२०८१ चैत्र २०, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति

उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति

पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पतालमा आईभीएफ सेवा सुरु


विराटनगर—विराटनगरस्थित कोशी अस्पतालमा बाँझोपन तथा निःसन्तानपनको उपचार सुरू भएको छ । सोमबारदेखि अस्पतालले ‘इनफर्टिलिटी’ क्लिनिक सञ्चालनमा आएसँगै पूर्वी नेपालमै सस्तो शुल्कमा सरकारी अस्पतालमा अब निःसन्तानपनको उपचार हुने भएको हो ।

कोशी अस्पतालको प्रसूति विभागको ओपीडीमा ७० देखि ८० जना बिरामी आएकोमध्ये १० देखि १५ जना दम्पत्ति निःसन्तानको समस्या लिएर आउने गरेको अस्पतालकी स्त्री तथा प्रसूति रोग विभागकी प्रमुख डा. अन्जु देवले जानकारी दिइन् । इनफर्टिलिटी क्लिनिक संचालन आएपछि निःसन्तान दम्पत्तिको उपचारमा सहज हुने उनले बताइन् ।

‘उपचार केन्द्र सुरु भएपछि त्यहीअनुसारको पूर्वाधार, उपकरणहरु आएको छ,’ उनले भनिन्, ‘निःसन्तान क्लिनिक सञ्चालनको लागि प्रसूति रोग विशेषज्ञ दुई जनाले चिकित्सकले क्षमता अभिमुखीकरण तालिम पनि लिएर आएका छन् ।’

बाँझोपनकै समस्याले धेरै दम्पत्ति विशेषगरी महिलाले अपेहिलत भएर मानसिक तनावमा जीवन बाँचिरहेको र धेरैलाई घर निकाला गर्ने, डिभोर्ससम्म भएका घटनाहरू पाइएको नमीठो अनुभव उनले सुनाइन् । ‘कोशी अस्पतालमा यो सेवा सुरु भएसँगै धेरै बिरामीले राहत पाउनेछन्,’ उनले थपिन् ।

अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मधुमिता राभाले ‘इनफर्टिलिटी ट्रेनिङ’ पनि लिएर आएकी छन् । दुई वर्षअघि यो ट्रेनिङ डा. अन्जुले पनि लिइसकेकी छन् । उनको योजना र अस्पतालकी मेसु डा. रुणा झाको पहलमा निःसन्तान दम्पत्तिको लागि छुट्टै ठाउँमा सेवा सुरु भएको हो ।

विश्वमा हरेक ६ मध्ये एक जनामा निःसन्तानपनको समस्या रहेको विश्व स्वास्थ्य संगठनको अभिलेखले देखाउने गरेको छ । चिकित्सकहरूका अनुसार नेपालमा विवाहित दम्पत्तिको १५ प्रतिशतमा बाँझोपनको समस्या छ । नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण, २०२२ का अनुसार हाल नेपालमा विवाहित महिलाको औसत प्रजननदर २.१ छ । सन् २०१६ को सर्वेक्षणमा भने यो दर २.३ रहेको थियो ।

डा. अन्जु र डा. मधुमिता

विवाहित दम्पत्तिका लागि बाँझोपन वा निःसन्तान मुख्य समस्याको रुपमा रहेको छ । यो सेवा विस्तार भएमा बाँझोपन पहिचान, रोकथाम र उपचार सेवा लक्षित समूहसम्म सहज रुपमा प्रदान गर्न सहयोग पुग्नेछ । नीति तथा कार्यक्रममा पनि समेटिएको यो कार्यक्रममा प्रजनन स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्ने विश्वास लिइएको छ ।

हाल सरकारीस्तरमा ३ वटा मात्र अस्पतालमा ‘आईयूआई’ तथा ‘आईभीएफ’सम्मको सेवा उपलब्ध छ । त्रिवि शिक्षण अस्पताल, प्रसूति गृह र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र निःसन्तापनको उपचार हुँदै आएको छ । राजधानी बाहिर कोशी प्रदेशमा पहिलो पटक सेवा सुरु भएको बताइएको छ ।

आईभीएफ सेवा खर्चिलो तथा विशेषज्ञता चाहिने उपचार सेवा हो । आईभीएफ सेवा सरकारी अस्पतालमा दुई लाख रुपैयाँ हुन्छ भने आईयूआई सेवाका लागि ६ हजार रुपैयाँ लाग्ने गरेको छ । निजीमा यो दुवै सेवाको शुल्क दोब्बरभन्दा बढी छ । सक्नेले महँगोमा उपचार लिइरहेका छन् भने पहुँचमा आउन नसकेकाले यत्तिकै जीवन बिताउन बाध्य छन् । परामर्श तथा औषधिले पनि धेरै जनाले अभिभावक बन्ने सौभाग्य पाउन सक्ने चिकित्सकहरूको भनाइ छ । प्राथमिक उपचारमै परामर्श तथा स्क्रिनिङको पाटो कमजोर भएकाले धेरै जना निःसन्तानको समस्याबाट पीडित त छन् नै ‘आईभीएफ’ जस्तो महँगो सेवा लिन बाध्य देखिन्छन् ।

प्राथमिक उपचारपछि पनि सफल नभए ‘आईयूआई’ (इन्ट्रा युटेरिन इन्सिमिनेसन) र अन्तमा आईभीएफ (इनभिट्रो फर्टिलाइजेसन) प्रविधिमा जानुपर्ने चिकित्सकहरु बताउँछन् । आईभीएफमा पुरुषको शुक्रकिट र महिलाको डिम्बलाई कृत्रिम तरिकाले निकालेर प्रयोगशालामा भ्रुण विकास गराएपछि पाठेघरमा प्रत्यारोपण गरिन्छ । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. अन्जु देवका अनुसार आईयूआई भनेको पुरुषको वीर्य छानेर सफा गरेर सक्रिय वीर्य महिलाको योनीबाट पाठेघरमा हालिने विधि हो ।

‘कुनै पनि दम्पत्तिले एक वर्षसम्म परिवार नियोजनको साधन प्रयोग नगरिकन सँगै बस्दा पनि बच्चा भएन भने त्यसपछि बाँझोपनको अवस्था हो कि भनेर जाँच पड्ताल गर्नुपर्छ,’ उनले भनिन्, ‘शुक्रकिटको संख्यामा कमी आउनु, शुक्रकिट नष्ट हुनु आदि कारणले पुरुषमा बाँझोपनको समस्या आउन सक्छ । साथै, हर्मोनको गडबडी, अव्यवस्थित जीवनशैली, धुम्रपान तथा मद्यपान, प्रदूषण पनि यसका कारक हुन् ।’

डा. देवले विभिन्न कारणहरू पत्ता लगाएर पुरुषको वीर्य, महिलाको पाठेघर, नलीलगायत जाँच गरिने र सम्भव भएसम्म परामर्श दिई प्राकृतिक रुपमा नै गर्भ बसाउने सल्लाह दिने र नभएमा आईयूआई र आईभीएफमा जानुपर्ने बताउँछिन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ