२०८२ वैशाख १३, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १इटहरीमा नेपाल स्ट्रोक एशोसिएसनद्वारा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न

इटहरीमा नेपाल स्ट्रोक एशोसिएसनद्वारा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न


काठमाडौं । सुनसरीको इटहरीमा स्ट्रोक मास्टर क्लास सम्पन्न भएको छ । शुक्रबार नेपाल स्ट्रोक एशोसिएसन र नेपाल स्ट्रोक प्रोजेक्टको संयुक्त आयोजनामा उक्त क्लास सम्पन्न भएको हो ।

स्ट्रोकको उपचारको अत्याधुनिक प्रविधि, तरिका, उपचार पद्धतिका बारेमा डाक्टर, नर्स, फिजियोथेरापिस्ट लगायतका स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले स्ट्रोक मास्टर क्लासको रहेको एशोसिएसनका संस्थापक अध्यक्ष एवम् नेशनल न्यूरो सेन्टरका वरिष्ठ न्यूरोलोजिष्ट डा. लेखजंग थापाले जानकारी दिए । ‘एनएसए र एनएसपी ले देशभरका स्वास्थ्यकर्मीहरुलाई स्ट्रोक उपचारमा सहजिकरण गर्ने उद्धेश्यले हामीले स्ट्रोक मास्टर क्लासलाई निरन्तरता दिइरहेका छौँ ।’

इटहरीमा भएको यो नवौँ मास्टर क्लास भएको डा. थापाले जानकारी दिए । यसअघि नेपालगञ्ज, बुटवल, वीरगञ्जमा स्ट्रोकको मास्टर क्लास भइसकेको उनको भनाई छ । ‘आगामी दिनमा पोखरा, सुर्खेत, धनगढी र भरतपुरमा पनि यो कार्यक्रम गर्ने योजना रहेको छ,’ उनले भने, ‘यो क्लासबाट झण्डै तीन हजार भन्दा बढी स्वास्थ्यकर्मीहरु लाभान्वित भइसक्नुभएको छ ।’

उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा कोशी प्रदेशका स्वास्थ्य मन्त्री भूपेन्द्र राईको प्रमुख आतिथ्यता रहेको थियो । मन्त्री राईले प्रदेश सरकारले स्ट्रोकको उपचारमा उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले पछिल्लो समय स्ट्रोक तथा पक्षघातका बिरामीहरू निकै बढिरहेको अवस्थामा गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । ‘स्ट्रोकका बिरामी बढिरहेका छन्,’ मन्त्री राईले भने, ‘ जनप्रतिनिधि र विज्ञहरूबीच समन्वयको अभाव छ ।’

उनले आगामी वर्षका लागि बन्ने नीति तथा कार्यक्रमहरूमा स्वास्थ्य क्षेत्रप्रति विशेष जोड दिइनेसमेत स्पष्ट पारे । सो अवसरमा वीपी कोइराला विज्ञान प्रतिष्ठान धरानका निमित्त उपकुलपति एवम् कार्यक्रमका विशेष अतिथि प्राध्यापक डा. संजिवकुमार शर्माले नेपालका दूरदराजका नागरिकलाई स्ट्रोकबारे सचेतना फैलाउन आवश्यक रहेको बताए ।

क्लासमा नौ वटा प्रस्तुति रहेको थियो । जसअन्तर्गत काठमाडौं महाराजगञ्जस्थित नेशनल न्यूरो सेन्टरकी प्रमुख कार्यकारी अधिकृत नूमा शर्माले नेशनल न्यूरो सेन्टर र नेपाल स्ट्रोक प्रोजेक्टको बारेमा प्रस्तुति दिएकी थिइन् । त्यस्तै, इपिलेप्सी फाउण्डेशनका अध्यक्ष एवम् सेन्टरका न्यूरोलोजिष्ट डा. सुमन भट्टराईले ‘एनआइएचएसएस’ बारे प्रस्तुति दिएका थिए ।

त्यसैगरी, नोबेल मेडिकल कलेज विराटनगरका प्रोफेसर अफ न्यूरोलोजी डा. डिल्लीराम काफ्को ‘हाइपर एक्युट स्ट्रोक केयर एण्ड स्ट्रोक पाथवे’ बारे प्रस्तुति रहेको थियो । त्यस्तै, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एसोसिएट प्रोफेसर एवम् न्यूरो इन्टरभेन्सनिष्ट डा. निशान्त मिश्राले ‘अप्रोच टु सीटी इमेजिङ एण्ड इन्टरप्रेटेसन’ बारे प्रस्तुति दिएको थिए । काठमाडौं युनिभर्सिटीका एसोसिएट प्रोफेसर अफ फिजियोथेरापिष्ट डा. गोविन्दमणी नेपालको ‘पोष्ट स्ट्रोक केयर एण्ड रिहाब्लीटेसन’ सम्बन्धि प्रस्तुति रहेको थियो । यसैगरी, विराट मेडिकल कलेजका वरिष्ठ न्यूरोसर्जन डा. सुमन मुनाकोमीले पनि प्रस्तुति दिएका थिए ।

आर्या हस्पिटल अफ न्यूरोसर्जिकल एण्ड एलाइड साइन्सेसका म्यानेजिक डिरेक्टर एवम् कन्सल्टेन्ट न्यूरोसर्जन डा. पंकजराज नेपालले ‘डीसीएच’ सम्बन्धि प्रस्तुति दिएका थिए । जर्मनीस्थित युनिभर्सिटी अफ हेडलवर्गका न्यूरोलोजी एण्ड पोलिक्लिनिक स्पेसलिष्ट डा. निमा हाजी बेग्लीले ‘प्रिभेन्सन अफ स्ट्रोक’ बारे प्रस्तुति दिएका थिए । विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका कन्सल्टेन्ट फिजिसियन डा. नविनकुमार साहले ‘पोष्ट एक्यूट केयर अफ स्ट्रोक’ बारेको प्रस्तुति दिएका थिए ।

यसैगरी, कार्यक्रमका अध्यक्षसमेत रहेका डा. थापाले ‘फोर स्टेप्स टु ट्रिटमेन्ट डिसिजन’ बारे प्रस्तुति दिएका थिए । क्लासको अफिसियल पार्टरनको रुपमा नेशनल न्यूरो सेन्टर महाराजगञ्ज काठमाडौं, बोरिङ्गर इङ्गलहायम (बीआई), न्यूरो एण्ड एलाइड क्लिनिक भैरहवा रहेका थिए । त्यस्तै, कार्यक्रमलाई आर्या हस्पिटल अफ न्यूरोसर्जिकल एण्ड एलाइड साइन्सेस, क्यूबीडी फार्मा र लापेन फार्माले प्रत्यक्ष सहयोग गरेका थिए ।

क्लासमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, आर्या हस्पिटल अफ न्यूरोसर्जिकल एण्ड एलाइड साइन्सेस, बिराट मेडिकल कलेज, जिल्ला अस्पताल धनकुटा, मदनभण्डारी अस्पताल उर्लाबारी, चितवन मेडिकल कलेज, कानेपोखरी अस्पताल बयरबन लगायतका अस्पतालहरुबाट डाक्टर, नर्स, फिजियोथेरापिष्टहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसिन विभागीय प्रमुख डा. रविन मास्के, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका साइक्याट्रिक्स विभागीय प्रमुख डा. धनरत्क शाक्य, प्रतिष्ठानकै वरिष्ठ न्यूरोलोजिष्ट डा. भूपेन्द्र शाह, सिनियर कन्सल्टेन्ट फिजिसियन डा. शैद वकार अमम्मद लगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ