२०८१ फागुन १, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १सरकारी जग्गामा औषधि व्यवसायी जितु रजकको रजाइँ

सरकारी जग्गामा औषधि व्यवसायी जितु रजकको रजाइँ

अटेरी गरेर संरचना बनाएपछि महानगरले चलायो डोजर


विराटनगर—विराटनगर महानगरपालिका–१६ स्थित विराटनगर जुट मिल भित्रको हनुमान मन्दिर जाने सडकको सरकारी जग्गा कब्जा गरेर बनाएको व्यवसायिक संरचना हटाइएको छ । नेपाल औषधि व्यवसायी संघ मोरङका थोक उपाध्यक्ष जितेन्द्रकुमार रजक (जितु) ले सरकारी जग्गा हडपेर व्यवसायिक निजी संरचना बनाउने गरेको पाएपछि महानगरपालिकाले डोजर लगाएर भत्काएको हो ।

विराटनगर महानगरपालिकाबाट खटिएको प्राविधिक अमिनले नाप जाँच गर्दा रजककी पत्नी सितल पाण्डेको नाममा रहेको किता नं. १६१, १६३, १६४, १६६ र १८२ देखि उत्तर कुनाको १७ फिट, दक्षिण कुनामा १७ फिट, पूर्वतर्फको दक्षिण कुनादेखि उत्तर कुनासम्म ५८ फिट लम्बाई माटो मिचेर संरचना बनाएको पाइएको महानगरपालिकाको न्यायिक समितिले २६ मंसिरमा गरेको फैसलामा उल्लेख छ । न्यायिक समितिका संयोजक तथा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरला कार्की, सदस्यहरु रुपा पाण्डे देउजा र तिथेन्द्र नेउपानेको इजालशले गरेको फैसलाको प्रमाणिकरण ९ पुसमा भएको छ ।

‘कित्ता नम्बर १६१, १६३, १६६ र १८२ विपक्षी जितेन्द्रकुमार रजककी पत्नी सितल पाण्डेको नाउँमा दर्ता श्रेस्ता कायम रहेको मिसिल संलग्न कागज प्रमाणबाट देखिन आएबाट विपक्षी रजकले सार्वजनिक बाटो अतिक्रमण गरेकै देखियो । मुलुकी देवानी संहिता, २०७४ को दफा ३०४ को उपदफा (२) मा सरकारी तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व सम्बन्धित स्थानीय तहको हुनेछ भनी प्रष्ट कानूनी व्यवस्था समेत रहेको छ । उल्लेखित आधार, प्रमाण र काणबाट विपक्षीले सार्वजनिक बाटोको जग्गा अतिक्रमण गरी टहरा निर्माण गरेको देखिन आएकोले उक्त मिचेको बाटोको भूभाग हटाई सार्वजनिक बाटो खुलाई पाउने ठहर्छ,’ महानगरपालिकाको न्यायिक समितिले गरेको फैसलामा उल्लेख छ ।

रजकले सरकारी जग्गा हडपेर संरचना बनाएपछि मन्दिर जाने बाटो बन्द भएको भन्दै विराटनगर—१६ का नेपाल फुल कन्टयाक कराँते प्रशिक्षणसहित १२३ जनाले महानगपालिकामा २६ कार्तिकमा ‘सार्वजनिक बाटो अतिक्रमण गरेको’ भनेर उजुरी दिएका थिए । उजुरी परेको एक महिनापछि न्यायिक समितिले फैसला गरेको हो । फैसला गरेपछि महानगरपालिकाले नगर प्रहरी परिचालन गरेर रजकले सार्वजनिक जग्गा हडपेर बनाएको संरचना केही दिन अगाडि भत्काएको छ । महानगरपालिकाले डोजर लगाएर सरकारी जग्गामा बनाएको संरचना भत्काएको हो ।

यता रजकका परिवारले भने प्रशासनको आडमा आएर जबरजस्ती आफूहरुले किनेको जग्गामा बनाइएको संरचना भत्काएको भन्दै कानुनी प्रक्रियामा जाने बताएका छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ