विराटनगर—कोशी अस्पतालले थालसेमिया रोगको उपचार पनि सुरु गरेको छ । सोमबारबाट अस्पतालले पाँच शैय्या छुट्याएर थालसेमियाको उपचार सेवा सुरु गरेको अस्पतालका बालरोग विशेषज्ञ डा. रामनारायण चौधरीले जानकारी दिए ।
थालसेमिया आणुवंशिक अर्थात् वंशाणुगत रुपमा एउटा पिँढीबाट अर्को पिँढीमा सर्ने रोग भएको उनले बताए । माता वा पिता वा दुवैकोमा हुने रगत र जीनका गडबडीका कारण यो रोग लाग्ने गर्छ ।
‘सामान्यतयाः रगत दुई किसिमका प्रोटिनबाट निर्माण हुने गर्छ अल्फा र विटा ग्लोविन । यीमध्ये कुनै एक प्रोटिन निर्माण गर्ने जीनको गडबडीले थालेसिमिया हुने गर्छ,’ उनले भने, ‘यो रोगका कारण शरीरमा हेमोग्लोविन (रातो रक्तकोषिका) निर्माण हुन गाह्रो पर्छ । निर्माण भएको कोषिका पनि लामो समय रहँदैन् । जसले गर्दा बिरामीलाई बारम्बार रगत चढाउनुपर्ने अवस्था आउँछ ।’
थालसेमिया खासगरी बालबालिकालाई लाग्ने गर्छ । यो रोग लागेपछि बारम्बार रगत नचढाए बालबालिकाको ज्यानै समेत जान सक्छ । कुनै–कुनै बिरामीलाई प्रत्येक १० देखि १५ दिनमा रगत दिनुपर्ने हुन्छ । यो उपचार महंगो भएकाले धेरैले यसलाई निरन्तरता दिन सक्दैनन् । यद्यपि, नेपालमा यो रोगको उपचारका लागि सरकारले विपन्न वर्गलाई लक्षित गरी एक लाख रुपैयाँसम्मको निःशुल्क उपचारको व्यवस्था गर्दै आएको छ ।