti Agarwal - Gynecologist - Book Appointment Online, View Fees,  Feedbacks | Practo

(गाइनोक्लोजिष्ट डा ज्योति अग्रवाल)

किन दुख्छ पेट?
यो चाहिँ धेरैको साझा समस्या हो। महिनावारीको समयमा हुने पीडा हुने अर्थात् पेट दुख्ने समस्यालाई चिकित्सकीय भाषामा ‘डिस्मेनोरिया’ भनिन्छ। यसबाट जोगिनका लागि दुखाई कम गर्ने औषधीको प्रयोग गर्ने बढेका छन्।

दुखाइको औषधि जथाभावी प्रयोग गर्दा धेरै नकारात्मक असरहरू देखा पर्न सक्नेतर्फ चिकित्सकहरु सचेत गराउँछन्। डा कार्कीका अनुसार यो औषधिको सेवन गर्नै परे चिकित्सकको सल्लाह लिएर मात्रै गर्नुपर्छ। किशोरीको उमेर बढ्दै जाँदा यो समस्या विस्तार हराउँदै जान्छ। कतिपयको विवाह पश्चात पनि केही हदसम्म कम हुन्छ।

तर, रक्तश्रावको मात्रा बढी भयो वा दुखाइ सहनै नसक्ने गरी भयो भने स्वास्थ्य संस्थामा सम्पर्क गर्न जरुरी हुन्छ। कतिपय अवस्थामा घरेलु विधि अपनाउन चिकित्सक सुझाउँछन्, ती विधिअनुसार तातो झोल पदार्थको सेवन र मनतातो पानीले नुहाउने हो। यसो गर्दा आराम मिल्न सक्छ।

महिनावारी समयमै नभएको गुनासो गर्ने महिलाको संख्या दिनानु दिन बढ्दै गएको छ। नियमित समयमा महिनावारी नहुनुको कारणमा हर्मोनको असन्तुलन एक भएको नर्स कटुवालले बताइन्। उनी भन्छिन्, ‘शरीरमा हुने इन्ड्रोक्रााइन ग्ल्यान्डले उत्सर्जन गर्ने हर्मोनले महिनावारी समयमै गराउने गर्दछ। यसरी उत्सर्जन हुने हर्मोनको सन्तुलन बिग्रियो भने महिनावारी गडबड हुन्छ।’

कहिलेकाहिँ खानपानको कारणले पनि महिनावारी तलमाथि पर्न जान्छ। पोषणको अभावका कारण महिला कमजोर हुने गर्दछन्। त्यस्तै असाध्यै मोटाउँदा अथवा दुब्लाउँदा शरीरमा महिनावारी गराउने तत्वको मात्रा घटबढ भई महिनावारीमा अनियमिता आउने गर्दछ।

तनाव पनि महिनावारी गढबढीको कारणमध्यमै पर्छ। बढी तनाव भएको महिना महिनावारी तलमाथि पर्न सक्ने बताइन्। उनले उदाहरण दिँदै भनिन्, ‘परिक्षाको समयमा पनि किशोरीहरूको महिनावारीमा तलमाथि हुन सक्छ।’

पाठेघरका विभिन्न किसिमका समस्याले पनि महिनावारी रोकिन सक्छ। यसैगरी उमेरका कारण पनि महिनावारीमा गढबढी आएको हुनसक्नेमा ध्यान दिन जरुरी हुन्छ जस्तो कि महिनावारी भएको शुरुको ४ देखि ५ वर्षको अवधिमा तलमाथि भइनै रहन्छ र महिनावारी सुक्ने अवस्थामा पनि तलमाथि परे डराउन नहुने चिकित्सक बताउँछन्।

पछिल्लो समय आकस्मिक गर्भ निरोधक चक्कीको प्रयोग बढेको छ। यसको गलत प्रयोगले पनि महिनावारीमा समस्या निम्त्याएको हुन सक्नेमा चिकित्सकहरु सचेत गराउँछन्। उनी भन्छिन्, ‘यसलाई परिवार नियोजनको साधनको रुपमा प्रयोग गर्ने महिलाहरुको महिनावारी विग्रेको तथा स्वास्थ्यमा अन्य समस्या आइपर्ने देखिन्छ।’

अनियमित महिनावारीले हाम्रो दैनिक जीवनमा पनि असर पारिरहेको हुन्छ। चिकित्सकका अनुसार यसबाट जोगिन शरीरलाइै चाहिने पोषक तत्वको नियमित सेवन गर्नुपर्छ। तनावलाई कम गर्ने विभिन्न उपायहरु अवलम्बन गर्नुपर्छ। त्यस्तै समय–समयमा थाइराइड ज“चाइ राख्ने एवम् डाक्टरको परामर्श लिरहने गर्नुपर्छ।

सरसफाइको कमीले आउने समस्या
सरसफाइको महत्व जताततै छ। महिनावारीमा विशेष ध्यान दिन आवश्यक छ। महिनावारी भएको समयमा संक्रमण हुने सम्भावना उच्च रहन्छ। डा ज्योति अग्रवालका अनुसार रगत यस्तो माध्यम हो, जसमा जीवाणु छिटो हुर्किने गर्दछन्। लगातार रगत बगिरहेको छ तर सरसफाई छैन भने जिवाणुहरु योनी मार्ग हुँदै पाठेघरसम्म पुग्न सक्छन्। जसबाट संक्रमण हुने गर्दछ।

यस्ता समस्याहरूबाट जोगिन विशेष ध्यान दिन आवश्यक छ। नेपालका ग्रामीण भेगका महिलाहरु महिनावारीमा फोहोर कपडा प्रयोग गर्ने प्रचलन छ। जसले उनीहरुमा गुप्तांगको संक्रमणको समस्या बढी देखिन्छ। पछि गएर अन्य प्रजनन अंगमा पनि संक्रमण हुने सम्भावना उच्च रहने नर्स सम्झना कटुवाल बताउछिन् ।

समयमै उपचार नगरे यसले निम्त्याउने जटिलताहरु के–के हुन सक्छन्?
अनियमित महिनावारी भइरहँदा मानसिक तनाव हुन्छ। धेरै रगत बगिरहे शरीरमा रगतको कमी भई रक्तअल्पता हुन्छ।कतिपयलाई सन्तान जन्माउनुमा पनि गाह्रो हुन्छ। समस्यालाई बेवास्ता गरिरहे यसले निम्त्याउने जटिलताका कारण क्यान्सर समेत हुन सक्छ।
अस्वस्थकर जीवनशैली र तनावले पनि महिनावारी गडबड हुन्छ?

हो, अस्वस्थकर जीवनशैली, तनाव र कामको बोझले महिनावारी गडबड हुन्छ। प्रशोधित तथा जंकफुड बढी खाँदा शरीरमा तौल बढ्छ र बढी तौलले महिनावारी अनियमित गराउँछ।

महिनावारीलाई नियमित बनाउन के के गर्नुपर्छ?
सबैभन्दा पहिले स्वस्थकर जीवनशैली अपनाउनुपर्छ। शरीरको तौल नियन्त्रणमा राख्नुपर्छ।दैनिक शारीरिक व्यायाम गर्नुपर्छ।चिकित्सकको सल्लाह बिना परिवार नियोजनको साधन जथाभावी प्रयोग गर्नु हुँदैन। केही समस्या देखिने बित्तिकै चिकित्सकको परामर्शमा जानुपर्छ।

 


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ