विराटनगर—स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा निःसन्तान दम्पत्तिहरूका लागि उपचार केन्द्र सञ्चालन हुने बताएका छन् । सोमबार कोशी अस्पतालमा निःसन्तान क्लिनिक र थालसेमिया सेवाको उद्घाटन गर्दै उनले सातै प्रदेशमा निःसन्तान उपचार केन्द्र सुरु हुने बताएका हुन् ।
मन्त्री पौडेलले कोशी प्रदेशबाट सुरुवात गरिएको यो सेवा अन्य प्रदेशहरूमा पनि विस्तार गरिने बताए । उनले बाँझोपनको उपचार अत्यन्त महँगो भएकाले सरकारले सरकारी अस्पतालहरूमा यो सेवा सुरु गरेको उनको भनाइ थियो । ‘सातै प्रदेशका एक–एक अस्पतालमा निःसन्तान दम्पत्तिको उपचारको लागि यो सेवा सुरु गरिएको छ र यसको शुभारम्भ कोशी अस्पतालबाट भएको छ,’ मन्त्री पौडेलले भने ।
स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउने योजनाअन्तर्गत मन्त्री पौडेलले प्राथमिक उपचार केन्द्रहरूको विकास गर्नुपर्ने आवश्यकतामा जोड दिए । उनले रेफरल प्रणालीलाई व्यवस्थित गरेर कोशी अस्पताललाई विशिष्टीकृत सेवा प्रदान गर्ने केन्द्रको रूपमा विकास गर्नुपर्ने बताए । ‘प्राथमिक केन्द्रले रेफर गरेर मात्रै बिरामीहरू कोशी अस्पताल आउने खालको प्रणालीको विकास गर्नुपर्छ,’ उनले भने ।
स्वास्थ्य क्षेत्रमा जनशक्ति अभावको समस्या समाधान गर्न सरकारले आगामी एक वर्षमा दुई हजार पाँच सय स्वास्थ्यकर्मी थप गर्ने र पाँच वर्षभित्र १२ हजार स्वास्थ्यकर्मी थप गर्ने योजना रहेको मन्त्री पौडेलले जानकारी दिए । उनले यी योजनाहरूको लागि सैद्धान्तिक स्वीकृती प्राप्त भइसकेको र प्रक्रिया अगाडि बढिरहेको बताए ।
अहिले लोक सेवा आयोगले पाँच सय डाक्टर र सात सय नर्सका लागि विज्ञापन गर्ने तयारी गरिरहेको पनि मन्त्री पौडेलले उल्लेख गरे । उनले दरबन्दी भएको ठाउँमा चिकित्सकहरू नजाने समस्या समाधान गर्न लोकसेवा आयोगले विज्ञापन आह्वान गर्दा अस्पतालको नाम तोकेरै दरखास्त खोल्नुपर्ने आवश्यकता रहेको बताए । ‘गजेन्द्रनारायण अस्पतालमा अहिले मेडिकल सुपरिटेन्डेन्ट बाहेक कुनै पनि चिकित्सक दरबन्दी अनुसारको छैन,’ उनले भने ।
मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई थप परिमार्जन गरेर अगाडि बढाउनुपर्ने र यसमा सबै नागरिकलाई समेट्नुपर्नेमा जोड दिए । उनले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।