विराटनगर—नेपालभरका शिक्षण अस्पतालहरूमा कार्यरत आवासीय चिकित्सकहरू आफ्ना न्यायोचित मागहरूलाई लिएर शान्तिपूर्ण आन्दोलनमा रहेका बेला नेपाल चिकित्सक संघ (एनएमए) कोशी शाखाले पूर्ण समर्थन र ऐक्यबद्धता प्रकट गरेको छ। सोमबार संघले एक विज्ञप्ति जारी गर्दै आवासीय चिकित्सकहरूले शिक्षा हासिल गर्दैगर्दा दिने सेवालाई साधारण वा गौण मान्न नहुने स्पष्ट पारेको छ।
बिरामीको उपचारमा रातदिन खटिने यिनै चिकित्सकहरूको योगदान अमूल्य रहेको जनाउँदै संघले सरकारद्वारा ८औं तहका सरकारी चिकित्सक सरहको निर्वाह भत्ता उपलब्ध गराउने निर्णयको स्वागत गरेको छ। तर, सो निर्णय अझै पनि अधिकांश शिक्षण अस्पतालहरूमा कार्यान्वयनमा नआएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
संघले विशेष रूपमा विराट मेडिकल कलेज एण्ड टिचिङ्ग अस्पताल तथा नोबेल मेडिकल कलेज एण्ड टिचिङ्ग अस्पताल प्रशासनलाई उक्त निर्णय तुरुन्त लागू गर्न आग्रह गरेको छ। ‘आवासीय चिकित्सकहरूको श्रमको उचित मूल्याङ्कन गर्दै न्यूनतम निर्वाह भत्ता सुनिश्चित गर्नु शिक्षण अस्पतालहरूको नैतिक र कानुनी दायित्व हो,’ विज्ञप्तिमा उल्लेख छ।
साथै, आवासीय चिकित्सकहरूको कार्य समय (ड्युटी आवर) स्पष्ट निर्धारण गरिनुपर्ने संघको माग छ। शारीरिक र मानसिक थकानले सेवाको गुणस्तरमा पर्ने नकारात्मक प्रभाव रोक्नका लागि संघले कार्य समयको मापदण्ड निर्धारण र कार्य वातावरण सुधारका लागि सम्बन्धित निकायहरूलाई यथाशीघ्र कदम चाल्न आग्रह गरेको छ।
संघले आन्दोलनमा संलग्न चिकित्सकमाथि कुनै प्रकारको कारवाही, दबाब वा मानसिक त्रास सिर्जना नगर्न अस्पताल प्रशासनलाई कडा चेतावनी पनि दिएको छ। समस्याको समाधान संवाद, समन्वय र समझदारीबाट खोजिनुपर्ने संघको भनाइ छ।
‘युवा चिकित्सकहरूको जायज मागलाई प्राथमिकतामा राख्न सम्पूर्ण सम्बद्ध निकायहरू गम्भीर बन्नुपर्छ,’ संघले भनेको छ, ‘यो आन्दोलन चिकित्सकहरूको हक, सम्मान र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न गरिएको हो । जसको प्रभाव दीर्घकालीन रूपमा सम्पूर्ण स्वास्थ्य प्रणालीमा देखिनेछ।’
नेपाल चिकित्सक संघ, कोशी शाखाले सधैँ चिकित्सा पेशाको गरिमा, चिकित्सकहरूको हकहित र स्वास्थ्य सेवा क्षेत्रको सुदृढीकरणमा जिम्मेवार भूमिका निर्वाह गर्दै आएको छ।