२०८२ वैशाख १२, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते

बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते


विराटनगर—मोरङको कटहरी गाउँपालिका–१ चौधरी चोकका ४५ वर्षीय प्रमोद महतोको मृत्यु भएपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा तोडफोड र हुलदंगा भएको छ। शुक्रबार बिहान भएको घटनामा एक प्रहरी इन्स्पेक्टर घाइते भएका छन्।

महतोले झार मार्न प्रयोग गरिने विषादी सेवन गरेका थिए। गम्भीर अवस्थामा रहेका उनलाई बिहीबार साँझ ५ः३० बजे कोशी अस्पतालमा भर्ना गरिएको थियो। कोशीमा उपचार सम्भव नभएपछि उनलाई नोबेल अस्पताल रेफर गरिएको थियो। विषादी सेवन गरेका उनको उपचारको क्रममा राति ११ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

महतोको मृत्युपछि शुक्रबार बिहान करिब १ः३० बजे करिब ४०–५० जना आफन्त र छिमेकीहरु अस्पतालमा भेला भई हुलदंगा सुरु गरेका थिए। उनीहरूले चिकित्सकको लापरवाहीका कारण महतोको मृत्यु भएको आरोप लगाउँदै आकस्मिक कक्ष अगाडि नाराबाजी गर्दै तोडफोड गरेका थिए।

उत्तेजित भिडले ढुंगामुढा गर्दा ओपीडी प्रवेशद्वारको माथिल्लो भागको सिसा फुटेको थियो भने अस्पतालको निर्माणाधीन भवनका ५–६ वटा झ्याँलका सिसा समेत क्षतिग्रस्त भएका छन्। ढुंगामुढाबाट वडा प्रहरी कार्यालय विराटनगरका इन्स्पेक्टर राजेशदत्त घाइते भएका छन्। उनको दाहिने खुट्टाको घुँडामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनको उपचार नोबेल अस्पतालमै गरिएको छ।

स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट डीएसपी मदन केसी र डीएसपी वुद्ध श्रेष्ठको नेतृत्वमा प्रहरी टोली परिचालित गरिएको थियो। प्रहरीले सामान्य बल प्रयोग गरी भिडलाई तितरवितर पारेको थियो।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। उनीहरूको नाम सार्वजनिक गरिएको छैन भने अन्य संलग्न व्यक्तिहरुको खोजी कार्य तीव्र पारिएको छ। घटना सम्बन्धी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ