२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्यअध्ययन भन्छ, ‘३५ प्रतिशत यौनकर्मी महिलाले कण्डम प्रयोग नगरेरै शारीरिक सम्बन्ध राख्छन्’

अध्ययन भन्छ, ‘३५ प्रतिशत यौनकर्मी महिलाले कण्डम प्रयोग नगरेरै शारीरिक सम्बन्ध राख्छन्’


काठमाडौं—एक अध्ययनले नेपालमा ३५ प्रतिशत यौनकर्मी महिलाले कण्डमको प्रयोग नै नगरेर यौन सम्पर्क गर्ने गरेको देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले पोखरा उपत्यमामा रहेका यौनकर्मी महिलामा गरेको एकीकृत जैविक तथा व्यवहारिक निगरानी (आईबीबीएस) अध्ययनले सो तथ्य देखाएको हो ।

सन् २०२३ मा गरिएको सो अध्ययनमा ६ सय ६४ जना  सहभागी रहेका थिए । अध्ययनमा सहभागीमध्ये ६५ प्रतिशत यौनकर्मी महिलाले यौन सम्पर्कको समयमा आफूहरुले कण्डमको प्रयोग गर्ने गरेको जवाफ दिएका छन् । जुनसुकै अवस्थामा पनि कण्डमको प्रयोग गर्नेको संख्या ४६.४ प्रतिशत रहेको छ ।

अध्ययनमा सहभागी २१.७ प्रतिशत महिलाले कुनै नै कुनै बेला गर्भपतन गराएको, ५३.५ प्रतिशतले परिवार नियोजनका लागि कण्डम प्रयोग गरेको, अधिकांश यौनकर्मी महिलाहरुले २० वर्षअघि नै पहिलो पटक यौन सम्पर्कमा गरेको र उनीहरुको औसतमा पहिलो पटक यौन सम्पर्क गर्ने उमेर १६.८९ वर्ष देखिएको छ ।

अध्ययनमा सहभागीहरुमध्ये १.१ प्रतिशतमा एचआईभी र हेपाटाइटिस बी पाइएको थियो । १.६ प्रतिशतमा हेपाटाइटिस सी र १४.८ प्रतिशतमा सिफिलिस संक्रमण रहेको अध्ययनले देखाएको छ ।

यौनकर्मी महिलाहरुमध्ये ४४.३ प्रतिशतको मुख्य ग्राहक दोहोरी तथा डान्स बारका ग्राहकहरु रहेको छन् भने ४४.८ प्रतिशतको प्रत्येक दिन एक जना ग्राहक रहने गरेको देखिएको छ । त्यसैगरी, ७०.३ प्रतिशतको हप्तामा १ देखि ५ जनासम्म ग्राहक रहने गरेको पाइएको छ ।

सहभागीहरुमध्ये १०.४ प्रतिशतले लागु पदार्थ सेवन गर्ने गरेको र तीमध्ये ३ प्रतिशतले लागु पदार्थ प्राप्त गर्नका लागि आफूहरुले यौन सम्पर्क गर्ने गरेको बताएका छन् ।

यौनकर्मी महिलाहरुमध्ये ५४.९ प्रतिशतले कहिल्यै पनि आफूले एचआईभी परीक्षण नगराएका बताएका छन् । त्यसैगरी, २१ प्रतिशत यौनकर्मी महिलाहरुले भावनात्मक हिंसा व्यहोर्नु परेको पनि अध्ययनका क्रममा पाइएको छ ।

यौनकर्मी महिलाहरुको औसत उमेर ३० वर्ष रहेको अध्ययनले देखाएको छ । जसमध्ये ३५.७ प्रतिशतले माध्यमिक तहको अध्ययन गरेको, ७७.७ प्रतिशत कुनै न कुनै बेला विवाहित भएको देखिएको छ ।

यौनकर्मी महिलाहरुको औसत यौन व्यवसायमा संलग्न हुने समय २ वर्ष ७ महिना रहेको र पहिलो पटक यौन व्यवसायमा संलग्न हुँदाको ग्राहक भेटिएको स्थान प्रायः दोहोरी साँझ, डान्स बार रहेको देखिएको छ ।

५५.९ प्रतिशत यौनकर्मी महिलाहरुले आफ्नो स्वास्थ्य परीक्षणका लागि निजी स्वास्थ्य संस्थामा जाने गरेको बताएका छन् । सो अध्ययनमा संलग्न एक २८ वर्षीया महिलाले आफ्नो श्रीमानले आफू र बच्चाको हेरचाह नगर्ने भएको हुँदा आफू बाँच्न र बच्चालाई पढाउनका लागि यो पेशा रोज्न बाध्य भएको बताएकी छिन् । त्यसैगरी, अर्की ३९ वर्षीया महिलाले यसबाट हुने आम्दानीबाट आफू सन्तुष्ट नभएको तर बच्चालाई स्कुल पठाउन र दैनिक गुजाराका लागि यो पेशामा आउनु परेको जवाफ दिएकी छन् ।

त्यसैगरी, ३३ वर्षीया अर्की महिलाले हातमुख जोर्नका लागि यो पेशामा संलग्न भएको र यसलाई व्यवसायमा रुपमा लिनुपर्ने बताएकी छन् । उनले यो पेशालाई आफूसँग भएको हतियारलाई प्रयोग गरेको रुपमा अथ्र्याएकी छन् ।

२० वर्षीया अर्की एक युवतीले भन्छिन्, ‘म यस्तो खालको शारीरिक सम्बन्ध कसैसँग राख्दा पनि आनन्द महसुस गर्दिनँ । त्यो मेरो जीवनसाथी नै किन नहोस् । जब म ग्राहकसँग हुन्छु, मलाई लाग्छ मैले अपराध गरिरहेकी छु । मलाई असाध्यै ग्लानी हुन्छ जब म मेरो पार्टनरसँग ओछ्यानमा हुन्छु ।’

प्रत्येक दुई वर्षमा हुँदैं आएको आईबीबीएस सर्वे सन् २०१६ पछि कोभिड—१९ का कारण रोकिएको थियो । यसअघि राष्ट्रिय एचआईभी तथा यौन रोग नियन्त्रण केन्द्रले गर्दै आएको यो अध्ययन कोभिड—१९ पछि एनएचआरसी सहकार्यमा सन् २०२३ मा पुनः गरिएको हो ।

यो अध्ययन यौन रोगहरुको मुख्य जोखिम समूहमा रहेकामाथि गरिएको एनएचआरसीका अनुसन्धान प्रमुख डा. मेघनाथ धिमाल बताउँछन् । ‘यो अध्ययनले जोखिम क्षेत्रमा कसरी काम भइरहेको छ र त्यसलाई कम गर्नका लागि नीति क्षेत्रबाट कस्ता पहलकदमी आवश्यक छ भन्ने कुरा ठम्याउन सहज हुन्छ,’ उनी भन्छन्, ‘नेपाल सरकारको सन् २०३० सम्मको सहस्राब्दी लक्ष्य पूरा गर्नका लागि यो अध्ययनले सरकारलाई सहयोग गर्छ ।’


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ