२०८१ असोज ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १चार महिलाले खोलेकोे अस्पताल संचालनमा, तीन दिन निःशुल्क उपचार

चार महिलाले खोलेकोे अस्पताल संचालनमा, तीन दिन निःशुल्क उपचार


विराटनगर—विराटनगरमा प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गर्ने अस्पताल सञ्चालनमा आएको छ । आइतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एक समारोहबीच वेलनेस हस्पिटलको औपचारिक उद्घाटन गरेका हुन् ।

विराटनगरका ४ जना महिला उद्यमीहरुले साढे सात करोड रुपैयाँ लगानी गरेर ‘ओम वेलनेस हस्पिटल’ सञ्चालनमा ल्याएका हुन् । विराटनगर २ मा सञ्चालित अस्पतालले वैकल्पिक चिकित्सा विज्ञानमा आधारित भएर उपचार गर्ने जनाएको छ ।

आधुनिक उपचार पद्दतिको विकल्पमा औषधि, सुई र चिरफार नगरी योग, अकुपञ्चर, फिजियोथेरापी, वाथ तथा न्युट्रिसनको माध्यमबाट बिरामीको उपचार गरिने वेलनेस अस्पताल काठमाडौंका अध्यक्ष डा. जगतबहादुर बस्नेतले जानकारी दिए । प्राकृतिक जीवनशैलीलाई प्रयोग गरी रोगीलाई निरोगी बनाउने र निरोगीलाई दीर्घजीवि बनाउनेतर्फ अस्पतालले योगदान गर्ने बताइएको छ ।

अस्पतालले शिरोधारा, योगा, मड थेरापी, जाकुजी, स्टिम बाथ, साउनाबाथ, अकुप्रेसर, अकुपञ्चर, फिजियोथेरापी, मायो तथाम्यानिपुलेसन थेरापी, इलेक्ट्रोथेरापी, न्यूरो पुनस्थापना, मसाज थेरापी, डिलक्स हाइड्रो थेरापीजस्ता सेवाहरु प्रदान गर्नेछ । अस्पतालको औपचारिक उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री शेरधन राईले संसारभरि प्राकृतिक उपचार पद्धती प्रभावकारी बन्दै गएको अवस्थामा विराटनगरमा पनि सेवा सुरु भएकोमा आफू उत्साहित भएको बताए ।

गर्धनमा देखिएको समस्या समाधानका लागि केही समय प्राकृतिक उपचार सेवा लिएको भन्दै अनुकूल भएमा अस्पतालबाट नियमित सेवा लिने बताए । अस्पतालबाट प्रदेश १, छिमेकी प्रदेश र छिमेकी देशका नागरिकहरुले समेत सेवा लिनसक्ने अवसर सिर्जना भएको बताए ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले आयुर्वेद र प्राकृतिक चिकित्सा नेपालमा मूल उपचार पद्धति हुनुपर्नेमा समयानुकूल विकास नहुँदापछि परेको बताए । उनले आमाहरुले जडिबुटी थैलीमा राखेर विभिन्न रोगहरुको घरेलु विधिबाट उपचार गर्ने ज्ञान हराउँदै गएकोप्रति चिन्ता जनाउँदै प्राकृतिक उपचार पद्धतिलाई संरक्षण गर्नुपर्नेमा जोड दिए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगरमा फरक तर आवश्यक प्रकृतिको सेवा प्रदान गर्ने अस्पताल सञ्चालनमा आएको भन्दै खुसी व्यक्त गरे । कार्यक्रममा प्रतिनिधिसभा सदस्य अमनलाल मोदी, डा.जगतबहादुर बस्नेत, अस्पतालका अध्यक्ष शिवा उपाध्यायलगायतले बोलेका थिए ।

विराटनगर–२ सौगात मार्ग बरगाछीमा स्थापना भएको अस्पतालमा तत्काल प्रकृति सिंह केसीले प्राकृतिक चिकित्सा सेवा प्रदान गर्ने भने डा. मोहमद जावेदले फिजियोथेरापी सेवा दिनेछ । सोमबारदेखि तीन दिनसम्म अस्पतालले निःशुल्क उपचार सेवा प्रदान गर्न शिविर सञ्चालन गर्ने घोषणा पनि गरेको छ । यो हस्पिटलको अध्यक्ष शिवा उपाध्याय (अञ्जु) रहेकी छिन् । संचालकहरूमा नमिता न्यौपाने, राधा ढकाल (अधिकारी) र बिना कार्की रहेकी छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ