२०८१ फागुन १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरको संजीवनी हस्पिटलमा सञ्चालकबीच लफडा

विराटनगरको संजीवनी हस्पिटलमा सञ्चालकबीच लफडा

हस्पिटल तोडफोड, सुरक्षा गार्डमाथि निर्घात कुटपिट


विराटनगर—विराटनगर हस्पिटल चोकमा रहेको संजीवनी हस्पिटलमा सञ्चालकहरुबीच लफडा हुँदा सुरक्षा गार्डमाथि निर्घात कुटपिट भएको छ । शनिबार विहान ९ बजेतिर अस्पतालका सञ्चालकहरुबीचको लफडाले सुरक्षा गार्ड सत्यनारायण यादव र विष्णु पौडेलले कुटाइ खाएका हुन् ।

अस्पतालका सञ्चालक डा. विशाल अग्रवाल, डा. सुमित घिमरे, डा. ओकार अहमत र अरविन्द राजवंशीले सुरक्षा गार्डलाई कुटपिट गरेर चौथो तलामा रहेको कार्यलयको ढोका तोडफोड गरेको अर्का सञ्चालक दिवाकर यादवले बताए । ‘शनिबार विहान ९ बजेतिर हस्पिटलका डा. विशाल अग्रवाल, डा. सुमित घिमरे, डा. ओकार अहमत, अरविन्द राजवंशीले हात हतियारसहित हस्पिटल आएको सीसी टिभी फुटेजमा देखिन्छ । गार्डले रोक्न खोज्दा सुरक्षा गार्डलाई निर्घात कुटपिट गरे । त्यसपछि अफिस तोडफोड भयो । चौथो तलामा कार्यालय रहेको छ । अफिसको ढोका, लकर र ल्यापटप पनि लिएर गएका छन् । अफिसमा राखिएको ५ लाख रुपैयाँ हराएको छ । उनीहरुले लगेको हुनुपर्छ । हामी यस विषयमा मोरङ प्रहरीमा पनि जानकारी गराएका छौं,’ उनले भने ।

पुरानो एम्स हस्पिटलको नामले चलेको यो हस्पिटल पछिल्लो समयमा नयाँ सेयर सदस्यहरुबीचको आर्थिक विवाद उत्कर्षमा पुगेको थियो । डा. विशालसहित चार जना सञ्चालक एकातिर रहेका छन् भने दिवाकर एक्लै एकापट्टी रहेका छन् । हस्पिटलमा सबैभन्दा बढी सेयर होल्डर दिवाकर रहेका छन् । पछिल्लो समय उनले डा. विशालको समूहलाई हस्पिटल चलाउन दिएका थिए । उहाँहरुले हस्पिटल चलाउन नसकेपछि आफै हस्पिटल चलाउँदै आएको दिवाकरको भनाइ छ ।

यसअघि दिवाकरले हस्पिटल चलाउँदा आर्थिक रुपमा टाट पल्टिएपछि एक वर्ष अघि हस्पिटल बन्द भएको थियो । त्यसपछि डा. विशाल अग्रवालसहितको टिम भित्र्याएर संजीवनी हस्पिटल सञ्चालनमा आएको थियो । डा. अग्रवालसहितको टिम आएको एक वर्ष वित्न नपाउँदै अहिले यादवसँग झगडा भएको हो ।

यता हस्पिटलका डा. विशाल अग्रवालले भने आफूले कसैलाई पनि कुटपिट नगरेको दाबी गरे । ५० शैय्याको संजीवनी हस्पिटलको म्याद सकिएको र नयाँ नवीकरण गरेर मात्रै हस्पिटल सञ्चालन गर्नुपर्नेभन्दा दिवाकरसँग विवाद भएको बताए ।

‘करिब दुई महिनाअघि हस्पिटलको नवीकरणको म्याद सकिएको थियो । हामीले कानुनी प्रक्रिया पूरा गरेर मात्रै हस्पिटल चलाउ भनेका थियौं । दिवाकरजी मान्नुभएन्,’ उनले भने, ‘शनिबारदेखि सेवा नदिने र हस्पिटल बन्द गर्ने भनेका थियौं। हामी कानुनी प्रक्रिया पुरा गरेर मात्रै हस्पिटल चलाउभन्दा उहाँ गाली गलौजमा उत्रिनुभएको हो ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ