विराटनगर—बिरामीको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्दै च्याउ सरी खुलेको विराटनगरको पोलिक्लिनिकहरुले तोकिएको मापदण्डलाई कुल्चदैं इजाजत नपाएको उपचार सेवा दिने गरेको पाइएको छ । इजाजत नपाएका स्वास्थ्य सेवा प्रदान गर्दा बिरामीको स्वास्थ्यमा गम्भीर असर पुग्ने गरेको छ ।
विराटनगर–९ हस्पिटल चोकमा रहेको जिगरी ल्याब एण्ड पोलिक्लिनिक प्रालिले पाएको इजाजतभन्दा बाहिर गएर स्वास्थ्य उपचार सेवा दिने गरेको पाइएको हो । जिगरी ल्याब एण्ड पोलिक्लिनिकले सी ग्रेडको ल्याब र ओपीडीमा आएका बिरामीको स्वास्थ्य जाँच गर्ने स्वास्थ्य कार्यालय मोरङले अनुमति दिएको छ ।
तर, यो पोलिक्लिनिकले पाएको अनुमतिभन्दा बाहिर गएर चार वटा शैय्यासमेत राखेर मापदण्ड विपरित स्वास्थ्य उपचार गर्दै आएको पाइएको हो । ओपीडीमा आएका एक जना भारतीय बिरामीको उपचारको क्रममा मृत्यु भएपछि जिगरी ल्याब एण्ड पोलिक्लिनिकले शैय्या राखेर उपचार गरेको अनुगमनको क्रममा पाइएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख दिलिप यादवले बताए ।
नौसाद आलम र जाबेद अन्सारीले सञ्चालन गरेको उक्त पोलोक्लिनिकको इजाजत लिएको पाइएको छ । तर, अनुगमनको क्रममा चार वटा शैय्या राखेर उपचार सेवा सुरु गरेको पाइएको यादवले बताए । इजाजतभन्दा बाहिर गएर सेवा प्रदान गरेको देखिएको उनले बताए । ‘इजाजत लिएको भन्दा बढी सेवा दिएको पाइएको छ, यो गर्न पाइदैंन्,’ उनले भने, ‘ल्याब पनि सी ग्रेडको अनुमति ल्याएको छ । तर, मापदण्डअनुसारको छैन । पोलिक्लिनिकअन्तर्गतको ल्याबको सी ग्रेडको हुनुपर्ने हो । त्यो अनुसार छैन ।’
अनुमति पाएको भन्दा बाहिर गएर जिगरी ल्याब एण्ड पोलिक्लिनिकले भित्र राखेको शैय्या ।
त्यसबाहेक एक्स–रे पनि व्यवस्थित नभएको उनले बताए । ‘रेडिएसनबाट बचाउने लिड हुनुपर्ने थियो । त्यो पनि थिएन । सबै समेटर हामीले प्रतिवेदन तयार पारेका छौं,’ उनले थपे, ‘यो प्रतिवेदन अनुमति प्रदान गर्ने स्वास्थ्य कार्यालय मोरङलाई बुझाउनेछौं । आवश्यक कारवाहीको प्रक्रिया स्वास्थ्य कार्यालय मोरङले गर्नेछ,’ स्वास्थ्य माहाशाखा प्रमुख यादवले थपे ।
यता जिगरी ल्याब एण्ड पोलिक्लिनिकका सञ्चालक नौसाद आलमले अनुमति पाएभन्दा बाहिर गएर उपचार सेवा सुरु नगरेको दाबी गरे । ‘ओपीडीमा आएका बिरामीहरु कतिपय पेट दुःखेकाहरु पनि आउने गर्दछन् । उनीहरुलाई अब्जरबेसनमा राख्नको लागि शैय्या राखिएको हो । भर्ना गर्नुपर्ने बिरामीलाई हामी हस्पिटलतिर रेफर गर्दै आएका छौं,’ उनले भने ।
ल्याबको हकमा भने अहिले मर्मतको चरणमा रहेकोले मापदण्डअनुसार बनाउने तयारी गरिएको उनले बताए । स्वास्थ्य कार्यालय मोरङका प्रमुख सागर प्रसाईंले अनुगमन समितिले दिएको प्रतिवेदनको आधारमा कारवाहीको प्रक्रिया अगाडि बढाउने बताए । ‘अनुगमन समिति गठन भएको छ । सो समितिले दिएको प्रतिवेदनको आधारमा थप कारवाहीको प्रक्रिया अगाडि बढनेछ,’ प्रसाईले भने, ‘पोलिक्लिनिकले बेड राखेर उपचार गर्न पाउँदैन । यदि पाएको इजाजतभन्दा बाहिर गएर काम कारवाही गरेको पाएको खण्डमा जनस्वास्थ्य ऐनअनुसार कारवाही प्रक्रिया अगाडि बढनेछ ।’ उनकाअनुसार सो ऐनले पोलिक्लिनिकलाई जरिवानादेखि दर्ता खारेजीसम्मको अधिकार दिएको छ ।
उपप्रमुख नेतृत्वको ७ समितिले बनायो प्रतिवेदन
उपचारको क्रममा भारतीय नागरिक ६० वर्षीया सोहेब अफतरको आइतबार मृत्यु भएपछि विराटनगर महानगरपालिकाको उपप्रमुख शिल्पा निरला कार्कीको नेतृत्वमा सात सदस्य समिति गठन भएको छ । उक्त समितिमा विराटनगर—१ का वडाअध्यक्ष काजीबहादुर बस्नेत, स्वास्थ्य महाशाखा प्रमुख दिलिप यादव, रमेश कार्की, रानी अस्पतालका प्रमुख टेक्निसियन अधिकृत मानिकचन्द भगत, भुपेन्द्र साह र मिना अधिकारी रहेका छन् ।
समितिले अनुगमन गरेर सोमबार प्रतिवेदन तयार पारेको हो । समितिका सदस्य स्वास्थ्य महाशाखा प्रमुख यादवका अनुसार आइतबार मृत्यु भएका भारतीय नागरिक अफतरको ज्वरो र श्वाप्रश्वासमा समस्या भएपछि २७ पुसमा जिगरी ल्याब एण्ड पोलिक्लिनिकमा ओपीडी आएका थिए । भर्ना गरेर उपचार गर्नुपर्ने भएपछि फिजिसियन डा. कौशल अलीको सिफारिसमा ग्रीनक्रस हस्पिटलको आईसीयुमा राखेर उपचार भइरहेको बिरामीको मृत्यु भएको थियो । उपचार संलग्न चिकित्सक डा. अलीका अनुसार श्वास नलीमा खाना अड्किएका बिरामीलाई उपचार गर्दा पनि बचाउन नसकिएको हो ।
‘ओपीडीमा बिरामी आउँदा ज्वरो र श्वाप्रश्वासमा समस्या थियो । तत्काल भर्ना गरेर उपचार गर्नुपर्ने भएपछि बिरामीका आफन्तको आग्रहमा ग्रीन क्रस हस्पिटलको आईसीयुमा राखेर उपचार सुरु भएको थियो । सुरुमा भेन्टिलेसनमा राखियो । क्रमिक रुपमा सुधार हुँदै गएपछि एचडियुमा राखियो । त्यसपछि बेडमा सारियो । वार्डमा आएपछि बिरामीलाई खान खुवाए । खाना सर्कियो । श्वास नलीमा खाना अड्कियो । त्यसपछि भेन्टिलेसनमा राखियो । हामीले उपचार गर्दैगर्दा विरामीलाइ बचाउन सकिएन,’ उपचारमा संलग्न डा. अलीले भने, ‘यी सबै कुरा हामीले बिरामीका आफन्तलाई बुझाएका थियौं । अहिले किन आएर लफडा गरेको त्यो थाहा छैन ।’ यता बिरामीका आफन्तहरुले लापरवाहीले मृत्यु भएको आरोप लगाएका छन् ।