२०८१ फागुन १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १धरानका मेयरले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘ग्रीन वेल्ट’ क्षेत्रमा आँखा लगाएपछि…

धरानका मेयरले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘ग्रीन वेल्ट’ क्षेत्रमा आँखा लगाएपछि…

प्रतिष्ठानका रजिष्ट्रार भन्छन्, ‘अस्पतालका लागि खुला, सफा तथा हरित वातावरण हुन अत्यावश्यक हुन जान्छ’


काठमाडौं—धरान उपमहानरपालिकामा मेयर हर्क साङपाङले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ग्रीन वेल्ट क्षेत्रमा संरचना निर्माण गर्न खोजपछि विवाद उत्पन्न भएको छ । धरान उपमहानगरले प्रतिष्ठानको ग्रीन वेल्ट क्षेत्रमा तरकारी एवं फलफूल व्यवस्थापनका लागि संरचना निर्माण गर्न खोजेपछि विवाद सुरु भएको हो ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उक्त क्षेत्र प्रतिष्ठानको अस्पताललाई आवश्यक पर्ने खुला, हरित वातावरणमैत्री बनाउनका लागि खाली छोडेको थियो । तर, मेयर साङपाङले उक्त क्षेत्रमा तरकारी र फलफूल व्यवस्थापन गर्न संरचना बनाउन खोजेपछि मुुलुककै ठूलो स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिन्ता बढेको हो ।

१५ फागुनमा प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. सुर्यप्रसाद संग्रौलाले एक सार्वजनिक अपिल जारी गर्दै उक्त खुला, हरित वातावरणमैत्री क्षेत्र संरक्षण गर्न सबैको दायित्व भएको उल्लेख गरेका छन् । उनले ग्रीन वेल्ट क्षेत्रमा संरचना निर्माण गर्ने मेयर साङपाङले अभिव्यक्तिप्रति प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

‘प्रतिष्ठानको मूल गेटबाट पूर्व तथा पश्चिम दक्षिणतर्फ बाउण्ड्री वाल निर्माण गर्दा पेरिफेरल रोड, ड्रेन तथा ग्रीन वेल्टको क्षेत्रलाई छोडेर मात्र अस्पतालको बाउण्ड्री तयार गरिएको हो,’ डा. संग्रौलाको अपिलमा छ, ‘यसको काण प्रतिष्ठानको भविष्यमा हुने निर्माण, अस्पताल क्षेत्रको वरिपरी राख्नुपर्ने हरित वातावरणीय अवस्था तथा भैपरी आउने सक्ने विपत्ति, प्रकोप तथा आपत विपतको अवस्थामा रहनुपर्ने आवश्यक खुला क्षेत्रको मापदण्डलाई मध्यनगर गरी उक्त क्षेत्रमा प्रतिष्ठानले हालसम्म कुनै पनि संरचना निर्माण नगरेको समेत सम्बन्धित सबैलाई जारी गराइन्छ ।’

अहिले प्रतिष्ठानको ४०० शैय्याको मातृशिशु स्याहार केन्द्र भवन निर्माण कार्य अगाडि बढिरहेको छ । ‘आमा तथा बच्चाको जन्मसँग सम्बन्धित संवेदनशील उपचार सेवा सुचारु हुँदा उक्त क्षेत्र वरपर खुला, सफा तथा हरित वातावरण हुन अत्यावश्यक हुन जान्छ,’ रजिष्ट्रार संग्रौलाले भनेका छन् ।

यसका अलाला प्रतिष्ठानले नेपाल सरकारको पूर्ण अनुदान बजेट सहयोगमा २०० शैय्याको मुटु रोग उपचार केन्द्र, २०० शैय्याको क्यान्सर रोग उपचारका लागि भवन निर्माण गर्ने योजना समेत अगाडि बढाएको छ । ‘त्यस अवस्थामा उक्त सबै क्षेत्रमा उल्लिखित उपचार सेवा प्रदान गर्नका लागि आम जनसमुदायको आवत—जावत तथा इमर्जेन्सी उपचार सेवा व्यवस्थित गर्न बाउण्डीवाल बाहिर संरचना निर्माण हुने हो भने सो सम्भव नहुने हुनाले यस विषयमा सबैले गम्भीर भएर सोच्नुपर्ने आवयश्कता रहेको छ,’ प्रतिष्ठानले भनेको छ ।

उसले प्रतिष्ठान धरानकै सम्पत्ति भएकाले यसको संरक्षण गर्ने प्रथम दायित्व पनि धरान उपमहानगरपालिकै रहेको उल्लेख गरेको छ । साथै, यो सबै कुरा वार्ता र सहमतिबाट टुंगो लगाउन पनि प्रतिष्ठानले आग्रह गरेको छ ।

विपीका रजिष्ट्रार डा. संग्रौलाको अपिल


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ