२०८२ वैशाख १५, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश सरकारले स्ट्रोकको उपचारमा उच्च प्राथमिकतामा राखेको छ : स्वास्थ्यमन्त्री

प्रदेश सरकारले स्ट्रोकको उपचारमा उच्च प्राथमिकतामा राखेको छ : स्वास्थ्यमन्त्री


विराटनगर-कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपेन्द्र राईले प्रदेश सरकारले स्ट्रोकको उपचारमा उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्। शुक्रबार नेपाल स्ट्रोक एसोसिएशनले इटहरीस्थित होटल सोल्टीमा आयोजना गरेको ‘स्ट्रोक मास्टरक्लास’ कार्यक्रममा प्रमुख अतिथिका रूपमा मन्तव्य दिंदै मन्त्री राईले प्रदेश सरकार नीति निर्माण र बजेटको तयारीमा जुटिसकेको जानकारी दिए।

उनले पछिल्लो समय स्ट्रोक तथा पक्षघातका बिरामीहरू निकै बढिरहेको अवस्थामा रहेको भन्दै गम्भीर ढंगले ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। “स्ट्रोकका बिरामी घटेका होइनन्, बढेका छन्,” मन्त्री राईले भने, “समस्या यहीँ छ कि जनप्रतिनिधि र विज्ञहरूबीच समन्वयको अभाव छ। तर प्रदेश सरकारले समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने योजना बनाएको छ।”

उनले आगामी वर्षका लागि बन्ने नीति तथा कार्यक्रमहरूमा स्वास्थ्य क्षेत्रप्रति विशेष जोड दिइने स्पष्ट पारे। मन्त्री राईका अनुसार सरकार हातेमालो गर्दै स्वास्थ्य प्रणालीलाई बलियो बनाउने दिशामा कार्यरत छ। “यदि समयमै नीति निर्माण र कार्यान्वयन गर्न सकिएन भने हाम्रो सपना अधुरै रहनेछ,” उनले थपे।

स्वास्थ्य क्षेत्रमा देखिएका चुनौती समाधान गर्नका लागि विज्ञ टोलीसँग निरन्तर संवाद र सहकार्य गर्ने प्रतिबद्धता पनि मन्त्री राईले जनाए। उनले जनताको स्वास्थ्य सुनिश्चित गर्न प्रदेश सरकारले आवश्यक कानुनी र संरचनात्मक सुधारमा पनि काम गरिरहेको उल्लेख गरे।

कार्यक्रममा नेपाल स्ट्रोक एसोसिएशनका संस्थापक अध्यक्ष तथा नेसनल न्युरो सेन्टरका वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजङ थापाले गुणस्तरीय स्वास्थ्य उपचारका लागि सामाजिक जिम्मेवारी महसुस गर्दै काम गर्नुपर्नेमा जोड दिए। उनले स्ट्रोकको उपचारप्रति देखिएको बेवास्ता हटाउन चिकित्सकहरू थप जिम्मेवार बन्नुपर्ने धारणा राखे।

सो अवसरमा बीपी कोइराला विज्ञान प्रतिष्ठान धरानका प्राध्यापक डा. संजय कुमार शर्मा लगायत देशभरका वरिष्ठ न्युरोलोजिस्टहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपाल स्ट्रोक एसोसिएशनले आयोजना गरेको मास्टरक्लासमा पक्षघात (स्ट्रोक) सम्बन्धी नयाँ अध्ययन, उपचार विधि र जनचेतनामूलक प्रयासहरूबारे चर्चा गरिएको थियो


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ